Saturday, May 20, 2023

(६) आँसु

मेरो एकल निर्णयले प्रयोग गर्न मिल्ने ,
एकल स्वामित्वको सम्पत्ति हो नेत्रजल ।
चाहे हर्षविभोर हुँ, या दु:खान्वित ,
मेरो पुर्णाधिकारको खजाना हो अश्रुजल ।

देखेको छु , तपाईंलाई प्याज काट्दा ,
आँखाबाट आँसु आउँछ ।
तर मलाई , प्याज किन्दै गर्दा नै ,
छाती भित्रको देब्रे कुनामा अश्रुमुल फुट्छ ।

भन्नेले भन्नलाई भन्छन् नलागोस अर्काको आँसु ,
तर त्यही अर्काको आँसुमा गर्छन् सबै ओहोला ।
मलाई सजिलै रुन आउदैन , मेरो छैन सस्तो आँसु ,
मेरा अश्रुमोतीमा अरुको सर्वाधिकार किन होला ?

-२०८० जेष्ठ ०६, धरान ।

Friday, May 19, 2023

(५) सपना

सपन
एउटा यस्तो बैंक खोल्न सकौं ,
जसले गरीबी धरौटीमा निर्ब्याजी प्रबाह गर्न सकोस ।

एउटा यस्तो पसल खोल्न सकौं ,
जसमा फसल फलाउनेको दाममै बेसाउने कक्ष रहोस् ।

एउटा यस्तो बिद्यालय खोल्न सकौं ,
जसले मुर्ति नबनाइ , ढुङ्गामा लुकेको मुर्ति खोज्न सिकाओस ।

एउटा यस्तो धारा बनाउन सकौं ,
जसको जलप्रवाहले अतृप्त आत्महरुलाई सिन्चित गरिरहोस ।

एउटा यस्तो साथी बनाउन सकौं ,
जसले मेरा हजार गल्तीलाई शिरोधार्य गर्न नहिच्किचाओस ।

एउटा यस्तो कुलो बनाउन सकौं ,
जसमा पानी मात्र नभै पाषाण पखाल्ने जीवन बगिरहोस ।

एउटा यस्तो चौतारी बनाउन सकौं ,
जसमा संसारकै सबैभन्दा लामो बटुवाले थकान मेटाउन सकोस् ।

एउटा यस्तो गोठ बनाउन सकौं ,
जसमा चौपाया मात्रै होइन , सौपायासम्मले स्वच्छन्द आश्रय पाइरहुन ।

एउटा यस्तो मन्दिर बनाउन सकौं ,
जसको ढोका बाहिर लामबद्ध विकलाङ्गहरुको चौरासी पुजा भैरहोस ।

केहि यस्ता तस्बिर खिच्न सकौं ,
जसमा उपस्थित अनुहार भन्दा , खिच्दाको क्षण मानसपटलमा चलिरहोस ।

-२०८० जेष्ठ ०५ , धरान ।

Wednesday, May 3, 2023

(४) मलाई राम्रोसँग थाहा छ

मलाई राम्रोसँग थाहा छ,
आजको दुनियाँमा मानिस ,
कि दानव हुन्छ ,
कि देवत्वकरणको उत्कर्षमा !
कहिलेकाही गल्ती गर्ने ,
लड्दै उठ्दै ,
उठ्दै लडने ,
वास्तविक मानिस कहाँ छन ?!

त्यसैले , ...
मलाई राम्रोसँग थाहा छ,
दु:ख कसैले बाड्ने भए,
चितामा जलिरहेको लास,
किन हुन्छन् वरिपरि अरुहरु ब्यस्त
खेल्दै तास ?

मलाई राम्रोसँग थाहा छ,
मेरो ओठमा मुस्कान देख्दा
उनीहरूको आत्मामा,
आतंकवाद सवार गर्छ ।

मलाई राम्रोसँग थाहा छ,
मेरो पदोन्नति हुँदा
उनीहरुको पैतालामा
सकसकिवाद बुर्कुसी मार्छ ।

मलाई राम्रोसँग थाहा छ,
मेरो कलमले कापी कोपर्दा,
उनीहरूको कन्पारोमा,
कपोकल्पित भ्रमवादको भ्रामरी चल्छ ।

मलाई राम्रोसँग थाहा छ,
मैले नयाँ कोट लगाएं भने ,
उनीहरूको कोटेश्वरमा ,
कोणसभावादले जरो गाड्छ ।

मलाई राम्रोसँग थाहा छ,
मैले एक छाक मिठास मनाउंदा,
उनीहरुको मगजमा ,
आदिम साम्यवादी कुविचार आउँछ ।

मलाई राम्रोसँग थाहा छ ,
उनिहरुले विश्वविद्यालयमा घोक्ने ,
परंपरावाद देखि अत्याधुनिकवादसम्म,
मैले पालना गरेमा अपबाद हुन्छ ।

- २०८० बैशाख २०, धरान ।

(१) मानिस उखान-टुक्के: संवाद बकम्फुसे

(आज विद्यालयको कक्षा १०, ´´कोशी´´ सेक्सनकी एक छात्राले एउटा कथा सुनाउन अनुरोध गरिन । कहिलेकाहीँ कुनैकुनै बिषय/प्रसंग अनुरुपमा कथा सुनाउने कट...