Sunday, October 1, 2023

(१६) सपनाको क्षेत्रफल

कुनै बेला सुनेथेँ ...
सपनाको प्रकार हुन्छ ,
तर आकार हुन्न ।
सपनाको माया हुन्छ ,
तर छाँया हुन्न ।
सपनाको दोष हुन्छ ,
तर अवरोध हुन्न ।
सपनाको कल्पना हुन्छ ,
तर सार्थकता हुन्न ।
सपनाको फैलावट हुन्छ ,
तर क्षेत्रफल हुन्न ।

अलिपछि ...
बाल-मस्तिष्कमा भरिएका ,
यी कुरा त छरिएका ,
सपना नै पो रहेछन् ।

आज सोचाइलाई सोधेपछि ...
आकार हुन्न सपनाको भने ,
किन तिमीले सपना ``ठुलो´´ देख्न सिकायौ ?
छाँया हुन्न सपनाको भने ,

किन तिमीले सपनालाई सँगसँगै हिड्न सिकायौ ?
अवरोध हुन्न सपनाको भने ,
किन उसले मेरो बाटो हरेक पाइलामा छेक्छ ?सार्थकता हुन्न सपनाको भने ,
किन उसको `जीवन´ मेरा सपनाहरू जस्तै छ ?
क्षेत्रफल हुन्न सपनाको भने ,
किन परिचय शहर-कुनाको दस धुरमा समेटिन्छ ?

कसैले च्वास्स दुख्नेगरी चिमोटेपछि ...
तिमी त बाचाल , निर्वन्ध , स्वचालित , स्वछन्द , स्वरुप्य , स्वाभाविक स्वतस्फूर्ती ओतप्रोत सम्पन्न ,
अलंकार होइनौ र ?
फेरि किन बेरिएका त अमुर्त सपनाको ,
मुर्तरुप क्षेत्रफलमा ?
कर्दलाई चकमक बनाएर ,
सुलिस घोटी स्पातको सपना देखाउने ,
तिमी नै भएपछि ,
त्यो सुलिस घोटीरहनेको सपनाको क्षेत्रफल त ,
साँझसम्म न रह्यो !
एक दिनमा तय गर्ने दुरी न हो ,
सपनाको क्षेत्रफल ,
जो घोडा , चौंरी र खच्चरको जीवन बाँचिरहेछन ।

त्यसैले ...
सपनाकै क्षेत्रफलले त होनि ,
उर्वर उमेरसंगै , उर्वरता बेचेर ,
उर्वर जमिनको , उर्वरता मासेर ,
अनजान जमिनमा , अहोरात्र खटेर ,
अनजान मानिससँग , अहोरात्र डटेर ,
गै खुला आकाशमा , कल्पनामा लुट्पुटिदै ,
आइ बन्द बाकसमा , बरफमा लत्पतिदै,
आत्माले शरीरलाई (अ)आत्मसात गरुन्जेलसम्म ,
सपनाको क्षेत्रफल बढाउन मन लागिरहने ,
लागिरहने ... ।

तर अफसोच ...
आफ्नै हातले जरामा चलाएको गैंती बिर्सेर ,
रुखमा ऋतुराजको हरित लता खोजेपछि
मुहान बिर्सेको नदिले समेत ,
गडगडाहट बाढी ल्याउँछ ।
अनि अन्त्य हुन्छ, क्षेत्रफल सपनाको ।

र ...
फर्कन्छ उही सत्य ,
जसले सिकाउछ ,
सपनाको प्रकार हुन्छ ,
तर आकार हुन्न ।
सपनाको माया हुन्छ ,
तर छाँया हुन्न ।
सपनाको दोष हुन्छ ,
तर अवरोध हुन्न ।
सपनाको कल्पना हुन्छ ,
तर सार्थकता हुन्न ।
सपनाको फैलावट हुन्छ ,
तर क्षेत्रफल हुन्न ।

२०८०-०६-१३, धरान

(१५) श्रद्धाञ्जली सभा

ऊसको श्रद्धाञ्जली सभा ,
शोक पुस्तिकामा हस्ताक्षरेहरूको लर्को ,
एउटा कुनामा मालाले छोपीइसकेको ऊसको फोटो ,
प्रमुख अतिथिको संबोधन ... ,
``यो मृत्यु सामान्य प्रक्रिया हो ,
जो जन्म्यो , ऊ मर्‍यो ,
मेरै जीवनकालमा बीस-पच्चीस मरेको देखिसकें ,
एउटा मर्छ , अर्को जन्मन्छ ,
ऊ सही समयमा , सही ठाउँमा प्रस्थान गर्‍यो ,
उसले जित्यो , तपाईंहरुले चाहिँ कहिले जित्ने ?
बस ! समयको खेल मात्र हो ,
पाको मर्छ , काचो जन्मन्छ ... ।´´

श्रद्धाञ्जली पाउन आएको उसको आत्मा ,
सभाका सभापतिको छेउमा ,
अदृश्य बसिरहेको छ ,
सोचिरहेको छ ,
म एक भाग्यमानी ,
श्रद्धाञ्जली सभा पाएं ,
धेरैले त दागबत्ती पनि पाउदैनन् ,

तर ...
प्रमुख अतिथिको ,
(अ)लोकप्रिय टिप्पणीले ,
उसको आत्माको समेत ,
आत्मसम्मानमा चोट पुगेछ क्यारे !
मृतात्मा नै भएपनि ,
डम्फरकाँडाले हृदय नै च्वास्स पारेपछि
सोच्यो ...
यो मेरो सम्मान कि अपमान ?!?!

२०८०-०६-११, धरान

(१४) हुस्सु

बसन्तमा टाकुराको बादल ,
हिउँदमा तराईको हुस्सु ,
बर्सातमा पहाडको भुइँ-कुहिरो ,
शिशिरमा आकाशको दही ,
साच्चै ! `तिमी´ त `तिमि´ जस्तै छौ ।

पाषाणी देशको ,
पाषाणी देशन्तरमा ,
पाषाणकै खेलौनामा हुर्किएको मलाई ,
तिमि कस्तो छौ, थाहै छैन ,
हिजो तिमि-देशको सपनाले कोट्याउंदा ,
तिमी-गाउँ झिंजो लाग्ने मलाई ,
आज तिम्रो स्पर्श , तिमिको भन्दा रोमाञ्चक ,
तर ...
जसरी तिमिको अन्त्य क्षितिजको मिलनमा ,
त्यसरी तिम्रो अन्त्य वृक्षको ललाटमा ।
अनि फेरि निर्बन्द र निराकार
त्यसैले ...
साच्चै ! `तिमी´ त `तिमि´ जस्तै छौ ।

तिम्लाई समीपबाट नचिन्नेले ,
`तिमि´ त के `तिमी´ पनि भन्दैनन ,
तिम्रो निस्पट निराकार ,
नवागंतुकको सत्कार ,
एक हुल फकिरको मुकुट ,
साच्चै ! `तिमी´ त `तिमि´ जस्तै छौ ।

तिमिले सूर्यालोकको आलिङ्गमा ,
बाफ बनाउदा ,
तिमी जन्मन्छौ , पर्वतारोहण गर्छौ ,
अनेकन सपना तिम्रा होलान् , तिमिबाट छुट्टिदाका ,
एक नवजात शिशु युवास्थामा प्रवेश ।
ठक्कर पर्वतको , उचाई जीवनको ,
ठक्करबाट परिपक्वता , उचाइबाट उपलब्धता ,
परिपक्वताले तिम्रो स्वरुप परिवर्तन ,
हुस्सुबाट बर्षा ;
उपलब्धताले जीवन परिवर्तन,
मान-सम्मान परिवर्तन , प्रतिष्ठा परिवर्तन ।
बर्षा-खहरे-बाढी-खोल्सो-खोलो-नदि हुँदै...,
अन्त्यमा फेरि `तिमि´ ।
उपलब्धिपूर्ण जीवन विसर्जन ,
नदि किनार ; जमिन र जंगल बास ,
उहि यात्रा तिमितर्फ ,
तर तिमि फेरि फर्कन्छौ हुस्सु बनेर ,
जीवन फर्कन्न फेरि जीवन बनेर ।
त्यसैले ...
साच्चै ! `तिमी´ त `तिमि´ जस्तै छौ ।

२०८०-०६-०३, धरान

(१) मानिस उखान-टुक्के: संवाद बकम्फुसे

(आज विद्यालयको कक्षा १०, ´´कोशी´´ सेक्सनकी एक छात्राले एउटा कथा सुनाउन अनुरोध गरिन । कहिलेकाहीँ कुनैकुनै बिषय/प्रसंग अनुरुपमा कथा सुनाउने कट...