Wednesday, December 27, 2023

(२६) जूनको जीवन्त अभिनय

लट्टाईबाट च्वाट्ट चुडिंएको धागोमा झुन्डिएर ,
स्वच्छन्द उडिरहेको चङ्गाको गतिमा बेगिएर ,
आकाश गंगाको तीरै-तीर,
पुगें म जूनको गल्ली ।

जून !
तिमी वास्तविक कलाकार ,
पेशागतले अरुको अभिनय गर्छन् ,
तर तिमी जीवनको ,
जीवन्त अभिनय ।
न त चाहियो निर्देशन ,
न त रंगमञ्चको अध्यारो ।
चाहिएन अभ्यास ,
चाहिएन थप उत्प्रेरणा ।
किनकि ...
किनकि तिमी जीवनकालमा ,
जीवनमरणको अभिनय गर्ने ,
एक जीवन्त कलाकार ।

आकाशगंगाको तीरै-तीर ,
हिंड्दा हिंड्दै
तिम्रो घरै छेउ पुगेछु !
हेरिरहें घर ,
देखें तिम्रो असली रुप ,
जिन्दगी एक कलाकारिता !
एक रंङ्गमञ्च ,
बिना बत्तीको ।
एक नाटक ,
जीवन्त अभिनयको ...
'तिम्रो घर´को अभिनय ,
'तिम्रो परिवारको´ अभिनय ।
'तिम्रो ऐश्वर्यको´ अभिनय ,
'तिम्रो वैभवको´ अभिनय ।
'तिम्रो पेशाको´ अभिनय ,
`तिम्रो व्यवसायको´ अभिनय ।
`तिम्रो पर्दाको´ अभिनय ,
`तिम्रो सूत्रधारीताको´ अभिनय ।
..., ... यो अभिनय नै अभिनयको ,
सांसारिक माया मोहको ,
त्यागको सट्टा ,
कब्जाको ,
सरल आख्यानको सट्टा ,
सूत्रबद्ध लेखनको ।
आजीवन सिक्नुको सट्टा ,
श्रीमान् सर्वज्ञताको ।
आखिर सबै-सबै ,
फगत अभिनय ।
जूनको जीवन्त अभिनय ।

आकाशगंङ्गाको तीरको घरमा ,
बस्यौ लामै समय ,
समयले धेरै कुरा सिकायो होला ,
तर समयले सिकाएका सयौं कुरा ,
समयमै चाहिँ पक्कै सिकिनौ ।
त्यसैले आजकाल ,
तिम्रो जीवन होइन ,
जीवन्त अभिनय चलेको छ ।
फगत अभिनय ।
जूनको जीवन्त अभिनय ।

-२०८० पुस ६, दमक ।

Saturday, December 16, 2023

(२५) बादलले छोपिएकी जून

सकेसम्म त उज्यालोमा ,
सदैव रहन खोजेकै हौ ।
पूर्णिमाको तिम्रो उदय ,
आलोचनात्मक साथ ,
अथक प्रयास ।
तथापि ...
तथापि ,
तिमीलाई
बादलले छोपेको छ !

कसैले
तिम्रो नाम बेचे ,
कसैले काम ।
कसैले चेत बेचे ,
कसैले दाम ।
तिमीले हरेकलाई ,
विस्वास गर्‍यौ ।
आज तिनै ,
विस्वासीला पात्रहरू ,
खलपात्र बनिदिंदा ,
तिमी रनभुल्लमा ,
रुमलिएको देख्छु !
अनि ...
अनि ,
तिम्लाई
बादलले छोपेको छ !

दलाललाई साक्षी राखी ,
स्थापित दलानलाई ,
तिमी नाघ्ने होइन ,
मास्ने प्रयास गर !
किनकि ,
तिमी चेतनाको बिज ,
निरंतरताको सुचालक ,
ममताको खानी ,
समाजको द्योतक हौ l
तथापि ...
तथापि ,
तिम्लाई
बादलले छोपेको छ !

तिमीलाई पनि त मन होला ,
केहि दिन ,
केही समय ,
केही हप्ता ,
स्थिर रहने !
तर ...
कस्ले बुझ्ने ,
तिम्रो इच्छा ,
तिम्रा चाहना ,
तिम्रो मनोभावना ,
तिम्रो संवेदनशीलता ,
किनकि ...
किनकि ,
तिम्लाई
बादलले छोपेको छ !

मौनतालाई स्वीकार सम्झी ,
गरिएका सम्झौतालाई ,
तिमी मान्ने होईन ,
लत्याउने प्रयास गर ।
किनकि ,
तिमी सृष्टिको जननी ,
दृष्टिको नानी ,
ममताको खानी ,
समाजको द्योतक हौ ।
त्यसैले ...
त्यसैले
तिम्लाई
बादलले छोप्नु हुन्न!

२०८० मंसिर २९, दमक ।

(२४) मध्याह्नको जून

हराउने बखत जूनले भनेथी ,
िउँदो रहेँ भने फेरि भेट हुनेछ ,
प्रत्युत्तरमा ...
म बहकिएको थिए ,
फेरि भेट भएमा न ,
जीउँदो हुनुको आत्मबोध हुनेछ !

आज मध्याह्नमा जून भेटिएकी छ ,
तर डाँडामाथि
डाको छोडिररहेको अवस्थामा ...

सायद त्यसैले होला ...
भाग्य लेख्ने नै अभागी भएपछि ,
अर्काको भाग्य कसरी लेख्छ ?
लेख्ने मसी नै काल्पनिक बनेपछि ,
मौनताको आवाज सिवाय अरु के बन्छ ?

प्रतिस्पर्धा नै आक्रमणको सिकार भएपछ
मैदानमा चाहिँ को उत्रन्छ ?
खेल्ने खेलमै झेल्नुपरेको अमिलो झेलपछि ,

पराजय व्यहोर्नु सिवाय अरु के हुन्छ ?
नदिको उचाईलाई नै गहिराई भनिएपछि ,
हेराईको गहिराई कसले नाप्छ ?
पहाडलाई बाटोमै पटमुर्ख लाटो बनाएपछि ,
कुरुप-सुन्दरता स्विकार्नु सिवाय अरु के हुन्छ ?

मयुरको नाचलाई नि हल्लाई भनेपछि ,
कोइली-सुरमा संगीत कसले भर्छ ?
बैशाखमा सिङ्गो वनमा आगो झोसेपछि ,
जेठमा खरानी सिवाय अरु के हुन्छ ?

प्रेमको पहिलो साक्षी बतास भएपछि ,
अरु-साक्षी राखी किन छताछुल्लिनु ?
उही साक्षीले बिषालु तेजाव छ्यापेपछि ,
प्रेमको अवमूल्यन सिवाय अरु के हुन्छ ?

मनको तलाउमा चुप्लुङ्ग चुचेढुङ्गा बर्साएपछि ,
मस्तिष्क-किनारमा भावनाका वेग चल्छन् ।
कृष्ण मेघले दिमागमा चट्याङ पारेपछि ,
भावनात्मक वेगबाट अक्षर रूपी बाढी बन्छन् ।

आँसु पसलमा छनौटको सुबिधा नभएपछि ,
बिना दलाली खरिदिन्छन दुई थोपा ।
चन्द्रमाको प्रकाशको सप्कोले शिर छोपेपछि ,
कल्पनाको डुबुल्कीको स्वाद नचाख्नेलाई के थाहा !

- २०८० मंसिर २०, धरान ।

(२३) जून हराएको सूचना !

नाम: जून
ठेगाना: जून फूलेको फूलको बस्ती
उमेर: पाँच दशक देखिने जस्ती
वर्ण: नेपाले चिल्लो भटमास जस्ती
हुलिया: मध्यम कदकी परिपक्क जस्ती
मिति: लाग्छ भर्खर हिजो अस्ति
स्वभाव: कहिँ कतै नचाहने मस्ती ।
थाहा छैन कहिलेबाट हराएकी ,
सैंतीस बर्षसम्म त थिई देखिएकी ,
गाउँघर मेलापातमा सधैं रमाएकी ,
तर ...
बिगत केही बर्षदेखि
छ जून हराएकी ।

थिएन उसलाई चिन्ता बाहेक परिवारको ,
जन्मिएकी भै जेष्ठ पुत्री मध्यम परिवारको ,
आनन्द साथ रमाउँथी भएपनि छानो खरको ,
तर ...
बिगत केही बर्षदेखि
छ जून हराएकी ।
थिई धनी एक भाइ तीन बहिनीकी ,
लिई जिम्मेवारी सबैलाई शिक्षा दिलाएकी ,
त्यही मेसोमा पढाई समेत आफ्नो बिर्सिएकी ,
तर ...
बिगत केही बर्षदेखि
छ जून हराएकी ।

लिंदालिंदै पारिवारिक जिम्मेवारी ,
बिर्सिइ क्यारे सायद आफ्नै बिहेवारी ,
थिइ बसिरहेकी परिवारकै भरपरी ,
तर ...
बिगत केही बर्षदेखि
छ जून हराएकी ।
नेटो उमेरले काटेपछि ,
आमाबाबु समेतको प्यारो नभएपछि ,
सम्झेकी हो बिर्सनेघरपरिवार धेरै पछि ,
अनि ...
बिगत केही बर्षदेखि
छ जून हराएकी ।

भई वैवाहिक उमेर सैंतीसमा ,
बोकी सपना प्रवेश नयाँ परिवारमा ,
होला थियो राम्रै नव संसारमा ,
तर ...
बिगत केही बर्षदेखि
छ जून हराएकी ।

भएनन् जय जन्म काट्याथ्यो नेटो उमेर ,
मानेनन् कसैले असल, भै अब ऊ धेर ,
चाहन्थी हुने सबको प्यारो पटक हरेक ,
तथापि ...
बिगत केही बर्षदेखि
छ जून हराएकी ।

खोजेनन नव परिवारले, ठाने पन्छियो लुतो ,
खोजेनन भाइ बहिनीले , माने गल्ती दिदीको ,
सम्झेनन बाबुआमाले , सोचे गल्ती छोरीको ।
भुले आफन्तले , भरेको गाग्री उसले ,
भुले गोठगाइले , सोरेको भकारो उसले ,
बिर्सिए सबैले , गरेको संघर्ष उसले ।
त्यसैले ...
बिगत केही बर्षदेखि
छ जून हराएकी ।
फेला पारेमा कसैले ,
बुझाइ दिनुस् तत्कालै ,
जून हराएको फूलको बस्ती ,
मानवता नहराउने कार्यलयमा ,
किनकि ...
बिगत केही बर्षदेखि
छ जून हराएकी ।

-२०८० मंसिर १५, दमक ।

(२२) खुइलिएको अँगार

सबैले जानेजती उपमा दिएर ,
तिमीलाई कृष्ण बाहेक केही देखेनन ।
आज तिम्रो आवरणको कलेवरमा ,
परिवर्तन देखिन्छ ,
अनौठो नमाने पनि अनौठो ,
नदेखिए पनि देखिएको ,
नखुइलिए पनि खुइलिएको ,
खुइलिएको अँगार ।

तिमी आफैंले त आफूलाई ,
देख्छौ नै उत्कृष्ट भन्दा पनि
सर्वोत्कृष्ट ,
सपनाको अदभूत साकार ,
कल्पनाको अनुपम साक्षात्कार ,
तिम्रै विशेष योगदानमा ,
नेपाली शब्दकोषले ,
किलोसेरा भित्र्याएको दृष्टान्त ,
म भुलौं कसरी ?
अनि तिमी बन्दै छौ ,
अर्काको डालाको सहायतामा ,
आफ्नो पात फैलाउने ,
ऐजेरु ।

हिङ नै नबाँधिएको हिङको टालो ,
माकुरै नहुने एकादेशको माकुराको जालो ,
रङ हराएपनि नामैले कालो ,
खुइलिएको अँगार ।
समयको कालखण्डमा ,
तिम्रो आवश्यकतालाई ,
आवश्यकताअनुसार ,
आ-आफ्नै तवरले ,
अपनाएकै हो ,
कसै न कसैले ,
कुनै न कुनै ,
तवरले ।

आज नउडे पनि रङ उडेको छ ,
नउजाडिए पनि बस्ती उजाडिएको छ ,
फुङ्ग तिम्रो रङ ,
खुइलिएको अँगार ।

-२०८० मंसिर ०९ , दमक ।

(२१) मलामी संवाद

१.
ठिकै भयो ,
बोझ थियो परिवारलाई नि ,
चारखुट्टेमा खाट ,
उडनेमा हवाइजहाज ,
गुड्नेमा गाडी ,
गिलोमा मानव-गोबर ,
ठोसमा ढुङ्गा ,
तरलमा स्वमूत्र ,
ग्यासमा ....
बाहेक सबै नै खान्थ्यो !
सबैले भन्थे ड्रग एडिक्ट ,
काट्थ्यो बाबुको पकेट ,
थेग्नु थेगिन आमाले ,
लुकाई छिपाई मायाले ,
दिएर आनासुकी ,
सम्म हजारौं रुपैयाँ ।
तर थामेन मायाले आमाको ,
गयो अन्त्यमा नभै कोहि कसैको ।
न कोहि कराउने न रुने आगनमा ,
मात्र थिए रसाएका नेत्र आमाका ।

२.
बाँचे झन्डै बर्ष सय ,
सबैको आँखामा नानी भए ,
समाजलाई गुन लगाएरै गए ,
मलामी पनि गाउँ नै उल्टिए ।
होस मरण यस्तो ,
ठुलै राजकाज चलाउनेको जस्तो ।

३.
भए जतिसुकै सम्पत्ति ,
थिए एक बिषालु सामन्ती ,
थिए कमाएका भएर आसक्ति ,
सोसेर पसिना परेकाको नियति ।
भए जस्तै सर्प गोमन पनि ,
आउनै पर्ने है जीवनान्त्यमा मलामी बनी ।
गए अब नहोस् पुनर्जन्म उनको ,
बनुन सन्तान फरक स्वरूप बाबुको ,
गरुन् कल्याण सब समाजको ,
गरि प्रयोग त्यही सम्पत्तिको ।

४.
बिजोग नै थियो बिचराको ,
गुहुमुत एकै ठाउँ बर्षौं-बर्ष ,
सकस गर्नेलाई नि ,
काम सबैका आ-आफ्नै ,
दुखै लुकाए बिचराले ।

५.
कस्तो निस्ठुरी होला मन ,
साना लालाबाला ,
बुढा बाबुआमा ,
लाउँ लाउँ खाउँ खाउँ ,
उमेरकी श्रीमती ,
बिग्रेको किन होला मति ?
ठुलै भए पिडा ,
भए हुन्थ्यो घर छोडी हिंड्या ,
किन लाउनु ,
पासो नै !
यस्ताको त नआउनु भन्छन् मलामी नि ,
गर्नु के ,
आफन्त भएपछि परिहाल्यो आउन !

६.
बिचरा ,
बोकेर सपनाको पोको ,
पुर्याउन आमाको नयाँ घरको धोको ,
ल्याएर एक बासक मुल्य सपनाको ,
उडेथ्यो मुग्लान मनको लड्डु चपाउँदै ।
तर फर्कियो बन्द बाकसमा ,
बेरिएर बरफले ,
मुर्छित आमा छिन अस्पतालमा ,
बसाई अस्पतालले थपियो थाप्लोमा ,
ऋण माथी ऋण !
बेखबर छ राज्य ,
बरु ...
हरदिन बेचेर नागरिक ,
मनाउँदैछ उत्सव ,
नाममा सृजना गरेको ,
अवसर वैदेशिक रोजगारीको ।
बिचराको लास पनि ,
ल्याउनका लागि ,
चाहिए तिनै साथी ,
जसको छैन ठेगान ,
आफ्नै ज्यानको ,
पुग्ने हो कहिले ,
मातृभूमिमा लास बनेर ।

७.
कसरी कुदाथ्यो ,
भएछ एकैपटक स्वाहा !
हान्नुपर्ने त्यो बसको ड्राइभरलाई ,
मारेको रे ब्याक गरेर ।
नहुनू भो ,
गुम्यो आम्दानी परिवारको ,
भयो बिचल्ली नानीहरूको ,
थिएन रे हिसाब ऋण-धनसमेतको,
कसैलाई कुनै घर व्यबहारको ।

८.
भयो एकल उमेरमै ,
बस्यो भनी परिवार घरमै ,
सययसंगै पलाए पखेटा सबैका ,
उडे आ-आफ्नै उडानमा इच्छा-आकांक्षाका ।
देखेनन उनलाई जमिनमा ,
थिए एक्लै जन्मिंदा परिवारमा ,
भए एक्लै सबैबाट जीवनान्त्यमा ,
पाएनन् सम्म पानी हिजो अन्तिम सासमा ,
लुकाए दु:खै अब गए सदैव पितृ पासमा ।

९.
गएथ्यो स्थापनार्थ शान्ति ,
फर्कियो आफैं लिएर चिरशान्ती ,
जे भए नि अरु ,
पायो आर्यघाटमा बास ,
सलामी एक टुकडीका साथ ।
संस्थाले चिन्छ थोर-बहुत ,
चिन्दैन राज्यले कुनै बखत ,
आउला पैसा त अलिकति ,
तर कसले बुझ्ने पारिवारिक नियति !
तथापि ...,
जसले जे भने नि ,
सकिन्छ सद्गति ,
अब छैन संवाद एक रति ,
फिर्छन मलामी हतार-हतार ,
आफ्नै लयमा ।
आखिर हो पनि ...
सुन्दैन लासले कानै फोडे नि ,
तर चलिरहन्छ संवाद मलामीको ,
अर्को दिन फेरि अर्को लास ,
निरंतरता कुनै एक संवादको ,
एक प्राकृतिक शैलीमा ।
बनाउने संवाद कस्तो ,
मलामी तपाईंको ?
सायद बाहेक केहि ,
सबै छ हातमा तपाईंको ।।

-२०८० कार्तिक १९, धरान ।

(२०) गल्ती

मेरो पहिलो गल्ती तिमीलाई चिन्नु रहेछ ,
तिमी मानिस भनेर जान्दाजान्दै ,
अन्जानमै नजिकिने कुचेष्टा हुन पुगेछ ।

मेरो दोश्रो गल्ती तिम्रो संगत हुनपुगेछ ,
हरियो रंग पोतेको जान्दाजान्दै ,
सुख्खा रुखको जरामा पानी हाल्नपुगिएछ ।

मेरो तेस्रो गल्ती तिम्रो कुरा पत्याइएछ ,
भ्रष्टाचारको पहाड चडेको जान्दाजान्दै ,
मेरो रगतले चल्ने पजेरो पुज्नपुगिएछ ।

मेरो चौथो गल्ती भोजमा बोलाउनु भएछ ,
चणक र सेतो-सालिग्राम समेत नरुच्ने जान्दाजान्दै ,
ढिंडो-सिस्नु र मोहीको भाग लगाइएछ ।

पाँचौं गल्ती, गल्ती ढाकछोप गर्नुभएछ ,
सबै गल्ती भनेर जान्दाजान्दै ,
केहि दिन भरिएर रित्तो बनाइएछ ।

अर्को गल्तीको कोरा कल्पनाले ग्रसित बनिएछ ,
गलत सूचना भन्ने जान्दाजान्दै ,
सिद्धिविनायकको सिङ्गो फल अर्पिएछ ।

गल्ती मनलाई मिलाएर यहाँका घरहरू जोडिन्छ्न ,
मन जोडिएको राम्रो जान्दाजान्दै ,
घरै जोड्ने मुटु फलक्कै फुटाइन्छ्न ।

गल्ती नै गल्तीको महासागरमा शुन्य खोजिरहेछु,
नभेटिने खुला नहुने जान्दाजान्दै ,
आकाशको अस्तित्वमा अमुर्त प्रश्न तेर्स्याइरहेछु ।

- २०८० कार्तिक ११, दमक ।

(१९) भुइँफुट्टा

आजकालका भविष्यद्रष्टा बजारका कुनामा ,
नगर प्रहरीले आफ्नै भविष्य मेट्ला भन्ने डरले ,
दक्षिणासाथ कोही कतैबाट आउने आशामा ,
बस्दारहेछन् ,(अ)रहरले; जीविकोपार्जनका करले ,
तर ...
म त भुइँफुट्टा भविष्यद्रष्टा !

दिनभर धारिलो बन्चरोले ,
बटारिएको साज, चिलाउने , हर्‍ओ , बकाइँयो ,
चिरेपछी हरेक दिनान्तमा हेर्ने गर्थें भविष्य !
ठेउलाले पुरिएका , कालो रगतले लत्पतिएका ,
ती रेखात्मकताले दिन्थ्यो दिब्यज्ञान ,
यो साललाई त पुग्छ होला दाउरा ,
त्यसैले म त भुइँफुट्टा भविष्यद्रष्टा !
चार बजे उठेर ,
पाँच नम्बरे कल्टीले ,
नौ बजेसम्म जोतेपछी ,
कल्टीको अनौ समाउँदा-समाउँदा,
अर्ध-मुष्ठीकर बनेको हातका ,
बाङ्गिएका औंला सोध्याउँदै ,
हेर्दा देखिने पसिनाको सुगन्ध मिश्रित ,
कालो कसमा हेरेपछि ,
आफ्नो भविष्य देख्ने गर्थें ...
अब दुई दिनमा त जेठको बाँझो फोरिसक्छु ।
त्यसैले म त भुइँफुट्टा भविष्यद्रष्टा !

हतारहतार हल खोली ,
हिजो बेलुकादेखि बेखबर बनेका ,
किताब च्यापेर ,
उखरमाउलो प्रवाह नगरी ,
स्कुल हानिएपछी ,
आफ्नो भविष्य देख्ने गर्थें ...
एक दिन म ठुठुठुठुठुु...लो ,
मान्छे बन्छु , हलसँग होईन ,
हरकोहीसँग नजर जुधाएर बोल्न सक्छु ,
त्यसैले म त भुइँफुट्टा भविष्यद्रष्टा !
ठुला-ठुला अक्षरसँग मितेरी लाउँदै ,
देखेको बडेमानको भुइँफुट्टे भविष्य ,
अक्षरका आकार घटेसंगै ,
अप्ठ्यारोमा पर्दोरहेछ ,
अशक्त , निर्बलियो , अपुरो
प्रकाश नदिने बत्ती जस्तो ,
खरी झरेको मादल जस्तो ,
धार झरेको बन्चरो जस्तो ... ,
सबै-सबै अनि अन्त्यमा ...
निब भाँचिएको टेको कलम जस्तो ।

अझै पनि मेरो अन्तस्करण मान्न तयार छैन ,
मेरो भोगाइको पराजय ,
भाँचिएको फलैंचामा बसेर हेर्न छोडेको छैन ,
आफ्नै भविष्य ...
त्यसैले म त भुइँफुट्टा भविष्यद्रष्टा !

-२०८० असोज २८, धरान ।

(१८) नङ फुलेन

हर साल दस मध्ये एक फुल्ने नङ ,
यसपालि फुलेन ।

औंलाका नाम अनुसार नै ,
फुलेर ल्याउने सुवास ,
खै किन हो ,
आजकाल ल्याउन्न ।
नङ-फूलको सुवासले ,
आजकल आत्मसात पटक्कै गर्दैन ,
त्यसैले त यसपालि नङ फुलेन ।

सायद नफुलेरै होला कुनै नङ ,
यो सालको शरदले मन फुरुङ्ग नबनाएरै गयो ।
गृष्ममा फुल्न बिर्सिएको नङले ,
खल्लो बनायो शरदलाई ।
अमिलो मनले जेनतेन चलेको शरदले ,
चिसो बनायो शिशिरलाई ।
आफैंमा चिसोले चिसिएको शिशिरले ,
पार्यो गृिष्मलाई अझै अप्ठ्यारो ।
रंङ्गीबिर्ंगी फूल फुलाउने वसन्तले समेत ,
सयलमा पारेछ क्यारे नङ मेरो ,
त्यसैले त यसपालि नङ फुलेन ।

उतिबेला पल्लाघरे कान्छाको नङ फुल्दा ,
बसी एकान्तमा, घोटी-घोटी हँसियाले ,
फुलाएको नङ,
आफैंमा छ आज लज्जित ।
दुई-चार पटक रेटिएर अधकल्चो बनोटमा ,
धुस्रेको झुस र ढुङ्गाको उन्युको सहारामा ,
तङ्गृएको ऊ सग्लै छ ,
आज त्यो नङलाई हंसियाले घोटिनु छैन ,
फुल्ने हैसियत छ आफैंमा ,
मलजल पनि अलिअलि गरेकै छ ,
ठुठुठुठुठुठुठुठुलो आकारमा ,
पौंठेजोरी खेलेर नसके नि फुल्न ,
आत्मसम्मानलाई आत्मसात गर्दै ,
आत्मपुलकित फूल त फुल्नैपर्ने ,
तर ...
माया सबैभन्दा गर्ने बस्तु र मनले ,
जादैनन छोडेर साथ कहिल्यै ,
भनेपनि ,
सायद नङ-फूलले माया गर्दैन क्यारे ,
त्यसैले त यसपालि नङ फुलेन ।

-२०८० असोज २५ , धरान

(१७) ऊ जुलुङ्गो

नतमस्तक स्थिर ,
अमुक तर जस्तै बाचाल ,
बसेको छ ठिङ्ग उभिएर ,
गहुँवारि बिचमा , अबिचलित ,
स्थिर , एक तमासाले हेरेर रमिता ,
ऊ जुलुङ्गो ।

सास नभएपनि सासानुभुति लिएर ,
कथ्थक नृत्याङ्गनाको स्वरुपमा उभिएर ,
आलुबारी बिचमा ,
उभिएको छ अबिच्छिन्न ,
स्थिर , एक तमासाले हेरेर रमिता ,
ऊ जुलुङ्गो ।
अर्कैले पहिर्‍याइ दिएको अर्काको जड्यौरीमा ,
मलमल पहिरानुभुतिमा ,
पिंडालु बारी बिचमा ,
उभिएको छ ,
अनवरत ,
स्थिर , एक तमासाले हेरेर रमिता ,
ऊ जुलुङ्गो ।

बिहानै बाँदरको झुंड पसेर खोज्छ जिस्क्याउन ,
तर सक्दैनन् बिचरा ती छुट्टाउन ,
सास भएको र नभएको ठम्याउन ,
त्यसै त्यसै भाग्छ्न ज्यान जोगाउन ,
उता गजधुम्म ठिङ्गृएर ,
मकैबारी बिचमा ,
मैले भगाए बाँदर भनि ,
आत्मलड्डु चपाउँदै उभिएको छ ,
मुर्ति स्वरुप ,
स्थिर , एक तमासाले हेरेर रमिता ,
ऊ जुलुङ्गो ।

टन्टलापुरमा , सुगा देखि कौवासम्म ,
बस्छन् आएर कुम देखि माथसम्म ,
छैन थाहा दुबैलाई हो ऊ के र किन ,
तर उड्छ्न भुरुरु मान्दै डर ,
उसको नभै आफ्नै ज्यानको ,
छोडेर खाँदा खाँदैको दुधे मकै ,
सोचेर उसलाई ,
सास फेर्ने जुलुङ्गो ,
ऊ भने खम्बा स्वरुपमा ,
मकैबारीमा ठिङ्गृङग ठडिएको छ ,
भन्दै खेदाएँ मालिकका मकै चोर ,
गदगदिंदै खितखित ,
ठडेउरो ,
स्थिर , एक तमासाले हेरेर रमिता ,
ऊ जुलुङ्गो ।

पहिलो प्रहर निशामा ,

बनाई निसानी सखरखण्डलाई ,
पसेका एक हुल दुम्सीले ,
झ्वास्सै देखेपछि निर्जीव बुख्याचा ,
सोचेर हो त्यो सजिव दुइखुट्टे ,
ठोक्छ्न सुइँकुच्चा जोगाउन प्राण ,
अनि सोच्छ जुलुङ्गो भगाएँ मैले ,
चोर दुम्सीलाई ,
म प्यारो मालिकको ,
आत्मरतिमा रम्दै निरन्तर ,
बसेको छ ऊ ओगटेर ठाउँ ,
स्थिर , एक तमासाले हेरेर रमिता ,
ऊ जुलुङ्गो ।

सकियो मौसम खेतीपातीको ,
पूर्ण भयो स्वार्थ एक किसानको ।
सोच्दछ जुलुङ्गो अब पालो मेरो ,
भित्रीने घरमा ठुलो मालिकको ।
तर ...
आयो ठुलो छोरो त्यो ठुलो घरको ,
निकाल्यो खुकुरी दापबाट झ्वाट्टै ,
भन्यो मनमनै ,
``अब के काम यसको ,
बस्या छ, शिरमा बारीको ,
अलच्छिनी मुर्कुटो स्वरुपमा´´
सोचेपछि यति , छप्कायो दुई छ्याम ,
सिरुपाते खुकुरीको भरमा ,
लड्यो जुलुङ्गो डंग्रङ्ग भुइँमा ।
ठुल्छोरोको चित्त बुझेन अझै ,
निकाल्यो चकमक ,
खोजी सेतो ढुङ्गा ,
ठोस्यो दुई-चार बार मिलाइ झुलो ,
सल्कियो झुलो ,
सल्काइदियो जुलुङ्गो ,
लाग्यो बाटो आफ्नो ,
दन्कियो जुलुङ्गो ,
टन्टलापुर घाममा ।
हरे शिव ! बफादारीता जुलुङ्गोको , दुई छप्को छप्काई ,
स्थिर , एक तमासाले हेरिरहने रमिता ,
ऊ जुलुङ्गो ।

- २०८० असोज १८, धरान ।

(१) मानिस उखान-टुक्के: संवाद बकम्फुसे

(आज विद्यालयको कक्षा १०, ´´कोशी´´ सेक्सनकी एक छात्राले एउटा कथा सुनाउन अनुरोध गरिन । कहिलेकाहीँ कुनैकुनै बिषय/प्रसंग अनुरुपमा कथा सुनाउने कट...