Monday, August 21, 2023

(१०) आ-आफ्नै खातिर

गडगडाहट गडबडी गडगड गर्दै बगेको ,
सप्तकोशीको सपनामा स्पष्टता छैन ,
यात्राको बन्दोबस्ती व्यवहारिक व्यवस्थित छैन ,
तर
बहिरहन्छ सदावहार , गंगा भेट्नको खातिर !

बिहानै अर्धनिन्द्रामा बिउँझेको बिचरो मजदुर ,
हस्याङ्गफस्याङ्गमा हुरेलिएर हतारहतार गर्छ ,
नित्यकर्म सकाउने फुर्सद भएकै छैन ,
तर
हेलिन्छ कोशीतट , पेट भर्नको खातिर ।

बासंगै परात्तै बिउँझेको बबुरो बालक ,
मगज मन्थने उमेर भएकै छैन ,
स्कुलमा उसकोलागि ज्ञान बनेकै छैन ,
तर
गैरहन्छ कोशीतट , ज्ञान-तिर्खा मेट्नको खातिर !

भदौरे भेलसंगै भयावह भयभीत भएको ,
कोशीको कोसौं टाढाको कटानमा ,
आनन्दानुभुतिका आलिसान अटाली बनेकै छैनन् ,
तर
गैरहन्छन जोडी , प्रेमानुभुती मेटनको खातिर ।

-२०८० भदौ ०४, धरान ।

Saturday, August 12, 2023

(९) ऊ

ऊ ओछ्यानबाट कहिल्यै लड्दैन ,
किनकि ऊ पलङ नामधारी छ-सात फुटे काठको बाकसको सट्टा ,
सृष्टिद्वारा सृजित ,
मट्टीको तन्ना ओछ्याएर,
पाषाणको सिरानी लगाइएको,
धर्ती पदार्पण देखि चिर निन्द्रासम्म,
चाहिने ओछ्यानमा सुत्छ ।

उसलाई खानेकुराको कहिल्यै कमी हुन्न ,
किनकि उसको जिब्रोलाई ,
चौरासी व्यञ्जनको ,
स्वादिष्टतामा पौडिदा पनि पकाउने हातहरुलाई,
दोष दिनुको सट्टा ,
प्रकृतिले दिएको जल र वायु ग्रहण गरेर,
जलवायु संगसंगै खाद्यान्नभाव,
हटाउने बानी परेको छ ।

उसको घर कहिल्यै भत्किदैन ,
किनकि ऊ रड, सिमेन्ट,
इंटा मिसाएर बनाएका गगनचुम्बी, सिमेन्ट-जंगलको सट्टा ,
बर्षातका बाताले ,
बादलको खरलाई ,
उनेर छाएको छानो ,
भएको घरमा बस्छ ।

ऊ विद्यालयमा कहिल्यै अनुत्तीर्ण हुदैन ,
किनकि उसको विद्यालयमा ,
अर्काले लेखेको ,
अर्कोले अर्कै तरीकाले घोकाएको ,
र अर्कैले सेतो कागजमा ,
काला बुट्टाले कुदिएका ,
अक्षरहरुको तोकिएको ,
घण्टे परिक्षाको सट्टा ,
ठुला-ठुला घरमा बस्ने ,
साना-साना मन हुनेहरूका,
भान्साबाट निस्कने ,
बोतल र खाली बट्टा ,
आफैंले खोजेको ,
आफ्नै तरिकाले हिसाब गरेको ,
र दिनभरमा,
आफुले पाउने अंकगणित मात्र ,
परिक्षा हुन्छ ।

उसलाई भाडा तिर्ने समस्यै हुन्न ,
किनकि ऊ कालो बाटोमा कालै चक्काले ,
कालो सीसा लगाएर,
ज्यानमारा शैलीमा हुइंकिने ,
सेतो रंगका कालहृयी गाडीमा ,
यात्रा गर्नुको सट्टा ,
जन्मसिद्ध पाएका ,
मातृ-वातसल्यले सुमसुम्याइएका ,
प्राकृतिक तादम्यताले पिसोल्टिएर,
काला भएका आफ्नै पाउने ,
सयौं किलोमीटरको यात्रा ,
हिम्मतीलो शैलीमा गर्छ ।

- २०८० भदौ ०४, धरान ।

बिशेष धन्यवाद: Tr Mukesh Yadav Status: 2080/04/19

(८) महत्त्व

महत्व
सयौं थोपाहरु मध्येका केहि भाग्यमानी थोपाहरुको संगम पश्चात् बनेको कर्कलोको पातको पानी ,
बांसको हागोको बिचको नलीमा डटपेनको सुइरो घुसाएर बनाइएको `डटपेन´को सहायताले याक छाप कपिमा लेख्न पाउँदा आउने आनंद ,
चप्पल लगाएर हिड्दा हिलोमा गाडिएर चुडिन्छ भनी हातमा बोकेर स्कुलमा पुगी चापाकल/धारामा खुट्टा धोएर लगाएको चप्पल,
दशैं आउनुभन्दा केही समय अगाडि `दशैंको लुगा´ भन्दै सबै दाजुभाइ-दिदीबहिनीहरुलाई किनिदिएको विद्यालय पोसाक र उक्त पोसाक मै मावल जानुको उमंग,
घरमा भिनाजु / फुपाजु वा यस्तै मान्यजनको आगमन हुँदा चुल्होको छेउमा टुक्रुक्क बसी आमा /हजुरामाले बनाइरहेको `चिनी हालेको चिया´ अलिकति खान पाउदाको खुशी ,
अनेकन ठेसहरु सहेर उप्किदै पलाउंदै बचेको खुट्टाको बुढी औंलाको नङ ,
भुटुन सिद्दिएको दिन छिमेकीलाई सुनाउनकै लागि भएपनि आमाले कराइ रन्काएर पानीसहित झ्वांइय्य पारेर ओइरिएको रायोको सागसंग खाएको भात ,
स्कुलबाट घरपुग्दा बिहानको उभृएको भात र त्यो कठाङृएको भातमा मोही र नुन हालेर खान पाउदाको उल्लास ,
घांसको भारी लिएर उकालो आइरहंदा सालिम्मोमा चिप्लिएर भारीसंगै लडेर उठेको ज्यान ,
बिहानै देखि रांगा गोरु नारेर जेठको बांझो जोतिरहंदा
घरबाट खाजको नाममा आउने `चाम्रे´ नाम दिइने `बेसारे भात´ आलिमा बसेर सादेको गुन्द्रुकसंग खादै जगबाट कर्ल्याक-कर्ल्याक पार्दै खाइने पानी,
असारमा लाग्ने कोदालोले छ्याम-छ्याम आलि-आचिला गरिरहदा दिउसोतिर खेतकै गरा छेउमा पिसोट्याएर पोलेको मकै अनि ट्यामीमा लगेको बाक्लो मोही ,
मंसिरमा परात्तैदेखी खेतमा निहुरिएर प्रतिस्पर्धात्मक रुपमा एकोहोरो धान काटिरहंदा खाजाको रुपमा पाइने उसिनेको स्कुस र पिँडालु,

-२०८० भदौ ०४, धरान ।

(१) मानिस उखान-टुक्के: संवाद बकम्फुसे

(आज विद्यालयको कक्षा १०, ´´कोशी´´ सेक्सनकी एक छात्राले एउटा कथा सुनाउन अनुरोध गरिन । कहिलेकाहीँ कुनैकुनै बिषय/प्रसंग अनुरुपमा कथा सुनाउने कट...