Friday, April 28, 2023

(३) घर के होला

एकदिन दिउँसो टहलिरहेको समयमा , पीताम्बर बाबाजीलाई भेटें र सोधेँ ,
`घर भनेको के हो बाबाजी ?´
`जीवनकालको दुई दिन मानव चोलामा २४ घण्टा हुन्न ,
अनि ती दुबै दिन कुनै निश्चित ठाउँमा आफन्त ,
आफन्त के भनौं आफन्त भनाउंदाहरुको हांसो र रोदन हुन्छ नि ,
घर त्यसैलाई भन्छन् , बालक ।´
बाबाजीको उत्तर त पटक्कै नै बुझिन ।

भर्खरै बाक्लो दाल खाएका ,
खाएका के भनौं खुवाइएका,
पल्लाघर साल्दाइलाई सोधेँ `घर भनेको के हो , दाजु ?´
उनले भने , ´घर त्यो हो जहाँ मन बस्छ ।´
मैले खासै बुझिन ।

रमिते डाडाबाट शहर चियाइरहेका एक युवकलाई उक्त प्रश्न सोध्दा झर्किएर उत्तर दिए ,
`ह्या ल्याङ नगर्नु न दाइ,
घरमा पनि बाउले घर बस्तैनस भनेर गीदीईईईईईइ गरिरहन्छन,
तपाईं पनि फेरि त्यही घर भन्नुहुन्छ ।´
खै मैले सोध्नै पो गल्ती गरें कि !

सडक दुर्घटनामा बाबुको ज्यान गुमाएका र एकल आमाले दु:ख जिलो गर्दै हुर्काइएका साना नानीलाई त्यही प्रश्न सोधे ,
उनले भने , ` घर त्यो हो , जहाँ आमाको मायामा बाबाको अभाव हुँदै हुन्न ।´
म अझै बिलखबन्दमा परें ।

समय चल्दै गयो ।
आज बिहानै भानुचोकको सडक पेटिमा सुत्ने जस्ता देखिने एक अपरिचित ब्यक्तिलाई उहि प्रश्न सोधेँ ,
उत्तरमा `आकाश देखिने खुल्ला ठाउँमा अरुको हस्तछेप बिना सुत्न पाउने ठाउँ नै घर हो ।´ भने ।
खै खै , के हो के ?

कामकाजी दम्पतीले मन्टेश्वरी स्कुलमा भर्ना गरिएका तिनबर्षे नानीलाई सोधेँ ,
रुञ्चे स्वरको तोते बोलिमा उत्तर दिइन , `घल भनेको इकुलबात गएल आमा (उसका लागी आमा तर हजुरआमा) को काखमा लुपुक्क निदाउनु हो नि ।´
म केही बोलिन ।अझ दुबिधा बढ्दै गयो ।

हिड्दा हिडदै अकस्मात विश्वविद्यालय प्राध्यापकलाई भेटें त्यही प्रश्न सोधे ,
`घर त्यो हो जहाँ मेरो बा-आमाले मलाई जन्म दिनुभयो र अहिलेसम्म मलाई आश्रय दिइरहनुभएको छ ।´
यो कस्तो घुमाउरो उत्तर फेरि ? सायद प्रोफेसर भएर पो कि ?

केही क्षणमा क्याम्पस गेटमा स्नातकोत्तर अङ्ग्रेजीका एक विद्यार्थीलाई भेट्नसाथ सोधिहाले उहि प्रश्न ,
उत्तरमा `खै खै आफू त House मा बसिन्छ, दाइ ! Home छैन , तपाईंले सोधेको कुन घरको बारेमा हो ?´
अङ्ग्रेजीका विद्यार्थीका नाताले होला , अङ्ग्रेजी उत्तर आ को !

लखर-लखर यसो शहर डुल्दै जादा मध्याह्नको चर्को घाममा तालुबाट पसिना काड्दै निर्माण कार्यका मिस्त्री दाइलाइ पनि सोधेँ ,
`खै हजुर म त जिन्दगीभर घर नै बनाइरहेको छु, अहिलेसम्म सय घर बनाएं होला ,
तर मैले बनाएका यिनै घरमा बस्नेहरूले मलाई ``सुकुम्बासी´´ भन्छन् अनि अलि पछि आउँदा यो घरको ढोकाबाट म छिर्न पनि पाउदिन ।´
उनको उत्तरलाई अब मैले पो के नै गर्न सक्थें र !

सातबर्ष अघि बिदेश गाको ठुलाबाको छोरालाई पो थाहा छ कि झै लाग्यो ,
भाइबर घुमाएं र सोधे , ` ठुले घर के हो?´
आनाकानीमा उत्तर दियो , `बाक्समा बेरिएर आउनुपरेन भने ,
पोहोरसाल किनेको ९ धुरमा यो साल बुहारीलाई धुरी हाल्न भनेको छु ,
म आएपछि त्यही धुरीमुनी दाजुभाइ गफ्फिदै भनौंला न है, दाइ !

माथ्लाघर कान्छाबाको मलामी जादा एकछिन चतरा बृद्दाश्रममा पसेर एक आमालाई उही प्रश्न दोहोर्याए ,
खै आमाले के बुझ्नुभयो , उहाँको उत्तर शब्दमा नभै ,
दुबै आखाबाट निस्केर गालाहुदै क्रमशः चिउंडोमा मिसिई कुनै मनकारीले सोदिनलाई ब्यबस्थापन गरिदिएको
र आमाले खाइरहेको कागजको टपरीको खानामा तप्प तप्कियो ।
त्यो बेला सायदै मेरा अश्रु पनि अनायासै बग्न थालेछ्न !

थाहा छैन घर के हो ,
तर यो त्यो पक्कै हो ,
जसले हरेकलाई अलग-अलग तरिकाले माया जालमा बाधेकै हुदोरहेछ ।

अनि यो प्रश्न सोध्न मन लाग्यो ती छोराछोरीलाई जसका मातापिता बिश्व धनाड्यमा सुचिकृत छन् ,
अर्कोतिर जसका बाउ-आमा सडक मानवका उपनामले चिनिन्छ्न ।

एउटा जो सरकारी जागिरे छ ,
अर्को निजी छेत्रको कामदार !

खुलेको मौसममा काधमा क्यामेरा भिरेर भेडेटार हुइकिनेहरुलाई,
अनि सिमसिमे झरीमा हातमा कोदाली लिएर हस्याङफस्याङ पाखोखेत दौडिने ठुल्दाइहरुलाई ।

यसरी नै सोध्न मनलाग्यो ,
कोटेश्वरमा एउटा घर मात्रै भएको `गरिब´ लाई अनि,
तराई-मधेशको देहात देखि उच्च पहाडका `जमिनदार´ सम्मलाई घरको अर्थ !
घर चलाउन कै लागि हरेक साल कालापहाड जाने सुप र कर्णाली देखि ,
घर सजावटका लागि कालीमाटी लगाउने हरेक दाजुभाइ दिदीबहिनीहरुसम्मलाई ।

-२०७९ चैत २१ , धरान ।

Thursday, April 27, 2023

(२) मेरो निजत्व

अप्रिय तर स्वप्रिय मेरो निजत्व ,
अरुलाई अराजक तर स्वराजक मेरो निजत्व ।

म मैले आफैं निर्माण गरेका शब्दहरुले मेरै डायरी भर्छु ,
मेरो निजत्व , तर उनीहरूको डाहा !
वाह !
उनीहरुको बौद्धिकता,
बौद्धिकता ??
होइन !
बौद्धिक अराजकता !!
मैले स्वतस्फूर्त आर्जन गरेको निजत्व ,
आत्मसात गर्न नसक्ने , स्वघोषित , मात्र स्वघोषित तपाइँको बौद्धिकता ।

मेरो निजत्व , मेरो आत्मरञ्जिता ,
मेरो निजत्व , मेरो आत्मवश ,
मेरो निजत्व , मेरो निजस्व ,
मेरो निजत्व , मेरो आत्मबोध ,
मेरो आत्मलेख , मेरो आत्मबली ,
म आत्मस्थ , त्यसैले म आत्माराम ,
त्यसैले म डिल्लीराम !

- २०८० बैशाख १४ , धरान ।

(१) सोधपुछ

सपना बेचेर चामल किन्नेहरुलाई सोधपुछ गर्नुहोस् ,
सपनाको अवमूल्यन वा चामलको अधिमुल्यन ?

जंघार तर्दा हातमा चप्पल बोक्नेहरुलाई सोधपुछ गर्नुहोस् ,
माया चप्पलको धेरै कि खुट्टाको ?

मंसिरमा पनि टुमटुम गरि-गरि खुवाउने आमालाई सोधपुछ गर्नुहोस् ,
जिउँदाको जिउ जोहो कि जिउनको बिउ ?

आधाबाटोमा गन्तव्य परिवर्तन गरेकाहरुलाई सोधपुछ गर्नुहोस् ,
बाटो बिराएको कि बाटोले बिराएको ?

(१) मानिस उखान-टुक्के: संवाद बकम्फुसे

(आज विद्यालयको कक्षा १०, ´´कोशी´´ सेक्सनकी एक छात्राले एउटा कथा सुनाउन अनुरोध गरिन । कहिलेकाहीँ कुनैकुनै बिषय/प्रसंग अनुरुपमा कथा सुनाउने कट...