Monday, November 24, 2025

(११) स्वस्पर्श: भुइँमान्छेका आशाका कथा



` केवल डाक्टरले बिरामीलाई जीवन दिंदैन, केहि बिरामीको उपचारमा डाक्टरले पनि नयाँ जीवन प्राप्त गर्छ ।´ आमा अर्थतन्त्रलाई केन्द्रमा राखेर लेखिएको `शुन्यको मुल्य´बाटै मैले पढिइनुपर्ने लेखकको सूचीमा राखेका कर्णालीका कथा होईन कर्णालीका जीवनका लेखक , डा नवराज केसीको पछिल्लो पुस्तक , `स्वस्पर्श´को भुमिकामा उल्लेखित उक्त हरफले साँच्चै नै त्यतिबेला स्वस्पर्श गर्छ जतिबेला पुस्तकको पहिलो कथा जाजरकोटका जंगबहादुरको कथा पढिन्छ र त्यही हरफ पृष्ठ ७ मा सप्रसंङ भेटिन्छ यो वाक्यांश अनि पुस्तकमा बारम्बार यो वाक्यांश दोहोरीरहनु नै पुस्तकको सबैभन्दा सवल पक्ष हो ।

पृष्ठ २३ मा पुग्दा जब जंगबहादुरको बाबुले छोराको अपाङ्गता भत्ता काटिने डरले औषधि खुवाउन बन्द गराएको अन्त्य सहितको वाक्यांशमा पुगें, एकचोटी रोकिएँ , फेरि पढें कतै म गलत भावमा त पढिरहेको छैन । तर यो सत्य थियो । यो सत्य संगै देशको दुर्गम बस्तीमा रहेको वास्तविक चेतनाको स्तरको दर्पण थियो । सामाजिक सुरक्षा भत्ताको उपादेयतामाथि प्रश्न थोपारेको अनुभुति भएता पृष्ठ ३० मा पुग्दा जंगबहादुरको बाबुको वाध्यताको कथाको अनुभुति हुन्छ । सबैभन्दा मुख्य कुरा , अझैसम्म कर्णालीमा रहेको अशिक्षा र गरिबीको स्तरको स्पष्टता भेटिन्छ ।

अध्याय एकमा , कथा भित्रको असफल आत्महत्याकर्ताको श्रवण अनि डा केसीले देखाएको मानव दु:खयन्त्रको जैविक ब्याख्या , शरीरलाई जिमखानाको बिम्ब मार्फत मानव शरीरले सुख भन्दा दश गुणा बढी दु:ख महसुस गर्छ भन्ने सचित्र ब्याख्या मार्फत मनोरोगीलाई रोग निवारणतर्फ स्वबुद्दत्वको स्तरमा पुर्‍याउन मनोबैज्ञानिक बिष्लेशण गर्दै सिद्दार्थ गौतम बुद्ध मात्रै नभै विश्वका सबैभन्दा ठुला मनोबैज्ञानिक हुन भन्ने तर्कलाई नकार्न सकिन्न । `संसारका सबैभन्दा ठुला मनोबैज्ञानिक २५ सय बर्ष अधि नेपालमा जन्मिएका सिद्दार्थ गौतम नै हुन । आउने पुस्ताले बुद्दलाई शान्तिका दुत बुझ्नुअघि समस्या समाधानका दुत भनी चिनुन । उनका उपदेशमा पहिले समाधानका सुत्र भेटुन , अनि शान्तिको गन्तव्य (पृ. ३४)´

मनोबिज्ञान अध्ययनको कनेक्टिभ डिस्टोर्सन थिअरी लाई नेपाली मनोबैज्ञानिक कथाकार बीपी कोइरालाको दोषी चस्मा मार्फत सरलीकरण गरी गर्बे दाइको शिक्षक-माग्ने-दिने शृङ्खलाबद्ध जीवन कथाको सहाराले मानव व्यबहार र आफूलाई कमजोर ठान्ने (डाउन सिन्ड्रोम थिअरी) र त्यसबाट बच्ने उपायको गहिरो दार्शनिक चेतको संगालो हो -स्वस्पर्श ।

`एक हात काटलिया अब पैर भी काट रहे हो , क्या करोगे ? मीट खाओगे क्या मेरा ?´ (पृ. ८४) आफ्नो हात अचेतन अवस्था नै गुमाएपछि खुट्टा काट्न तम्तयार डाक्टरसंग मन्दिरेले गरेको उक्त संवादले जीवनप्रतिको दृष्टिकोण स्पष्ट पार्छ । हरेक समस्या समाधानको एकमात्र उपाए बाँच्नु हो । बुद्ध दर्शनको गहिरो चेतभित्र रहेर लेखिएको मन्दिरेको कथामा मानव जीवनको त्यो हदसम्मको मनोबैज्ञानिक ब्याख्या भेटिन्छ जुन जीवनको अन्तिम सत्य स्विकार गर्ने अर्धचेतनको अवस्थामा पनि जीवन जिउने कलामा निरन्तर लागिरहन्छ । `हात काट्यो, मैले बर्षौं त्यही हराएका हात त औंला खोजिरहें । बर्षौंपछि पो पत्तो भयो, मसँग अर्को हात रै´छ , दुइ खुट्टा नि रै´छन । जिब्रो , अनुहार , हाँसो -सप्पै बाँकी रै´छ । .. जिन्दगीमा जे पो होस , मुन्टो उतै फर्काउनु , जता उज्यालो हुन्छ , क्या । (पृ. १०७)´ एउटा आम समाजले सामान्य मानिस अथवा झन्डै-झन्डै अस्तित्व नै स्वीकार गर्न नसक्ने पात्रको मुखबाट यति गहकिला जीवन दर्शन ओकाल्न सक्नु डा नवराज केसीको उत्कृष्ट लेखन कलाको उदाहरण हो ।

ध्यार गाउँको कथाको सप्रसंग ब्याख्या गर्ने सिलसिलामा डा केसीले मनोबिज्ञान भित्रको एउटा जटिल अध्ययन , ``फेसियल मिररिङ´´ अर्थात् नवजात शिशु (१ बर्ष उमेर समुह)मा आमाको अनुहारको हाउभाउले उक्त शिशुको वयस्क जीवनको चरीत्र निर्माण गर्छ भन्ने कुरालाई सपाट रुपमा प्रष्ट्याएका छन । इन्फेन्ट मदर अट्याच्मेन्ट (कोख-काख-अनुहार) स्पर्शकै आधारमा मानिसको जीवन सुखी-खुशी , तनावग्रस्त र विध्वंसात्मक हुनेकुराको अध्ययन गर्ने मनोबैज्ञानिक डा बिएट्रिसको निश्कर्शमा आधारित उक्त विश्लेषण बर्तमान समाजको एउटा अत्यावश्यक क्षेत्रको दर्पण हो । यसले मातृशिशु स्याहार र त्यसको महत्वलाई उजागर गरेको छ ।



`पुरानो फोनको भुँडी फुटाएँ, सिम निकाले र आइफोनभित्र छिराएँ ।´ , `मरुभूमिमा प्राचिनकालदेखि निरन्तर बन्दै भत्कँदै गरेका बालुवाका ढिस्का झैं सास धकेल्ने उनका छातिका करङ ...´ , `ढुङ्गे पहाडको चिरा-चिरा चित्राङ्कित गालाका ...´ `आमाले घरलाई नङ्ग्राले उधिनिरहेकी थिइन् ।´ , `जंगबहादुरको भुइँ-छातीमा मैले सकारात्मकताको त्यो बगैचा देखें, जसमा रंङ्गीन फूल होइन , स्वयम् रङको जन्म हुन्थ्यो ।´ `मैले वाक्यको पहिलो शब्द ``हो र ...´´ `मानव क्रुरताको दस्तखत´ `यति लामो उचारण गरेको थिएँ कि , सायद पूर्ण वाक्यको करिब ५० प्रतिशत यसैले ओगटेको थियो होला ।´ लगभग वाक्यांशका हरेक कुनामा प्रयोग भएका यी र यस्ता सयौं-सयौं अलङ्कारले सुसोभित यस पुस्तकमा डा केसीमा केवल डा मात्र होइन , साहित्य चेतको त्यो तहसम्मको गहिराई छ जसमा डुबुल्की मार्न सबैजसो पृष्ठहरुमा बारंम्बर दोहोरी/तेहरी खेलौं-खेलौं लाग्छ ।

`आफ्नो कार्यलभित्र जागिर मात्र हुँदैन , धर्म पनि हुन्छ होला नि ! धर्म मारेर गरेको जागिरले के गर्ने ?´ पृ. १७९ मा नवराज भेडा पात्र मार्फत गरिएको यो बकपत्र सायद डा केसीका हजारौं वाक्यहरूको सार हुनसक्छ जसले मानिसको पेशागत मर्यादा र एक पेशेवरले अर्को पेशेवरलाई गनुपर्ने न्युनतम सम्मानको सुचक हो । नवराज एउटा यस्तो भेडा हुन, जसले स्वजीवन निर्माण गर्छन् , जसले बांच्नुको अर्थ ``बचाउनु हो´´ भन्ने गहन जीवन दर्शनको अर्थपूर्ण ब्याख्या गर्छन् र मृत्युलाई लत्याएर ``चराचर प्राणीका जीवनहरु´´ बचाउन सफल हुन्छन् । बुद्ध दर्शनका सम्यक् स्मृति र सम्यक् प्रयत्नको सम्मिलन्लाई मार्ग निर्देशक सिद्दान्त बनाई मानव जीवनमा यही चोलामा पटकपटक , धेरै पटक पुर्नजन्म हुन्छ । यसका लागि प्रयत्नमा हार होइन हारमा उर्जा आवश्यक हुन्छ भन्ने कठोर यथार्थलाई रीता बहिनीले आत्मसात् गरेको नवजीवनको विश्लेषण , र दुबै खुट्टा लुला भएका पोलियो रोगबाट पीडित भाइले समेत कसरी साइकल मात्र चलाएनन जीवन साइकललाई नै पुनर्जीवन दिए भन्ने कथामा हामी भिज्न सक्नुपर्छ । `मानिसलाई सबैभन्दा धेरै खुसी र निरोगीपन दिने - आफ्ना पृयजनसँगको सम्बन्ध पि रहेछ । (पृ. २४२)´ जीवन दर्शनको उत्कृष्ट हरफहरू मध्य एक उक्त हरफले समेटिएकी एक नारी यति समर्पित पात्र हुन जो आफ्नो कोखलाई काखमा राख्न पाउने स्त्री नैसर्गिकताले बन्चित त्यस्ती रिटायर्ड आमालाई प्रतिनिधित्व गर्छिन् , जसलाई अंकगणितीय उमेरले रिटायर्ड गरेता पनि जीवन दर्शनको सबैभन्दा ठुलो खुसी - आफन्तसँगको मायाले कहिल्यै रिटायर्ड हुन दिएन ।

डा केसीकै शब्द सापटी लिने हो भने पुस्तकको अन्तिम वाक्य लेख्न अत्यन्त गाह्रो हुन्छ - त्यसैले होला अन्तिम कथा लेखनमा समेत चुनौती लिएकै भेटिन्छ । अस्मिता वादीको कथा साच्चै नै क्लाइमेक्स कथा हो , जसलाई सामान्य रुपमा लेखिएको होइन । वादी समुदायको पिडालाई नजिकैबाट नचिहाएका आम पाठकले काल्पनिक कथाको रूपमा उभ्याउन सक्ने यो कथाले बाकी सबै कथाहरूलाई ओझेलमा पार्नसक्ने संभावनाको चुनौतीपूर्ण साहसमा लेखिएको कथा हो - अस्मिता । व्यक्तिगत रूपमा मलाई चाहि यो समस्या परेन किनकि सुदूर पुर्वमा हुर्किए पनि जीवनको एक कालखण्डमा झन्डै एक दशक तत्कालीन सुदूरपश्चिम र कर्णालीलाई चिहाउने मौका मैले पाइसकेकोले होला , सायद । दुइपाइला जमिन समेतको अधिकारबाट बन्चित समुदायलले भोगेका जीवनका अवरोहै अवरोहका बिचमा उभिएर पनि आरोहणमा सफल पात्रको कथा हो ।

एउटा यस्तो पुस्तक जो कागजका पानाले मात्र भरिएको हुन्न , जसमा जीवन जिउने कला होइन , स्वयं जीवन नै हुन्छ भने त्यो हो - स्वस्पर्श । कोमल हृदयबाहक पाठक पटकपटक ऐठनको तहमा पुग्छन् जब पात्रले आफ्नो कथाको उत्कर्शमा पुर्‍याउँछन । गैर-आख्यानलाई आख्यानको कलमले लेखिएको यो पुस्तक नेपाली साहित्य लेखनको नौलो प्रयोग हो । नव शब्द संयोजन , भावानुवादक वाक्य संरचना , हजारौं अलंकारको मिठाई बनेको छ । आफुले आफैंलाई आफ्नै लागि बाँच्ने जीवन नै जीवनशैली र जीवनशाला हो ।

फाइन पृन्टद्वारा २०८२ भदौमा बजारमा ल्याइएको यस पुस्तकको बजार मुल्य ६४० नेपाली रुपैयाँ तोकिएकोछ ।

Wednesday, November 19, 2025

(३८) तिमी प्रमुख-प्रतिपक्षी दलको नेता ।

जून !
तिमी प्रमुख-प्रतिपक्षी दलको नेता ,
तिमी बिना सरकार त चल्ला
तर संसद नि ?

तिमी बिना संसदीय समिति त चल्लान ,
तर संवैधानिक परिषद नि ?

तिमी बिना बजेट त आउला ,
तर बजेट कार्यान्वयन नि ?

तिमी बिना न्यायपालिका त चल्ला ,
तर न्यायपरिषद नि ?

तिमी बिना संसद त चल्ला ,
तर कार्य व्यवस्था समिति नि ?
त्यसैले , जून !
तिमी प्रमुख-प्रतिपक्षी दलको नेता ।

मैले पटक्कै मन नपराउने ,
तर मलाई नै नभै नहुने ।
मैले मेरो ठोस काम देखाउन ,
तिमी बाहेकले हुन्न ।
चाहे संसद नियमावली होस ,
कि चाहे संसदीय पात्रो ।
त्यसैले , जून !
तिमी प्रमुख-प्रतिपक्षी दलको नेता ।

तिमी प्रमुख प्रतिपक्षी दलको नेता बाहेक
अरू जोसुकै भैदिएको भए ...
मेरो कामलाई
संसदप्रति जवाहदेहि कस्ले बनाउने ?
मेरो परीक्षित कामको
संपरीक्षण कस्ले गर्ने ?
मैले पेश गरेको विधेयकको
पूरक विधेयक कस्ले ल्याउने ?
मेरो नीति-कार्यक्रमको
संशोधन प्रस्ताव कस्ले हाल्ने ?
मेरो भाषणको बजेटमा
खर्च कटौतीको प्रस्ताव कस्ले गर्ने ?
त्यसैले , जून !
तिमी प्रमुख-प्रतिपक्षी दलको नेता ।

तिमीलाई जनताले जनतान्त्रिक पद्धति मार्फत ...
बेल घेर्ने ,
नाराबाजी गर्ने ,
मर्यादित संसदलाई ,
मर्यादाको सिमाभित्र ,
अवरोध गर्ने देखि ,
वहिस्कार गर्ने सम्मको
अधिकार दिएका छन् ,
किनकि , जून !
तिमी प्रमुख-प्रतिपक्षी दलको नेता ।

कहिलेकाहीँ तिमी ...
राजनीतिक नियुक्तिको अंशवण्डामा
लुटपुटिएको देख्छु ,
विश्वविद्यालयको उपकुलपति देखि ,
क्याम्पस प्रमुखको कुर्सीसम्म ।
सामुदायिक बनको अध्यक्ष देखि ,
उपभोक्ता समितिको सदस्यसम्म ।
खानेपानी देखि कुलोपैनीसम्म ।
हाटबजारदेखि पशुबजारसम्म ।
तहै तहको चास्नीमा रमिरहँदा ,
लोकतान्त्रिक मतको
अवमूल्यन नगर ।
आफैंले सिफारिस गरेकाहरुले ,
काम बिगार्दा समेत
मुकदर्शक नबन ।
किनकि , जून !
तिमी प्रमुख-प्रतिपक्षी दलको नेता ।

(२०७९ माघ २९; धरान , रजनी १:०० आसपास )

(१) मानिस उखान-टुक्के: संवाद बकम्फुसे

(आज विद्यालयको कक्षा १०, ´´कोशी´´ सेक्सनकी एक छात्राले एउटा कथा सुनाउन अनुरोध गरिन । कहिलेकाहीँ कुनै-कुनै बिषय प्रसंग अनुरुपमा कथा सुनाउने कट्टेलसरलाई खासै कथा सुनाउने त इच्छा थिएन , तर आजकाल विद्यार्थीको जिद्दी अघि के नै गर्न सकिन्छ र ! अनि अल्छि-पाराले केहि न केहि त भन्नै पर्यो, त्यसपछि शुरु गरे , छेउ न टुप्पोको कथा ।)

ऊ कार्यलयबाट भर्खर घर आइपुगेको छ ।

के ट्वाल्ल परेर हेरेको ? उसले सोध्यो । हैन किन च्यांठिनु ? उनले थपक्कै फर्काइन । खायो ढिडो , हल्लियो हिड्यो , कति मजा है तिम्लाइ ! उनले वचन लगाइन । हो नि ! म त काम न काज , खाने बेलामा लाज भएको मान्छे ! उसले व्यंग्य कस्यो ! अल्छी तिघ्रो , स्वादे जिब्रोले बोल्ने यस्तै त हो , उनी झन चर्किइन । हो त नि ! अल्छीले जति कसैले जान्दैनन् भन्ने थाह छैन र ! ऊ अझै रौसिन थाल्यो । ईख बिनाको मान्छे र बिष बिनाको सर्प के काम , अब इलम गर , उनले आखा तरिन । भो भो , अजिङ्गरको आहरा दैवले पुर्याउछन , ऊ ठट्यौलीमा लाग्यो । घर चलाउन कस्तो हुन्छ , अचानोको पीर खुकुरीलाई के थाहा उनले रिस पोखिन ।त्यही त , तिमी नै हनुमान , तिम्रै पुच्छरमा घिउ दलेको टालो बांधेको, तिमीले नै लङ्का जलाको , उसले मौकामा चौका हान्यो । हो हो , तिम्रो त जिब्रो चिप्लो , मन भने कालो क्या, उनले आँखा कर्काइन । तिमी त बत्तीस लक्षण कि खोज्दा नि नपाइने , कसैलाई नि नचाहिने ऊ अझै जोसियो । आज तलब आउने दिन, मिठो-मसिनो केही ल्याए होला भन्यो , हात्ती आयो हात्ती आयो फुस्स, उनले दुखेसो पोखिन । एटीएम कार्ड तिमीलाई नै देको छु त , बादरको हातमा नरिबल बनाको छ, अहिले जिब्रो फट्कार्नु पर्ने ! उसले शब्द वाण तेर्स्यायो । तिमीसंग बोलेर के सक्नु , आलु खाइ पेडाको धाक लाउने बानी परेकै छ, उनको कन्पारो तातो । हो हो , अरुले घोडा चढेको देखेर आफू धुरी नचढ्नु , है भन्दा एक कानले सुनेर अर्कोले उढाउने को हो , उसले पनि दियो दनक !

ए साच्चि ! बा-आमा भेट्न गाउँ जाउं न, डाडामाथिको जुन भैसक्नु भो , उनले कुरा कोट्याइन । कसैलाई के धन्दा , घरज्वाइंलाइ खानकै धन्दा , ऊ झर्कियो । यही त होला नि आमाबाबुको मन छोराछोरी माथि , छोराछोरीको मन ढुङ्गा-मुडा माथी उनले ओठे जवाफ लाइन । पोहोर साल बाले बिना सित्ती धान खाने मुसो, चोट पाउने भ्यागुतो बनाएपछि मेरो मन भाच्चिएको छ, उसले वेदना पोख्यो । होइन नि ! बा ले छोरी कुटी बुहारी तर्साको पनि हुन सक्दैन र ? उनले कुरा मिलाउन खोजिन । खुबै ! आफ्नो दिउँ त मरिजाउं , अर्काको पाउं त चारमाना खाउं खालका आफन्त छन गाउँमा, तिमी धेरै पुराण नलगाई बस , ऊ त झनै तात्तियो । अर्ती र ओखती तितो हुन्छ क्या , उनले संम्हाल्न खोजिन । जो होचो , उसको मुखमा घोचो , किन गरे त बा ले ! ऊ त बर्बराउन पो थाल्यो । यसरी तिललाई पहाड नबनाउ, बा ले पनि मुखमा राम-राम , बगलीमा छुरा गर्‍या होइन होला त, उनले सुझबुझ देखाउंदै कुरा मोडिन , बिनाकारण लहरो तान्दा , पहरो गर्ज्यो ।

खाजा के छ ? उसले चर्को स्वरमा सोध्यो । पहिला लुगाफाटो धोऔं न , उनले काम तेर्स्याइन । अघाएको भन्छ डाडापारी खांउ , भोकाएको भन्छ डाडावारी खांउ , उसले आँखा राता पार्‍दै लुगा धुन सघाउन थाल्यो । एकैछिनमा ऊ च्यापुमा हात लाएर बस्यो । किन नुन खाको कुखुरा जस्तो झोक्राको, उनले सोधिन । जागीर पनि नखाउं भने दिनभरको शिकार , खाउं भने कान्छा बाउको अनुहार भा´छ , उसले वेदना पोख्यो । त्यसो भन्नू हुन्न, न मामा भन्दा , ... मामा बेस, उनले ढाडस दिन खोजिन । होइन हौ , यस्तै ताल हो भने त धोबिको कुकुर , घरको न घाटको भइने भो नि , ऊ अझै निरासिन थाल्यो । ह्या !! छोडिदेउ यी सब कुरा , उसैले कुरा मोड्यो ।

संगत गुनाको बुद्धि , बिउ गुनाको फल , भन्छन् , नानी खोइ त ? छोरीको बारेमा चासो राख्यो । त्यसलाई नि तातो पिँडालु , निल्नु न ओकल्नु भा छ , नयाँ स्कुल , होमवर्कको राश ! उनले नाक खुम्च्याइन । तरबार भन्दा कलम बलियो भन्छन् , पढोस न त , अलिकति सकारात्मक सास फेर्‍यो उसले ।

केहि क्षणमा सिङ्गार-पटार गरेर सानी नानी बाहिर निस्की, हे कली ! धपक्कै बली , बाउको नली छोराको मुरली ! उसले दाह्रा किट्यो । होमवर्क गर्न बसेकी छोरी यसरी बाहिर आउँदा कस्को पो टाउको तात्दैन र !आकाशमा थुकी, मुखमा छिटा, होला नि फेरि! झिल्के भएर हिडेनेकी छोरी न परी , खेल्न जाने रे क्या ! उनले व्यंग्यात्मक ठट्यौली पारामा चोसो फिजाइन । भो भो , धेर छोरीलाई टाउकोमा नटेकाउ, अनिकालमा बीउ र हुलमुलमा जीउ जोगाउनुपर्छ , उसले थप्यो । आफ्नो थैलीको मुख बलियो बाध्नु , साथीलाई चोर भन्नै पर्दैन भन्ने त कानमा पर्‍या होला नि ! उसले शंकाको घेरा लगायो । ह्या ! शंकाले लङ्का जलाको राम्रो होइन क्या , जंगली काडालाई तिखार्नु पर्दैन , हाम्री नानी हुने बिरुवाको चिल्लो पात हुन् , उनले आफ्नो छोरीमा भरोसा जताइन । कहिलेकाही नपत्याउने खोलाले बगाउँछ भन्ने मात्रै मेरो कुरो , ऊ सम्हालियो । बाह्रवर्ष ढुङ्ग्रामा हाल्यो , कुकुरको पुच्छर बाङ्गै , हाम्रो बाबा कहिल्यै चेन्ज नहुने , सानीले पनि एक दनक दिएर खेल्न हिडी । हाहाहाहा ! देख्नुभो , खुकुरी भन्दा कर्द लाग्ने , उनको हासोको फोहोरा छुट्यो । जस्तालाई तस्तै , ढिडालाई निस्तै पो दिएर गै त ! उसले पनि टाउको हल्लाउनै पर्‍यो ।

गफैगफमा लुगा नि धोइयो , उनले भित्रबाट अलिकति दहि-चिउरा ल्याइन, खाजको रुपमा । यो के ल्याएको , हात्तीको मुखमा जीरा , उसलाई खाजामा आँखा लागेन । पैसा न कौडी , बजार बजार दौडी , मनग्गे खान त हुनुपर्‍यो नि पोल्टामा , उनले भुइँमा वचन खस्न दिइनन । भोलि खेती तिर जाउं न , सागसब्वी नि ल्याउं , बा-आमालाई नि भेटौं , एक पन्थ , दुई काज उनले फेरि अघिको कुरा कोट्याइन । म गर्छु आग्राको कुरा, तिमी गर्छौ गाग्राको कुरा , ऊ झनक्क झन्कियो । यो पशुपतिको यात्रा , सिद्राको ब्यापार गर्न त तिमीलाई कस्ले पो सक्छ र ! भाइ फुटे , गंवार लुटे त थाहा होला नि ! यसरी अगुल्टोले हानेको कुकुर बिजुली चम्कदा तर्सिनु हुँदैन । अघिको तितो , पछिको मिठो बिर्सनु हुन्न, उनले कुरा सपार्न थालिन । आफन्त जति सबै उल्फाको धन , फुपूको श्राद्द गरेर बस्या छन , यो कामकुरो एकातिर , कुम्लो बोकी ठिमीतिर , मलाई चाहिँ चित्त बुझेन , उसले अझै आफ्नो जिद्दी छोड्ने छाट देखिन्न । कहिलेकाही दिसा पुछेर फालेको काठ पनि काम लाग्छ , यसरी हामीले लत्तो छोड्यो भने त उनीहरूलाई कुचोले बढार्नुपर्ने कसिङ्गर हावाले उडाइदिनु झै भैहाल्छ नि ! केहि पाउन , केहि गुमाउनु नि पर्छ ! अब ढिलो नगरौं , काम सांची आफुलाई , खान सांची अरुलाई भन्छन् । अब कानमा तेल हालेर नबसौं ,यसरी भदौमा आँखा फुटेको गोरुले सधैं हरियो देखेर बस्नु त भएन नि । अहिले गाउँमा चुनावमा गएको बहाना पनि हुन्छ , नत्र पोहोर मरिन सासू , अहिले आए आशु हुन के बेर ! उनको हतारमा आशंका देखिन्थ्यो !

सजीव देवता भेट्न जाने कुरामा के को आलटाल , यो त अल्प ज्ञान भयंकर सरह भै गो नि । धेरैबेरको मौनतापछि उसले मन बदल्यो । सुन त, अकबरी सुनलाई कसी लाउनु पर्दैन क्या , अघि त मैले तिम्रो मन पो चोर्‍या त , अब बेर नगरौं , जाउँ गाउँ । उसका कुराले उनको मन फुरुङ्ग भयो , हतार-हतार पोको पन्तुरो बाध्न थालीन । हतपतको काम लतपत होला है , उसले सम्झाउने प्रयास गर्‍यो । भो भो, नमच्चिने पिङको सय झट्का, कत्ति न आफु चाहिँ सधैं दुधले नुहाउने जस्तो । ठट्यौली पारामा उनले कामलाई निरन्तरता दिइन । गाउँ पुगेर फेरि बस्न पाँए भन्दैमा थ्याच्च नबस्नु, बोल्न पाँए भन्दैमा प्याच्च नबोल्नु , खान पाँए भन्दैमा क्वाप्प नखानु नि ! उनले सावधानी अपनाउने बाटो देखाइन । इन्द्रको अगाडि स्वर्गको बखान नगर न हौ , जन्मेर हुर्केको गाउँ हो त्यो मेरो , अतिको नतिजा खति हुन्छ भन्ने मलाई राम्रोसँग ज्ञान छ क्या ! उसले आफ्नै खुट्टामा बन्चरो नहान्ने बाचा गर्‍यो । कहिलेकाहीँ त तिमी आफ्नो आङको भैंसी नदेखी अरुको आङको जुम्रो देख्छौ , र पो सम्झाको त ! मलाई अर्काको घरको खीर भन्दा आफ्नै घरको ढिंडो मीठो लाग्छ । अब म गाउँमा कुनै उपद्रव मच्चाउने छैन , उसले आस्वस्त पार्यो । के थाहा , आँखा लोभी मन पापी भन्छन् , लागेको पुरानो आदत बल्झिने पो हो कि भन्ने पिर नि , उनको शंका कायमै थियो । छोड्देउ यी सब कुरा, अब मलाई आफुले खनेको खाल्डोमा आफैं पर्नु छैन , ऊ अझै आफुलाई साधु सावित गर्नमै ब्यस्त थियो ।

अधि खेल्न निस्किएकी छोरी हातमा बढेमानको बलुन, चिजबल , कुरकुरे ... लिएर फर्कि । हेर त, आम्दानी आठानी खर्छ रुपियाँ, खेल्न गको मान्छे पसलै उठाएर आउछन् त , उसले छोरीलाई अलि चर्को स्वरमा सम्झाउने प्रयत्न गर्‍यो । पसलको आन्टी मोबाईलमा बिजी हुनुहुन्थ्यो , जे जे चाहिन्छ लैजाउ भन्नुभो , आफ्नो हात जगन्नाथ , मैले पनि मनपर्ने सबै उठाएँ , उखानेकी छोरीले उखानमै जवाफ फर्काई ।

छोरी ! भित्र गएर अर्को कपडा लगाउ, आज हामी गाउँ जाने बुबा-आमा भेट्न । आमाको कुराले खुशी भएकी छोरीका भुइँमा खुट्टा थिएनन् । उमेरमा त्यति ठुली नभए नि छोरी नयाँ लुगा , यात्रा , श्रृङ्गार-पटार भनेपछि अलि बढी नै उत्ताउली बन्छे । एकैछिनमा सानी चिरिच्याट्ट परेर बाहिर निस्की , म कत्तिको राम्री भएँ ? , कसैले तपाईं भनोस नभनोस , आफैं मपाईं शैलीमा आमालाई प्रश्न गरी । कस्तुरीलाई सुंघिरहनु पर्दैन छोरी, उनले ट्वाक्कै उत्तर दिइन् । कच्चा वैद्यको मात्रा , यमपुरीको यात्रा होला है नानी ! उमृदैको तीनपाते बनेर आमाको मेकअपका सामान धेर नघस है , उसले सम्झाउने शैलीमा कुरा लग्यो । मामु पनि , बाबा पनि , खाली गाली मात्रै गर्ने ? ओरालो लागेको बाछालाई मृगले पनि लखेट्छ है , सानीले पनि लगाई ओठे जवाफ । आखिर छोरी कस्की ? उखानेकी ! हाहाहा !

कुरैकुरामा उनीहरूका पोकापन्तुरा तयार भए । अघिपछि स्याहार , चोर आउने दिन बिस्याहार होला है , उसले झ्याल-ढोका राम्रोसँग लागे नलागेको एकिन गर्न खोज्यो । भान्साकोठाको झ्यालको छिड्किनी बिग्रेको रैछ , मैले त डोरीले बाँधे , अडको पड्को तेलको धुप, उनले कुरा नलुकाइ बताइन् ।

हतार-हतारमा निस्कने सुरसारमा बस बिसौनी पुगे । परबाट एउटा चिटिक्क परेको गाडी आयो , हर्न बजाउँदै । यसो चढन खोजेको त पुरै भरिभराउ , आसलाग्दो केटो जेठाजु पर्‍यो , अब कसरी जाने होला , उसले कन्पारोमा हात राख्यो । एकछिन पर्खैं न , काठमाडौबाट आउने नाइट कहिलेकाहीँ त खाली नै आउँछ हौ गाउँतिरको , उनले आशा राखिन । मनको लड्डु घिउसँह खाउ , पर्खिंदा पर्खिंदा घामले टाउको फुटाउने भैसक्यो , कतिबेला आउँछ तिम्रो नाइट , लगन पछिको पोते । यत्तिकैमा एउटा माइक्रोबस आयो, दुइटा सीट खाली लिएर , मौका आउँछ पर्खदैन, बग्या खोला फर्कदैन , हत्तपत्त चढे , गाउँको यात्राको लागि ।

गाउँको घच्याकघुच्चुक बाटो , हुइँकियो माइक्रो । अलिबेरमा एउटा ब्यारियल तेर्सियो , पालिका कर रे , कहिँ नभएको जात्रा हाँडीगाउँमा , कति ठाउँमा , के-के कर हो , के-के कर । यातायात कार्यलयमा वार्षिक कर तिरेपछि त हुनुपर्ने होईन र ?! एउटाको जरा नउखेली अर्काको पात सपृन्न भन्थे हो रैछ , हामीले पाइलैपिच्छे कर नतिरे त नेताको मुखमा माड लाग्दैन क्यारे । उसले उनीसँग गरेको कुरा सुनिरहेको स्टकोट धारी नेता जस्तै देखिने अर्को सिटमा बसिरहेको मानिसलाई चित्त बुझेनछ , फ्याट्टै बोलिहाल्यो , ए भाइ ! यसरी सबैलाई एउटै टोकरीमा नहाल्नु है कान छाम्नु छैन कागको पछि दगुरेर केही हुन्न । हरे शिव ! एउटा कुहिएको आलुले सारा बोरा कुहाउछ भनेको यही होला , कसले कति गल्ती गर्‍यो दोसजति सबै नेता कार्यकर्तालाई ! नेताको कुराले उसलाई झन चुर्मुर्यायो , एक पटकको चोर सदा दिनको चोर , देश बनाउने कसम खाएकाले एक थुकी सुकी , सय थुकी नदी शैलीमा काम गर्नको साटो औंला दिंदा डुडुँलो निले झैं बजेट झ्वाम पार्नुपर्छ त ? नत्र यो बाटो यस्तै हुन्थ्यो , कुरा गर्‍यो कुरैको दु:ख । जनताको कुरा कसैले सुने पो । अरु देशका नेता आँखामा हाल्दा नबिझाउने हुन्छन् , हाम्रो देशका त हेर न , काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ , उसले भएभरको आक्रोश ओकल्न थाल्यो । पर अर्को सिटमा बसीरहेको अधबैंसेले पनि हो मा हो मिलाउँदै काटेको घाउमा नुन-चुक छर्कियो ।

लोग्नेको पारो अनायासै तातेको थाहा पाएपछि उनले कुरा मोढ्ने प्रयास गरिन , तीललाई पहाड नबनाउनु न । टाढाको देउता भन्दा नजिकैको भुत काम लाग्छ , उहाँ हाम्रै गाउँको समाजसेवी जस्तो देखिनुहुन्छ । उनको सान्त्वनायुक्त कुराले नेताजीको अलि सास आए जस्तो देखिन्थ्यो । हेर्नुस् सर , खाएको विष पो लाग्छ , तपाई त्यसै त्यसै पड्केको देख्दा लाग्छ , नबर्सिने मेघ गर्झिन्छ धेर । नेता जीको व्यंग्यले उसलाई झन जोस्यायो , जो चोर , उसकै ठुलो स्वर! हेर्नुस् , टल्किदैमा सबै चिज सुन हुँदैनन , राम्रो काम गर्ने नेता पाउनु भनेको स्यालको सिङ्ग समात्नु जस्तै हो , ऊ रोकिने छाँटकाँटमा थिएन । गाडीभित्रको माहोल बिग्रदै गएपछि भने उनले हस्तक्षेप गर्ने बिचार गरिन । लोग्नेको कान सुटुक्क फुकिन , दशा बाजा बजाएर आउँदैन, अब भो , धेर बहस नगरीकन बस्नुस, यी नेताले के-के गर्या छ्न / छैनन् त गाउँ पुगेर हेरेपछि दुधको दूध, पानीको पानी भैहाल्छ नि । तपाईंलाई यहाँ कसैले पाती लाइदिंदैन , चुप लाग्नुस, नबोल्नेले सधैं जित्छ । थाहा छ त तपाईंलाई , सबैजना धमिलो पानीमा माछा मार्न खप्पिस हुन्छन् । अहिले माहोल बिगारेर हात हालाहाल भयो भने ... रिसमा कसैले पनि वेद पडदैन ।

श्रीमतीका कुराले ऊ केही शान्त बन्यो , नेता जीले अर्कोतिर मुन्टो बटारे , तर गाडीको पछाडिको सिटमा बसेर कानमा तारको ठेडी कोचिरहेको नवयुवालाई यो सब बहस कानो गोरुलाई औंसी न पुर्णे जस्तो भैरहेको थियो । हुन त कुखुरा नबास्ने गाउँमा पनि उज्यालो त हुन्छ नै , त्यसैले कागलाई बेल पाक्यो , हर्ष न बिष्मात शैलीमा बसेको होला ऊ ।

(ट्यार्‍ररररर घण्टी बज्यो, कक्षा सकिएको जानकारीका लागि । कट्टेल सर कथानक, पात्र , समय सन्दर्भ , समस्या कथन , समाधान आदि इत्यादी केहि नभएको ‘भनाउँदो कथा’ सकिएको जानकारी दिएर कक्षाबाट निस्कन लागेका थिए, फेरि उनै छात्राले प्रश्न गरिन ``सर! यति धेरै उखान कहाँ सिक्नुभयो ?´´ नानी ! मैले यी सबै उखानहरु `हजुरआमा विश्वविद्यालय´मा सिकेको हुँ , हजुरआमा विश्वविद्यालयमा सिकेको शिक्षाको प्रमाणपत्र त हुन्न , तर जीवनोपयोगी दर्शन , ब्यबहारिक सीप , सामाजिक चेत , पारिवारिक संस्कार , मानवीय संबेदनशीलता र भावनात्मक एकताको सुत्र भने भेटिन्छ ।´´ कट्टेल सरका कुरा कति बुझिन कुन्नी , अर्को पिरियड शुरु हुँदा समेत उनी अघिल्लो पिरियडकै धङधङीमा रुमल्लिरहेकी देखिन्थिन । सायद कट्टेलसरले कथाका तत्वहरु समेटिएको मिठो कथाको सट्टा उखान टुक्कालाई वाक्यमा प्रयोग गर्ने प्रयास गरेको उनले बुझिन कि?!?!)

- २०८२ मंसिर ०३, धरान ।

Tuesday, November 18, 2025

(१०) फातसुङ : सपना समेत सहिद भएको कथा

`मान्छेका वरिपरि तीन किसिमका मान्छे हुन्छन् । कोहि पात जस्ता हुन्छन् , हावा आए उडेर गइदिन्छन । कोहि हाँगा जस्ता हुन्छन् , हुन्डरीमा भाँच्चिइदिन्छन । कोहि जरा जस्ता हुन्छन् , जसले जस्तै हावाहुन्डरीमा पनि उभिन सिकाइरहन्छन ।´

पहिला दोश्रो त्यसपछि पहिलो प्राथमिकता क्रममा छुदेन काविमोसंग आख्यानमुर्त भेटघाट गर्ने सिलसिलामा , उपन्यासको भुमिका मै लेखक स्वयंले उजागर गरेको उक्त अनुच्छेद फातसुङ पढेर सकिन्जेल हर क्षण दिमागमा घुमिरह्यो । सन २०१८ मै प्रकाशित भएता अनि उरमालको मदन पुरस्कार यात्रा पछि पढिनुपर्ने लेखकको सुचीमा परेका रैथाने कथाका खप्पिस लेखक काविमोको फातसुङ बल्ल पढ्ने समय मिल्यो ।

फातसुङ´ अर्थात् `माटोको कथा´। उपन्यासको नामाकरणले नै राजनीतिक उपन्यासको गन्ध दिएको फातसुङ एउटा यस्तो सामाजिक राजनीतिक उपन्यास हो जसले अङ्ग्रेजको आगमन सँगै मासिएको मेची वारी-पारी बसोबास गरिरहेका लाप्चेहरूको भाषा , संकृति , र आफ्नो पहिचानको आन्दोलनको कथाका थुङ्गाहरुलाई सुन्दर मालामा बुनेको छ ।

`फातसुङ´ नै उप शिर्षकमा शुरु भएको यो उपन्यासको पहिलो च्यापटरले नै सोच्न वाध्य बनाउँँछ - प्राकृतिक बिपत्ति पनि राजनीतिको सिकार बन्न सक्छ ? कसैले बिपत्तिमा ज्यान गुमाए पनि राज्यको नजरमा ऊ किन मर्दैन - किनकि राज्य क्षतिपूर्ति दिन नपरोस् भन्छ । अर्कोतर्फ , कुनै पनि परिवारमा आर्थिक रुपमा सवल मानिसको मृत्यु केवल मृत्यु मात्र होइन उक्त परिवारको सर्वस्व जानु पनि हो भन्ने स्वउत्तरित प्रश्न र गहिरो मानवीय समवेदनशीलको उजागर गर्दै उपन्यास सलल बग्छ -टिस्टा जस्तै ।

उपन्यासको प्रारब्धमै खोतलिएको साइँला बाजेको उपकथाले कसरी खासगरी मेची पारीका सुदूर गाउँमा बस्ने आदिवासीहरुले खानपिनको स्वरुपमा जमिनदारबाट जमिनस्याहारमा परिणत भए भन्ने यथार्थका वरिपरि पस्ने प्रयास गरेको देखिन्छ , जसभित्र मानिसले किन सपना चाहिँ देख्नैपर्छ भन्ने मुल कथालाई अघि बढाइएको देखिन्छ । यसैगरी , आर्थिक बिपन्नताले पिरोलिएको समाजमा राजनीतिक बिचारको खेती सहजै सपृन्छ भन्ने गोप्य राजनीतिक सिद्धान्तको लाक्षणिक बयान गर्न काविमोले तत्कालीन समयमा कालिङ्पोङ र दार्जिलिङ आसपासमा भएको गोर्खा राष्ट्रिय मुक्ति मोर्च(गोरामुमो)को संगठन बिस्तारको क्रममा भएक घटना/परिघटनाको मसिनो ब्याख्याबाट प्रष्ट पारेका छन । पानी धारा र संविधानको धाराको फरक समेत छुट्याउन नसक्ने मानिस समेत राजनीतिक आन्दोलनको भेलमा होमिएका हुन्छन् भन्ने कुरा उपन्यासको यो वाक्यांशले प्रष्ट पार्छ । `` बजारमा धारा १४४ लागेको छ रे , पानीको दु:ख त हामीलाई पनि उस्तै हो ...´ बोजुले खोक्दै भनिन ।´ (पृ ४५) `सुर्यले मनमनै सोधे , ``यो धारा १४४ भनेको पानीकै धारा हो र भन्या ?´´(पृ ४५) ।

तत्कालीन गोर्खाल्यान्ड आन्दोलनको जगमा लेखिएको भएता पनि फातसुङले वर्तमान नेपाली राजनीति भित्रको छिचिर्‍याइँ-फोहोर्‍याइँँको मापदण्ड कायम राखेर विश्लेशणात्मक टिप्पणी गरेकोछ । खासगरी भुमिगत स्वरुपको राजनीतिमा इमानदारीता संगै कलंकित पात्रहरू समेत हुन्छन् जसले स्वार्थमा लिप्त भएर आस्था र सपनामा लात हान्छ्न । `कोही स्यार्पीलाई ठेगाना दिने आन्दोलनकारी छ । कोही एनबीको दलाली गर्नेहरू छन । अब हामीले कसको विश्वास गर्ने ? (पृ. १२४) ।´

साहित्य जहिले पढे पनि कुनै न कुनै स्वरुपमा सान्दर्भिक नै हुन्छ । `तीन दिन । पूरा तीन दिनपछि पानी रोकियो । बर्षा रोकिदैमा के हुन्थ्यो र ? त्यसपछि अर्को बित्यास शुरु भयो । आकाशको पानीले जसजसलाई बगाएन , तीतीलाई छान्दै बगाउन थाल्यो, आँखाको पानीले (पृ. ६१) ।´ यी हरफले ठ्याक्कै आख्यानमै देखाए झैं गतबर्ष र यसपालिको बेमौसमी झरी र त्यसले निम्त्याएको बित्यासको याद दिलायो नै । त्यतिमात्र नभै सन १९६८ अर्थात् बि. स. २०२५ सालको असोजमा नेपालको पुर्वी भुभाग र कर्साङ , दार्जीलिङ क्षेत्रमा आएको बिनासकारी बाढी-पहिरोको बर्णन समेतलाई फातसुङले छोटकरीमा समेटेकोछ ।

पढ्दै जाँदा लाछिरिङ्ले खोतलेको मेची पारीका ठाउँका नामाकरणसंग जोडिएका लेप्चा भाषाका शब्द र अर्थ निकै चाखलाग्दा र ज्ञानवर्दक छन । `खासमा यो पेसोक होइन नि , पोजोक हो पोजोक । लेप्चा भाषामा जंगल भनेको नि । अन्त त्यो टिस्टा पनि होइन । खासैमा चाहि थि सथा हो क्या त । खरसाङ भनेको चाहिं सेतो सुनाखरीको फूल हो क्या त । (पृ. ६५) ।´

राजनीतिक आस्थाकै आधारमा घर-परिवार सब थोक सिद्दिएको साथै जतिसुकै कठोर राजनीतिक आदर्श बोकेको किन नहोस् , मानिसमा कोमल हृदय पनि हुन्छ भन्ने मनोबैज्ञानिक अभिव्यक्ति दिन पनि उपन्यासकार पछि परेका छैनन् । नोर्देन र रिपपन्दी बिचको प्रेम देखाउन लेखिएका यी वाक्यांश यसको यथेष्ट प्रमाण हुन । `धारा ७ छापिंदै गर्दा हो , रिपपन्दी र ऊ बिच मनको सन्धि भएको । ... छुन नपाएको सपना र बोल्न नपाएको प्रेम कहिल्यै मर्दैन (पृ. ९०) ।´ साथै , सुर्य र पुनम बिचको अव्यक्त प्रेमको परिचर्चाले समेत उल्लेखित कुरामा प्रष्ट्याइँ गर्छ । `सुर्यले बम भुले । सिआरपिएफ भुले । भत्काउनुपर्ने पुल भुले । पुनमको आँखाको डिलमा आफ्नो आँखाको डिल राखे र मनमनै नयाँ पुल जोडे (पृ. ९९) ।´ अविरल राजनीति चलि रहेपनि मानिसमा रहेको प्रेम संगसगै नै यात्रा गरिरहन्छ ।

ईमानको राजनीति गर्नेहरू कसरी आर्थिक र पारिवारिक रुपमा छिन्नभिन्न हुन्छन् भन्ने कुरा , सहिद रामप्रसाद तामाङको कथाले प्रष्ट मात्रै पार्दन कि राजनीति भित्र हुने गुट , उपगुट तथा यौन शोषण हुने कारण र परिस्थिति समेतको परिसूचन गर्छ ।

समग्रमा , मित्रता , राजनीति , प्रेम , समाज , पहिचान , र सपनाको कथा हो - फातसुङ । हरेक उप-शिर्षक काव्यिक शब्दावलीको मालाबाट शुरू हुने यो उपन्यास मेची पारी बोलिने ठेट नेपाली भाषामा लेखिएको सशक्त कृति हो । सरल भाषाशैलीमा रम्दै अघि बढ्ने आख्यानप्रेमीको नजरमा पर्ने फातसुङ फाइन पृन्ट्सले नेपाली बजारमा ल्याएको छ भने यसमा १५० पृष्ठ छ्न , जसको बजार मुल्य नेपाली रूपैयाँ ३००/- तोकिएकोछ ।

- २०८२ कार्तिक २६ , धरान ।

(९) यो झापालीको नजरमा `त्यो झापा´

`इतिहास बखान नभै , संबंधित कालखण्डका व्यक्तित्वहरूको बयान हो´ भन्ने मुल मर्मलाई आत्मसात गर्दै झापाका अग्रज पत्रकार एवं इतिहास खोतल्न खप्पिस लेखक , तीर्थ सिग्देलद्वारा लेखिएको पछिल्लो अनुसन्धानात्मक ऐतिहासिक कृति हो - त्यो झापा । `औलोको प्रकोप , बसाइँसराइ र भुमिसुधार´ उप शिर्षक राखेर पुस्तकाकार दिइएको यो गैर आख्यान कृति हो । `झापा´ शब्दको शाब्दिक अर्थदेखि शुरु भएको यो पुस्तकले नेपालको प्रशासनिक बिभाजन इतिहासको ३६औं जिल्ला , झापा बनेको तथ्यबाट आफुलाई पाठकसामु प्रस्तुत गरेको छ । त्यो झापाका मुख्य आदिवासी (सन्थाल, किसान , मेचे, राजवंशी , गनगाई , ताजपुरिया , धिमाल आदि) हरुको तत्कालीन जीवनशैली र जीवनस्तरको चर्चा-परिचर्चा गर्न लेखकले निकै मिहिनेत गरेको देखिन्छ । साथसाथै उनीहरुको बुद्धिमानी जीवनशैलीमा तत्कालीन पहाडबाट आप्रवासन हुनेहरूको विवेकशील प्रभाव र अन्तरसम्बन्धको बुनाइले कसरी आदिवासीहरूको जीवनशैलीमा परिवर्तन ल्यायो र उनीहरू कसरी क्रमशः आर्थिक रुपमा सवलबाट कमजोर हुँदै गए भन्ने जल्दोबल्दो अनुसंधान मूलक बिषयमा समेत सिग्देल घोत्लिएपछि बनेको छ - त्यो झापा ।

वर्तमान भनेको इतिहासको उपज हो । यसको अर्थ यो पनि होइन कि प्राचीन इतिहास नै सर्वोच्च इतिहास हो । वर्तमानको प्रत्यक्ष संबन्ध भनेको भर्खरै (४०/५०) बर्षको आसपासका घटना/परिघटनाहरूमा अन्तरसम्बन्धित हुन्छ । यही यथार्थमा टेकेर लेखिएको `त्यो झापा ´ , प्रथम दृष्टिकोणले बोलिएका वाक्यहरुको संगालो हो ।लामो समय पत्रकारिताको माध्यमबाट खोजमूलक सामाग्री पस्किन खप्पिस सिग्देलले अन्तर्वार्ता प्रकाशनकै परिस्कृत शैलीमा पुस्तक प्रकाशन गर्नु नेपाली गैर आख्यान लेखनमा एउटा नौलो अभ्यास समेत देखिएको छ ।

बेलाको पल्लो किराँत र लिम्बुवान तथा बिजयपुरको इतिहाससंग तत्कालीन अवस्थामा झापाको कस्तो अन्तरसंबन्ध थियो भन्ने कुरामा लेखकले जानकारहरुबाट सकेसम्म खोतल्न सफल भएको देखिन्छ । उल्लेखित राज्यहरु नेपाल एकीकरण अभियानमा समाहित भएपश्चात खासगरी हालको झापा क्षेत्रमा कस्तो राजनीतिक प्रभाव रह्यो भन्ने तर्फ विशेष बयान दिंदै पुस्तकले हाल आएर `महेन्द्रवादी राष्ट्रवाद´ नामले राजनीति अवधारणा लिएको राज्यको नीतिको तत्कालीन आवश्यकता र बस्तुनिष्ठ अन्तर्यको मसिनो विश्लेषण गर्नु अर्को महत्त्वपूर्ण पाटो हो ।

तत्कालीन झापाको कर प्रणाली र जमिन्दारी प्रथाको चिरोफारो गर्दै पुस्तकले खासगरी राणा शासनको समयमा नेपालका उर्वर भुमिमा हुने गरेको असमान कर प्रणालीको बस्तुनिष्ठ बयान दिएको देखिन्छ । साथसाथै उक्त कर प्रणालीले आजित भई कतिपय जमिनदार र किसान समेत बसाइँसराइको अवस्थामा पुग्नुपरेको कुरा , बयान पढ्दै जाँदा भेटिने तथ्य हुन । यसबाट तत्कालीन झापामा आप्रवासन मात्र नभै विप्रवासन समेत थियो भन्ने तथ्य उजागर गर्छ ।

हालको झापाको खासगरी माइ पश्चिम भनेर चिनिने भुभागमा राज्यको नजर तुलनात्मक कम परेको कारण समेत घुमाउरो रूपमा खोतल्ने प्रयास भएकोछ । यो कुराको पुष्टि तत्कालीन अवस्थामा मेची राजमार्ग निर्माण गर्न रेखाङ्कनको सवालमा भएका रस्साकस्सीका राजनीतिको चिरफारबाट प्रष्ट हुन्छ । यतिमात्र नभै, हालको दमक-चिसापानी (फाल्गुनन्द) कच्ची राजमार्गलाइ उतिबेला नै मेची राजमार्गको रुपमा निर्माण गर्न पदम सुन्दर लावतीले लिएको अडान र उक्त अडान निस्तेज पार्न पहुँचवालाहरुको बोलवालाको वेलिविस्तार समेतलाई पुस्तकले समेट्ने प्रयास गरेको देखिन्छ ।

राजवंशी भाषामा `बाडी´शब्दसँग जोडिएका ठाउँका नामहरु(बालुबाडी, धुलाबाडी/बारी, जात्रुबाडी, चैतुबारी/बाडी आदि)को ऐतिहासिक पृष्ठभुमि तथा झापाका प्रमुख ठाउँहरु(शिवगन्ज, राजघाट, राजगढ, सैनिक मोड, बिर्ता बजार , भद्रपुर आदि)को मसिनो इतिहास खोतलेको यो पुस्तकमा हालका झापालीहरुले आफू बसिरहेको ठाउँको नामाकरणको इतिहास बुझ्न सक्नेछन् ।

त्यो (आधुनिक) झापा निर्माणका प्रत्यक्ष ३२+२=३४(२ जना आसाममा बसोबास गरिरहेका र झापासँग परोक्ष रुपमा जोडिएका)जना हिस्सेदारहरूको बयानलाई जस्ताको तस्तै उतारिएको यो पुस्तकले प्राचीन झापाको संभव भएसम्मको चित्रण गर्दै यो(उत्तर आधुनिक) झापा निर्माणसम्मको अबिराम यात्रामा भएका खासगरी पुस्तकको उपशिर्षकका अवयबहरुलाई उतारेको देखिन्छ । उल्लेखित ३४ जनाको बयानका आधारमा रहेर वर्तमान झापा निर्माणका सयौं व्यक्तिहरुको प्रत्यक्ष योगदानको बिश्लेषणात्मक दस्तावेजको रुपमा आएको यो पुस्तक संग्रहणीय पुस्तक हो । एउटै क्षेत्रमा बसोबास गर्ने लगभग समान उमेर र अनुभवका व्यक्तित्वलाई सारथी बनाएर बकपत्र शैलीमा तयार भएको कारणले गर्दा पुस्तकमा कतिपय ऐतिहासिक घटना क्रमहरू( २००७ सालको क्रान्ति , तत्कालीन पहाडको लिम्बुवान बिद्रोह र यसबाट पहाडे आर्यन समुदाय बसाइँसराइको चपेटामा परेको परिघटना, मोरङबाट झापाको स्वतन्त्रता , झापा बजारबाट भद्रपुर/चन्द्रगढी सदरमुकामको स्थानान्तरण, भुमिसुधार अभियानको अन्तर्य आदि) कुराहरू दोहोरिएको भेटिन्छ दस्तावेजमुलक पुस्तक भएकोले आगामी संस्करणमा उल्लेखित त्रुटिहरु अझै मसिनो गरी संपादन गर्न सके किताब थप परिमार्जित र परिस्कृत हुने देखिन्छ ।

पटकपटक उपशिर्षक केन्द्रित बयानमा उद्देलित भएपनि उल्लेखित समयकाल र यस बिचमा , देशमा भएका राजनीति घटनाक्रम र तिनीहरूमा तत्कालीन झापालीहरुको भुमिका र योगदानलाई समेत छोटकरीमा बुझ्न यो पुस्तक एक सारथी बन्नपुगेकोछ । यसैगरी झापाको शैक्षिक उन्न्यनमा खासगरी तत्कालीन अवस्थामा तेह्रथुम आसपासबाट बसाइँ सरी आउने पहाडी मुलका मानिसहरूको योगदानको यथेष्ठ चर्चा समेत पुस्तकले बटुलेको देखिन्छ । इतिहासमा नलेखुन्जेल कुनै चीजबीज , घटना , ब्यक्ति या पद्धतिको महत्त्व नहुने यथार्थमा आधारित यो पुस्तक त्यस्ता पाठकको पाठ्यसामग्री हो, जो वर्तमानलाई विगतको उपज मान्दछन ।

मिडिया रिसर्च सेन्टरबाट प्रकाशित यस पुस्तकको मुल्य नेपाली रुपैयाँ ६१५.०० रहेकोछ भने यसमा २९६ पठनिय पृष्ठ रहेकाछन ।

२०८२ कार्तिक २१ साहित्य पोष्ट

(३७) जून तिम्रो याद आयो

आज कार्तिक पूर्णे रैछ, मेला जान्थ्यौं उफ्री-उफ्री ।।२।।
गजुरमुखी धाम घुम्थ्यौं , जून तिम्रो याद आयो ,
गजुरमुखी मेला सम्झी , जून तिम्रो याद आयो ।

चारसुरेका सिमल तरुल , उसिनेका सार्‍है मिठा ।।२।।
सातबिसेका उखु सम्झी , जून तिम्रो याद आयो ,
गजुरमुखी मेला सम्झी , जून तिम्रो याद आयो ।

पान्थरेका बदामबट्टा , प्रति कुरुवा आठानीका ।।२।। पुर्‍याइ-पुर्‍याइ खाको सम्झी, जून तिम्रो याद आयो ,
गजुरमुखी मेला सम्झी , जून तिम्रो याद आयो ।

खेल्नुहुन्न भन्दाभन्दै , डाइस खेल्थ्यौँ लुकीलुकी ।।२।।
लक्की सेभेन हार्‍या सम्झी , जून तिम्रो याद आयो ,
गजुरमुखी मेला सम्झी , जून तिम्रो याद आयो ।

पाँच रूप्पे मेला खर्च , कुरुम्बाका सुन्तलामा ।।२।।
सार्‍है मिठो रस सम्झी , जून तिम्रो याद आयो ,
गजुरमुखी मेला सम्झी , जून तिम्रो याद आयो ।

आज कस्तो होला मेला, बाढी पस्या बगरमा ।।२।।
घरबास उठ्या सम्चार सुन्दा , जून तिम्रो याद आयो ,
गजुरमुखी मेला सम्झी , जून तिम्रो याद आयो ।

रुन्चे हाँसो हास्नुपर्ने , बिपत्तिको चोटमा समेत ।।२।।
घर बग्या साथी सम्झी , जून तिम्रो याद आयो ,
गजुरमुखी मेला सम्झी , जून तिम्रो याद आयो ।

यसपालिको मेला यस्तै , दु:ख-सुख टार्दै भर्दै ।।२।।
छिट्टै उठ्ने बाचा गर्दा , जून तिम्रो याद आयो ,
गजुरमुखी मेला सम्झी , जून तिम्रो याद आयो ।

२०८२ कार्तिक १८ , धरान ।

(८) चाँदीको घेरामा 'मुस्कुराउने रहर'

अभावले बाँच्न सिकायो आज
यो सृजनाको म त्रिवेणी होइन । (१)

गजल - १ को यी मिसराले नै चस्स छोयो । जीवन भोगाइका आरोहमा सयौं अवरोह पार गरेर हुर्किएको मानिसलाई नै होला सायद साहित्यका यस्ता हरफले तान्ने । यसकारण होला अनुभवी मानिस सरल हुन्छ, परिपक्व हुन्छ र स्वाभिमानी हुन्छ , चाहे अरुले धुलोको कण नै किन नठानुन:
अनुभवले खारिएको परिपक्व मान्छे
सरल हुन्छ यसलाई समर्पण नसम्झनु । (२८)

यसरी जीवन दर्शन र गहिरो राष्ट्रप्रेमले संचित शेरहरुसँग जानीनजानी घोत्लिँदा घोत्लिँदै मुस्कुराउने रहर थप जाग्यो । मुस्कुराउँदै हिड्दाहिड्दै घरीघरी जीवन उत्तरार्धको अनुभुति मिश्रित शेरहरुले भने चसक्क छुन्छ्न, अनि सोच्न बाध्य भइन्छ `म मुस्कुराउने रहर´मा छु कि `दर्शनशास्त्रको कक्षा´मा ?:
मान्छेलाई मान्छे भन्न सकिएन चरालाई चरा भन्न सकिएन
हेर्दाहेर्दै यस्ता दिन आए कि आफैंलाई कठैबरा भन्न सकिएन । (३३)

फेरि अघिल्लो पातोमा फर्कियो , जसले हास्नुअघि रुन सिकाउँछ, सैद्धान्तिक होइन , ब्यबहारिक जीवन बाच्न सिकाउँछ :
हाँस्नुअघि अवस्य नै थोरै रुन सिक्नुपर्छ
सबै नाता तोडेपनि आफ्नो हुन सिक्नुपर्छ । (३२)

व्यावसायिक सफलताको पछाडि खेदो खन्ने नेपालीको (कु)राजनीतिक व्यबहार गजलकारलाई पटक्कै मन परेको छैन ।
अझैसम्म आँखाहरू मारवाडीमा छन
देश बनाउने युवाजमात खाडीमा छन ।(३४)

जैविक मायाप्रेमका शेरहरूमात्र नभै मुस्कुराउने रहरलाई पछ्याउँदै जाँदा , `शाब्दिक राष्ट्रप्रेम´ले देश बनाउने तर देशको वास्तविक उन्नतिका लागि गर्नुपर्ने न्युनतम काम समेत बाट आफूलाई टाढा राख्ने हाम्रो मनस्थितिमा समेत गजलकार घुमाउरो व्यंग्यात्मक भाषा प्रयोग गर्छन् :
सदनबाटै यस्तो तर्क गर्‍यो फेरि बिपक्षीले
धेरै भयो नभिडेको लछारपछार हुनुपर्छ । (३०)

अनि अर्को गजलमा फेरि थप्छन् :
सुधार यो राजनीति यो सुधार त्यो मनस्थिति
म रामराज्यको कथा पढेर प्यास मेट्दछु । (२)

मानिस जानान्जान राजनीतिक प्राणी हो , कहिलेकाहीँ गफैगफमा, कुरैकुरामा, सुरैसुरमा वा सुरबेसुरमा उसले आफ्नो राजनीतिक आस्थालाई विभिन्न स्वरुपमा दर्पित गर्छ , सायद यसैको परिणामस्वरूप लेखियो होला गजल नं ४१
(देशमा कम्युनिस्ट एकता मजबुत हुनुपर्छ
सुन्दिन म कुनै गुटका समाचार नसुनाउ ।) ,
जसलाई अझै मलजल गर्‍यो ५४
(सच्चा कम्युनिस्ट क्रान्तिकारीहरू बिच पनि
यहाँ भागबन्डा र रिस्वतको घमासान हुन्छ ।) ले ।

काठमाडौ शहरको कुनै बेलाको अस्तव्यस्तता मात्र होइन कोशी /गण्डक जस्ता दीर्घकालीन महत्त्वका सम्झौताबाट देशले भोगिरहेको वर्तमानको उकुसमुकुसलाई कोशी नदि किनारको लक्ष्यणाले पाठकमाझ पस्कनु गजबको कला हो । दलाली र बिद्रोहरुपी चेतबाट अघि बढ्दैजाँदा समयको रफ्तारमा संगसंगै यात्रा गर्न नसक्नुको पिडा पनि त भेटिन्छन् , शेरहरूमा । गल्ती कमजोरीका सयौं पहाडमा पनि आशाको दियो बलेकै हुन्छ त्यसैले त नवबर्षमा हामी सुन्दरपुरको परिकल्पनाका शुभकामनाका शब्दगुच्छा टक्र्याउँछौं र समस्यामा भागेर होईन , डटेर समाधान खोज्न सिकाउछौँ :
तमोरसरी दु:खकष्ट बगोस यो बर्ष
सबैसँग हार्दिकता बसोस यो बर्ष । (५८)

जीवन भन्नु नै चुनौति हो, धारैधारमा हिड्नुपर्छ

यो चेत कहिले आउला स्वयंलाई तलाउमा राखेर । (६०)
गीता पढ्यो भनेर बन्धुत्व भाँड्नेलाई
फिर्ता हुनै नसक्ने भन्सार बनाउनु छ । (१०)

पछिल्लो समयमा मौलाउँदै गएको साँस्कृतिक अतिक्रमण र अतिवाद , लोभलालच देखि जबर्जस्ती सम्मका धर्म परिवर्तन विरुद्धको नम्र विमति समेतको उजागर गजलका शेरका भित्री पाटा हुन् :
आफ्नो धर्म लाखसँग साटी आखिरमा
मन्दिरलाई नै ढालिदिए मन्दिर ढोगेर (२२)।

सृजनात्मकतामा रमाउनेहरूको न त घडी हुन्छ , न त परिक्रमण र परिभ्रमण । बरु अभाव भन्दा माथिको अभाव हुन्छ , तथापि त्यही अभाव र अपुरा रहरहरू सृजननात्मक्ताका पर्याय बन्छन् , अनि जन्मिन्छ्न कलमका वंशावली :
छन अधुरा भने स्वप्ना पूरा बन्छन् कुनै दिन
सङ्गालेर यही बिश्वास चौडा छाती बनाउने । (८)

गद्यमा भन्दा पद्य र आख्यानमा बढी रुचि हुने मलाई ६८ वटा गजलका शेरहरुमा डुब्नु सहज थिएन । सैद्धान्तिक पाटा र संरचनावादको कठोरतामा गजललाई नाप्ने हैसियत त छैन ममा , तथापि क्रमशः बग्दै जाँदा केहि शेरहरू `आहा´ , `मिठा´ अवश्य नै भए । यस्ता आहा र मिठा गजलहरू कुनै `मिठो´ संगीत सर्जकको हातामा पर्दै सुरिलो स्वरका धनिको कण्ठमा पर्न पाए सायद सुन्दर साङ्गीतिक गजल बन्ने थिए कि ? त्यसैले त होला :
यो हो पवित्र धर्ती स्वगार्नुभूति बाँड्ने
हर गीत अन्तरामा मुस्कुराउने रहर छन् ।(६८)

ऐरावती प्रकाशन (प्रा.लि.)काठमाडौंबाट प्रकाशन भएको यस गजलकृतिभित्र ६८ वटा गजलहरू सङ्ग्रहित छन् भने यसको मूल्य १८० रुपैयाँ रहेको छ।

- २०८२ कार्तिक १६ , धरान ।

(1) 3Ts with Neighbours: Road to Prosper 2043

A book that changes Nepali´s traditional concept `landlocked´ to `land linked´ country. The prosperity of Nepal mostly based on the four major areas: geopolitics, climate change , technology , and movement of people.

The book outlines key areas for transformation, such as hydropower, agriculture, tourism, migration, and digital transformation, arguing that Nepal's strategic location, strong diaspora, and energetic youth are crucial assets for achieving this goal. It explores potential economic growth and presents a practical roadmap for development. It further examines minutely the five areas (Water and Energy, BEZ, Falicitating Easier Movement, Air and Water Connectivity, and Working Together on Climate Change) in which Nepal needs to work with India for economic benefits. Likewise, Mr. Shakya talks about the four key areas(Sorting of Exportable Goods, overland Travelling Promotion for Tourism, Better Use of Latest Inventions in China, and The Tranfer of Technology for Sustainable Insfrastructue Development) to promote Nepal´s economic relationship with China. At the same time, he warns Nepal not to be reactive in regard with bilateral relationship, keep even the `track-two mechanism´ ready so that she can achieve greatly from these two giant economies.

Nepal has set the goal 2043, however, the key roles to be played by the different levels of governments are being questioned in regard with the failure/success of federalism. In this regard , Mr Shakya clarifies the role of federalism to achieve the feat.

The the book has been divided into two main parts. In the first part, Mr Shakya talks about the present of Nepal with reference to the past geopolitical and historical events. In the second part (The Eneblers), he has minutely detailed the prospects of Nepal referencing the present.

In nutshell, the book is a visionary work that argues for Nepal's potential to become a high-income country by the year 2043, despite past challenges like political instability and natural disasters. It presents a roadmap for achieving this goal by focusing on several key areas.

- 2082 Kartik 10 ( 27 Nov. 2025)

(७) सप्तरंङ्गी चमेलीको फूलबुट्टा भरिएर गाँसिएको बैजनी माला

लेखकले स्विकारे झैं सातवटा अलग अलग उपन्यास समानका कथाहरू बोकेर युवामनलाई कुत्कुत्याउने कथासंग्रह हो चमेलीको फूल, बैजनी रुमाल । युवा मनका लेखक सुबिन भट्टराईले आफनो सातौं कृतिमा नयाँ प्रयोग गरेको भेटिन्छ । आख्यान रूपी कथालाई संक्षेपमा पस्कंदै वर्तमान समाजको मसिनो बिश्लेषण संग्रहमा संग्रहित देखिन्छ भन्ने कुरा त विभिन्न कथामा प्रयोग भएका निम्न हरफहरु नै काफी छन ।

कहीँ जानुअघि पुग्नुपर्ने ठाउँको कल्पनाले मान्छेलाई कुत्कुत्याउनुपर्छ । गन्तब्यले नै आकर्षित नगरेपछि बाटो जतिसुकै राम्रो भएपनि यात्रा नमिठै हुनेरहेछ । (एक्स: २०)
संबन्धहरु बचाउनुपर्छ, आफ्ना इच्छा माथि थोरै निर्मम हुन किन नपरोस् । (चमेलीको फूल , बैजनी रुमाल: ३३)
कुनै अज्ञात स्थानमा पनि सुदूरबाट सुख ओसार्न सकिन्छ , खाली आफ्नो कल्पनासित थोरै खेलबाड गर्न सक्नुपर्छ । ( चमेलीको फूल , बैजनी रुमाल: ५४)
विद्यार्थीलाई बुझ्न उनीहरु छेउ गैराख्नु पर्दैन , ... परपरैबाट उनीहरूको लय र रफ्तार जाने हुन्छ ।( अलमल: ८३)
पैसाको उकालो जति चढेपनि चुचुरोमा कहिल्यै पुगिन्न । ( भुइँ: ९५)
मान्छे आफैंमा सम्पुर्ण हुन सक्दैन र ? (साँझ: १४४)
दुःखको काँडे झाङमा होस या सुखको हरियो मैदानमा , समय केहिले छेकिन्न । (२७५२: १८०)
मान्छेले आपसका सानातिना गल्तीलाई माफी दिन किन सक्दैन ?(भग्नावशेष: २१६)

कलिलो उमेरमा हुने शारीरिक भेदभाव (body shaming) को असर र मानसिक तनावको मसिनो बिश्लेषणका साथमा मानिसका `मनपर्ने´ र `मननपर्ने´ चिजबस्तुहरु केवल मस्तिष्कमा कोरिएका स्वघोषित रेखाहरु मात्र हुन , यिनीहरूले मानिसको स्वभाव भने प्रष्ट पार्छन् भन्ने मनोबैज्ञानिक संश्लेषण समेतलाई संग्रहले अंगालेको भेटिन्छ ।

बिपरित लिङ्गीप्रति हुने आकर्षणबाट सामान्यतया शुरूवात हुने संकुचित परिभाषित प्रेमले जब आणुबंशिय निरंतरता पाउँछ , तब शुरु हुन्छ प्रेमको बृहत्तर परिभाषा । अझ त्यसमाथि सावाँको भन्दा ब्याजको मायाले त मानिसलाई मर्न होइन अमरत्वको स्वरुपमा बाँच्न उत्प्रेरित गर्छ । यही संबन्धको धागोलाई निरंतरता दिने सवालमा कतिपय अवस्थामा सन्तान हुर्काउन पो हामी जान्दैनौं कि ? यो मनोसामाजिक प्रश्नको घेराभित्र उनिएको छ भुइँ जसभित्र फरकफरक परिस्थितिमा हिडन सिक्नु मानिसको जीवन हो र ती परिस्थितिजन्य अवयबले लरबराएका खुट्टा थप सबल बनेर अडिग रहन मद्दत गर्छन ।

नारीहरुमा हुने प्रजननजन्य दुर्लभ रोग र ती रोगका कारण उनीहरूमा पर्ने पारिवारिक र सामाजिक विभेदका दार्‍हा नङ्ग्राका दर्पण चित्र चितृत कथाले पाठकलाई तानिरहन्छन ।

समग्रमा , उपन्यास लेखकबाट उपन्यास नै अपेक्षा हुनु आम पाठकको पठनीय अधिकार होला , तर स्रष्टाले आफ्नो रुचिकर सृजना पस्कनु पनि त लेखकीय संप्रभुता नै त होला नि हगि !

- २०८२ कार्तिक ०४ , दमक ।

(६) महायुग: बिभेदकारी कलियुगले जन्माएको कल्पित युग

समाजले सधैं , सदियौंदेखि रटान लगाइरहेको छ, एउटा शब्द , `पितापुर्खा´ । तर किन भन्न सिकाएन `मातापुर्खा´ ? के जन्मको अधिकार पिताको मात्र हो ? मातापुर्खा बिना जन्म निरंतरता र पुस्तान्तरण संभव छ ? आ-आफ्नो संकृति अनुसार `कन्यादान´ गर्दैमा मातृपुर्खाको जीन र क्रोमोजोमले लिएर हिड्ने अकाट्य र अमेट गुण मासिएर जान्छ त ? यी र यस्ता सयौं स्वउत्तरित प्रश्नहरूको निर्भय उत्तर हो सीमा आभासको उपन्यास - महायुग ।

नारीवादी भनेर कुनै वादसँग जोडेर कोहि कसैलाई हेर्ने निश्चित घेरामा म बस्न सक्दिन , तर समाजमा रहेको लैङ्गकि बिभेद विरुद्ध उत्कृष्ट कलमको तिखो निब चलाउने लेखकको रुपमा मैले चिनेको व्यक्तित्व, सीमा आभास को प्रथम आख्यान महायुगको आवरण पृष्ठ र पृष्ठभुमिले नै एउटा गहकिलो सन्देश बोकेको कुरामा कोही कसैको विमति नहोला । यसका साथै उपन्यासमा सृजित जीवन्त पात्रहरू मध्ये आख्य र नीलाञ्जना बिचको संबन्ध र उक्त सेरोफेरोमा आख्यले देखाएको शारीरिक आसक्तियुक्त अभिव्यक्ति( आख्य मँसग गफ गर्न चाहन्थ्यो । मैले गफ गर्ने मौका दिइरहेकी थिइनँ । उसले झ्याल बाहिर हेर्दै अनायासै भन्यो - ``नीलाञ्जना आज म यहीँ सुत्छु ।´´ पृ. १४९)ले भने पुरुष मानसिकताले गर्ने स्वार्थरन्जित प्रेमको कटाक्ष गरेको कुरा चाहि प्रष्ट नै छ ।

यस्तो बस्ती जसलाई अर्को बस्तिले दिएको नाम निम्सरो छ, जसमा अबोध र निश्चल हृदयका बालबालिका स्वर्णकल्पमा हुर्कँदैछन। यही बस्ती बिना अर्को स्वघोषित उच्च बस्तीको सुन्दरताको अस्तित्व रहन्न । आख्यानको प्रस्थान बिन्दुमा नै गरिबी, अभाव , अनि बाल मस्तिष्कमा रहने उत्सुकताले पठनलाई सहज एवं उत्प्रेरित गर्छ ।

बिक्रम संवतको असीको दशकको अन्त्यतिरबाट उठान भएको कथामा, तत्कालीन समयमा खासगरी स्वघोषित जातीय कुलीन परिवारमा हुने लैङ्गकि बिभेदको चोटिलो चित्रण गरिएको भेटिन्छ । ९० सालको भुकम्पको पृष्ठभूमिमा तत्कालीन ब्राह्मण समाजमा रहेको लैङ्गकि बिभेदको दर्पण , सोही सेरोफेरोमा हुने बालबिबाह , अनमेल बिबाह , बैबाहिक कुसंस्कार र कुरीतिको धारिलो ब्याख्या पढिरहंदा मलाई आफ्नै हजुरामाले उहाँकै बाल्यकालको भोगाइ सुनाइरहेको अनुभुती भयो । परिस्थिति प्रतिकुल भएमा मानिसको निम्ति घर सुरक्षा नभएर खतरापूर्ण सञ्जाल पनि बन्न सक्नेछन् तथापि आँट र हिम्मत हुनेहरू आफ्नो घर सधैं-सधैं आफैं बनाउनेछन भन्ने कठोर ध्रुवसत्यतालाई पात्रचरित्र मार्फत प्रस्तुत गर्दै आख्यानले उकाली हिड्न थाल्छ ।

लामो संघर्ष पछि प्राप्त खुशी साट्ने मान्छे नहुनु भनेको त खुशी हराउनु पो रहेछ (पृ. ११३) ।जीवन भोगाइ र जीवन संघर्षका अनेकन अवयहरुसँग पौँठेजोरी खेल्दै कलियुगकको पुरुष निर्मित सामाजिक-आर्थिक नियमरुपी बन्धनबाट उन्मुक्त हुन सरल र सहज यात्रा होइन , यसमा कोमलताको आवरणभन्दा विद्रोही चेतको जरुरत पर्छ र आफुले रोजेको साथी पनि त्यस्तै त्यस्तै हुनुपर्छ भन्ने स्पष्ट सन्देश सहित लेखिएका `अद्वैत कला´ , `समयको उडान´ , मृत्युभन्दा भयानक´ आदि शिर्षकमा उपन्यासंंग उडान गर्दा नारी चेत र आवाजको ध्वनि अझ तरंगीत हुन्छ ।

मायामा स्वार्थ हुन्छ भने त्यसलाई श्रीमा-श्रीमतीबीच सीमित राख्नुपर्छ । प्रेमी-प्रेमिकासम्म फैलिन दिनु हुदैन (पृ. १५०) जस्ता तिख्खर हरफहरुले आख्यान पढ्नेहरूलाई सामाजिक मुल्यमान्यता प्रतिको आफ्नो परंपराबादी दृष्टिकोण बदल्न वाध्य बनाउँछ । बिद्रोही चेतमा कलम चलाउने लेखकले कुनैकुनै हरफहरुमा यसरी नारी चेतको उघ्र स्वरूप पनि देखाउनु आख्यानमा कल्पना गरिएको जस्तो सपाट महायुग सृजना गर्न आवस्यक नै लाग्छन् ।

महायुगको उडानमा भेटिने स्त्रीकुचाल एउटा यस्तो पात्र हो जसले स्त्री जातिमा छलकपट , जालझेल , स्वरुप परिवर्तन आदि माध्यमबाट भ्रम सृजना गरिरहन्छ । यो एउटा यस्तो पात्र हो जो हर घरको ढोकामा उभिएको हुन्छ । नामकरणले उक्त पात्र चरितार्थ गर्ने हुनाले अन्त्यमा स्त्रीकुचाललाई मृत्युदण्ड दिइन्छ । यो एक प्रतिकात्मक परिघटना हो जसले लाक्ष्यणिक रुपमा बिभेदकारी युगको अन्त्य गर्दै `बिक्रम´अर्थात् पुरुष होइन `स्त्री संवत्´ को प्रारब्ध संगै महायुगको आरंभ गराएको छ । यस मानेमा हेर्दा , महायुग पढ्ने मात्र कृति नभै एउटा नवचेत युक्त नव युगको शुरुआत हो , आगमन हो र लैङ्गिक बिभेद बिरुद्दको बस्तुगत उठान हो ।

अधिकार मागेर होइन , खोसेर लिनुपर्छ भन्ने राजनीति नारालाई अप्रत्यक्ष कथन मार्फत पाठकमाझ पस्किन खप्पिस लेखकीय परिचय परिचालन गरिसकेकी लेखकले अधिकांश यात्राको रौद्ररसको माध्यमबाट थोरबहुत करुणरस पस्कनु उपन्यासको अर्को पाटो हो ।

स्पष्ट रुपमा दुई भागमा बाँढिएको यो आख्यानले पहिलो भागमा वर्तमान सम्म आइपुगेको विशेषत लैङ्गकि विभेदको चित्रण गर्दै उक्त विभेदबाट मुक्तिको यात्रा आरंभ गर्न पुस्तान्तरण अनिवार्य छ भन्ने स्पष्टीकरण दिएको देखिन्छ । बिष्णुमाया-छाँयादेवी-यक्षिणी-ऋत्विजा सम्मको चारपुस्ते यात्रा गरिरहने पात्रहरुले केवल जैविक पुस्तान्तरण सँगसँगै आफ्नो चेतनाको समेत पुस्तान्तरण गरेको पाइन्छ । यसबाट जकडिएर बसेको सामाजिक कुसंस्कार र कुप्रत्थाको अन्त एकैपटक हुन्न भन्ने सन्देश बोकेर हिड्छ । दोस्रो खण्डमा प्रयोग गरिएको म्याजिकल रियलिज्मको शैली उपन्यास लेखनमा प्रयोग भएको सबैभन्दा उत्कृष्ट लेखन कलाको उदाहरण हो ।

`महायुग स्थापनापछि स्त्रीतन्त्रको स्वार्थ सारा मनुष्य स्त्रीसभ्यताको सिर्जना गानसँगै स्त्रीभूमिमाथि अखण्ड ध्यानमा बसे (पृ. ३४६)´ उपन्यासको अन्तिम वाक्यले स्पष्टता दिएको छ कि महायुग कहिल्यै पनि नारी एकात्मकताको पक्षधर होईन । यसले बस्तुनिष्ठ समान समाजको उद्घोष गर्छ जहाँ जन्मकै आधारमा कसैको चरित्र निर्धारण नहोस् । त्यसकारण , महायुग - एउटा यस्तो स्वर्ण युग , जहाँ मान्छे होइन मानवता बस्छन् , जहाँ लैङ्गकि विभेदको कफन होइन , सेवामूलक स्वादका रेसाबाट बुनिएका शिरफूल ओढ्ने मातृसत्यको बास छ, जहाँ आफ्नो स्वार्थ सिद्दी हेतु बनाइएका प्रकृति बिपरितका आडंबरी काँढेतार होइन , निडर र स्वच्छन्द यात्राको सहयोगी प्रकृति हांसिरहेकोछ ।पात्रपरक आख्यान भएकोले सललल बग्ने कथाका हरेक शिर्षक र उपशिर्षकले बल्छीको काम गर्ने भएकोकारण समयले साथ दिएसम्म एकै बसाइमा घडीका खिल काँटा रोकेर भएपनि आध्योपान्त गरौं गरौं अनुभुति दिलाउने कथाको माला हो - महायुग ।

बुक हिल प्रकाशनद्वारा २०८२ भदौमा बजारमा ल्याइएको यो उपन्यासको बजार मुल्य ६९९ नेपाली रुपैयाँ तोकिएकोछ ।

- २०८२ असोज ०९ , धरान ।

(५) तोरकिनः उपल्लो मुस्ताङको हराएर जाने अवस्थाको गाउँ

- जबजब मान्छे हुर्किंदै जान्छ , तबतब खुशीहरु छुट्दै जान्छन् , खुशीलाई बालखै छाडेर मान्छे बुढो हुंदोरहेछ । ( पृ ४०)
- नजिक भएर जति प्रस्ट हुन्छ , उति बिझाउन खोज्दा रहेछन् कति कुराहरू । (पृ ६८)
- पग्लिनु भनेको बाटो तय गर्नु मात्र होइन रहेछ , सिद्दिनु पनि रहेछ , रित्तिनु पनि रहेछ । (पृ ७५)
- मान्छेको मन: खुसीमा समय बगेको पत्तै नहुने , तर प्रतीक्षामा आँखा अल्झाएर बाटोको सास छामिरहन मनलाग्ने ! (पृ १३०)
- जिन्दगीको बाटो घाटमा गएर टुङ्गिन्छ भने बाटोको बाटो कहाँ गएर टुङ्गिन्छ होला ? (पृ १८०)
- दु:खहरुको कुनै योग्यता कायम हुंदो हो त , संघर्षहरुको कुनै प्रमाणपत्र हुंदो हो त कति धेरै हासिल गरिसकेको थियो छेवाङले , तर ... (पृ १८८)
- जिन्दगीका हरेक कुरामा सन्तुलन मिल्नुपर्ने रहेछ , अलिकति सन्तुलन मिलेन भने कतिखेर कहाँ दुर्घटनामा पर्छ , थाहा हुंदैन । (पृ २०४)
- सपना भनेको जिजीविषा रहेछ र त सपनाले कहाँकहाँ डोर्‍याउँछन । (पृ २१२)
- गाउँ ता मानिसहारु बासे पो सुन्दार देखिन्छ , जाब मानिस नै बास्देन, गाउँ मार्छ, गाउँले सास फेर्न बिर्सिन्छ ।(पृ २६८)
- आफ्ना इन्द्रियलाई नियन्त्रणमा राख्न सकेन भने त मानिस अनेक मुखुण्डोभित्र असली चेहरा लुकाएर बांचेको हुन्छ । (पृ १७८)
- कहिलेकाही त लाग्छ यो हिरासत र जेल भन्ने ठाउँ जीवनमा एकपटक जानैपर्ने ठाउँ रहेछ , जसबाट मानिसले कानुनी रुपमा जिन्दगी बुझ्दोरहेछ । (पृ२९६)
- रुनलाई उमेरले छेक्दोरहेनछ, ... अथाह पिडाको भवसागरमा डुबेपछि आँसु त यसै आइजाँदोरहेछ । (पृ ३०४)

यी र यस्तै यस्तै सयौं हरफहरुमा डुबुल्की मार्दै उपल्लो मुस्ताङको चराङ गाउको सेरोफेरोमा शाब्दिक भ्रमण गरिरहँदा कयौं पटक सोच्न वाध्य पार्ने तोरकीन शालिग्राम जस्तै बनेको छ । एउटा पत्थर सालिग्राम बन्न खाने हण्डर र ठक्करको व्यथा सामान्य मानव मनले मनन गर्न नसके झैं छेवाङले `छेवाङ´भएर बाँच्न र बाँचिरहन भोगेको जीवनका आरोह भन्दा अवरोहका पाइलाहरु पछ्याइरहँदा कति बेला अंश्रुग्रन्थिले ढिकाहरुलाई गालाहुदै मराङ नदिको बहावमा मिसाउँछन, पत्तै नहुनु तोरकीनको अर्को बिशेषता हो ।

त्यसपछि ?
त्यसपछि केहि हरफहरु तोरकीनले आफैं फुराइदियो ।
* पात्र परिचय सहित विश्लेषणात्मक निबन्ध शैलीमा उपल्लो मुस्ताङको भू-सांस्कृतिक बर्णन , बर्णमालाका अक्षरहरुको आपसी एकताका प्रतीक छन ।
* एउटा बच्चाको जन्मस्थलमा उसको जीवनसँग जोडिएका सपना, इच्छा आकांक्षा मात्र होइन आफन्त र नातागोता समेतलाई पुग्ने गरीका सपनाहरू तरेली खेल्छन् , तर ती सपनाहरूको मुख्य शत्रु गरीबी आफैं गरीब भएपछि सायद सपनाहरू सपनामै सिमित हुन्छन् ।
* जम्नु भन्दा पग्लनु नै उचित हुन्छ , किनकि पग्लिएपछी बग्नुपर्छ , बग्नलाई बाटो बनाउनुपर्छ , आफैं बनाएको बाटो सायद सबैले मिहिनेत गरेर असल नै बनाउँछन ।
* ल्हो समुदायको सामुदायिकता, भाषा , संस्कार जीवनशैलीको सुन्दर मालाले आफैं चराङको बासिन्दा भएको अनुभुति हुन्छ ।
* गुरु पद्मसम्भव र ऊनीसंग जोदिएका उच्च हिमाली भेगका नामाकरण सम्मका मिथकमा रमाउनु उपन्यासको अर्को गतिलो पाटो हो , जसभित्र गहकिलो अध्ययनको दर्पण भेटिन्छ ।
* जसरी खाँबोले घर थाम्छ, त्यसरी नै छोरी भनेकी पनि घरको मूल खाँबो हुन, बिबाह हुनुअघि माइती घरकी, बिबाह पश्चात् पोइली घरकी ।
* हराउनु पनि एक क्रान्ति नै हो, बन्दुकको भन्दापनि शक्तिशाली क्रान्ति किनकि हराउनु भनेको सक्किनु मात्र होइन , अर्को नयाँ सुरुवात हुनुपनि हो ।
* त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत हुनेखाने र हुँदा खानेहरुको विभेद छ, रहरले उड्ने हरुका आफन्ताहरु तँछाडमछाड गर्दै बिदाइका हात हल्लाइरहन्छन , सायद उडने मानिस फर्किँदा कुनै न कुनै महंगो उपहारको आशामा । तर बाध्यताले बिदेशीनेहरुका आफन्त त गाउँमा (चराङमा) नै छन , जसले उड्ने मान्छे उडे न उडेको खबर सम्म पाउन्नन ।

अर्कोपाटोबाट हेर्ने हो भने तोरकीन उपल्लो मुस्ताङको भाषा , कला, संकृति , जन्मदेखि मृत्य संस्कार सम्मका अनौठा प्रचलनहरुको समिश्रण हो , जसले उपन्यासलाई संस्कृति अध्ययनको एउटा गतिलो स्रोत बनाएको छ । आख्यानमा बिश्लेशणामक्ता थपिएकोले भौतिक रूपमा उच्च हिमाली क्षेत्रको भ्रमण गर्न संभावना नहुनेहरुले शाब्दिक भ्रमण गर्न सक्छन् , यसबाट केहि दिनको अवलोकन भ्रमण भन्दा सयौं गुणा बडी संज्ञानको तह बढाउनेछ ।

दुइजना साथीको मित्रता , त्याग र सहयोगीपनामा समयको प्रभाव वा जीवन भोगाइका अवयबले निम्त्याउने वियोगान्तका परिघटना अकाट्य लाग्छन् । मानिसलाई समयले अथवा समयले मानिसलाई ? कसले किन परिवर्तन गर्छ ? निरुत्तरित प्रश्न हुन । कमाउने र रमाउने आशामा सिद्दिदै गएका परिवारहरु, समाज र गाउँहरु कहिले पुर्ववत रुपमा फर्किने हुन कसैले भन्न सक्ने अवस्था छैन । रित्तिदै गएका बस्ती र सेता हिमाल , कालापत्थरमा परिणत हुँदा निम्तिन सक्ने दुस्परिणाम दर्शाउनु उपन्यासको अर्को पाटो हो ।

चालिसको अन्त देखि शुरु भएर दरबार हत्याकाण्डको समयमा मध्याह्न हुँदै एक्काइस सयको पुर्वादमा टुंगिएको मुल कथामा धेरै उपकथाहरु छैनन् जसले पठनलाई सलल बग्न सहज बनाएको छ । केहि पौराणिक कथा र मिथकको समायोजनले भने अझ मिठास थपेको देखिन्छ । पछिल्लो खण्डमा राखिएको भविष्यतकालको बर्णन नै नभएको भएपनि मुख्यपात्रको चारित्कारितामा खास फरक नपार्ने अनुभव हुनआउँछ । उपन्यासमा प्रयोग भएको उच्च हिमाल क्षेत्रमा बसोबास गर्ने समुदायले प्रयोग गर्ने भाषिक लवजले यथार्थमा टेकेको देखिन्छ ।

समग्रमा , हराउनु भनेको सक्किनु मात्र होइन, फरक रुपमा नवप्रादुर्भाव हुनु पनि हो, तथापि उक्त प्रादुर्भावले मौलिकता बचाउँछ कि बचाउन्न भन्ने प्रश्न चाहिँ अर्को निरुत्तरित नै देखिन्छ । आख्यानसँग रमाउँदै फरक समाज र संकृतिलाई अपनत्व बनाउन सफल बन्ने छ, तोरकीन ।

- २०८२ असोज ०६ , दमक ।

(४) छालबाटो

एउटा यस्तो नियात्रा जसमा ४५ दिन तीन देशको तिनखाले भुराजनीतिक यात्रानुभूति, तिन तवरको सिमा सुरक्षा र कर्णाली नदिको हालको उपयोग र संभावित उपयोगिता बारेमा शाब्दिक यात्रा गर्न सकिन्छ ।

आख्यान प्रेमीले पनि आख्यान स्वाद सहित यात्रा गर्नसक्ने गैर आख्यान !

पद्मश्री_साहित्य_पुरस्कार_२०८१ हार्दिक बधाई Ramesh Bhushal

(३) उरमाल अर्थात चिया टिप्ने झोली

पुस्तकहरु किनिन्छन अनि पालैपालो पढिन्छ्न । पढ्ने पालो ठ्याक्कै आएर शुरु गरेकै दिन #मदन_पुरस्कार_२०८१ घोषणा भयो । दशकौंपछि पुरस्कृत कृति `डुवर्स´कृत थियो ।
अनि ?
अनि त झन पढी नसिद्धिन पाएन उरमाल अर्थात् `चिया टिपेर हाल्ने थैलो अथवा झोली´ले । थैलो खोलेर बरालिन थालेपछि कता कता पुगियो , पुगियो । मुल कथा , कथाका पात्र , पात्रै पिच्छेका उपकथा , उपकथा भित्रका पनि इतिहास , भूगोल मिथक, ... । तर सबैका आ-आफ्नै ब्यथा । त्यसैले त केहि हरफहरु टिपेरै नराखी नसकिने ...
१. यो दुनियाँ कति खराब छ नि , हाँस्न त मन खोलेर सकिन्न-सकिन्न , रुन पनि मन खोलेर सकिन्न ।
२. रुखले त नढलुन्जेल उसलाई पनि छहारी नै दिने हो , जसले ढाल्नलाई फेदैमा बन्चरो हानिरहेको हुन्छ ।
३. बगेर आउने नदीले माथिबाट पानीमात्र ल्याउँदैन, दु:ख पनि साथमै ल्याउँछ ।
४. अरुको उज्जालोमा बाँच्नेहरुको दु:ख जूनकै जस्तो हुनेरहेछ , जसको आधा उमेर त अँध्यारोमै बितेर जानेरहेछ ।
५. मान्छेका आधा दु:ख त यसै कम भैदिन्छन , जब दु:खका बेला दु:ख सुन्न साथमा कोहि भैदिन्छन ।
६. हत्केलाले हुरी रोकेर जलिरहेको दियोलाई निभ्नबाट जोगाउन सकिन्छ र ?
७. सँगसँगै भएर पनि कहिल्यै नभेटिनुको पीडा खोलाका दुई किनार भन्दा बढी अरु कसलाई थाहा होला र ?
८. हत्केलामा उठाउँदा जुन पानी बेरंगको देखिन्छ , त्यही पानी गहिराइमा पुगेपछि निलो देखिन्छ ।
९. चियाका मुना र मेरी आमाका सपना एकै हुन, दुबै चुडिनकै निम्ति मात्र पलाउँछन ।
१० ...

यस्तै यस्तै कैयन हरफहरुमा रुमलिएर हिंड्न थालेपछि छुदेन काविमोले केही सोच्न वाध्य बनाए ।
त्यसपछि ?
त्यसपछि , मेरो मथिङगलले पनि केहि कोर्‍यो:-
मानिसको मुटुमा मुख्यतया चार भाग हुन्छन् :जसले क्रमशः माय, आँसु पीडा र पुस्तान्तरणलाई प्रतिनिधित्व गर्छन् ।
जीवनमा लगभग सबै हिसाब अमिल्दा नै हुन्छन् , तर फर्मुला लगाएर जीवनको हिसाब मिलाइदिने गणित शिक्षक अभाव सदावहार रुपमा रहिरहन्छ ।
झारखण्डबाट कसरी उराँवहरुलाई अंग्रेजले डुवर्स तिर पुर्‍याउन सफल भए र चियाका बोटमा उनीहरूका रगत पसिना मिसाए ।
सुफोक अर्थात आधुनिक सेभोक(जुन सिलिगुडी भन्दा केहि माथि पर्ने ठाउँ)को कथा, बाघपूलमुनी निदाएर बग्ने टिष्टाको कथा , कर्‍याङकुरुङको कथा ।
चिया पिउन राजाहरुले सिके र सिकाए , तर चिया कमानेहरुको दु:खका कथाहरू त्यसपछि शुरु भए ।
मन नै मरेको मानिसलाई अरु कुरा हुनु र नहुनुमा तात्विक तात्पर्यता रहन्न ।
जीवनको परिभाषा: `खोलाको चप्लेटी´ ।
नङ र मासुको जस्तो संबन्धमा पनि टकराव आउँछ किनकि नङ लामो हुने बित्तिकै मासुलाई असर गर्ने आसयमा काटेर फालिन्छ ।
हार्दिक बधाई ! Chuden Kabimo🙏🇳🇵

(२) हिउंको गीत

संकृति अध्ययन र अनुसन्धानमा आख्यानको कलम , तमु प्राचीनताका शब्दावलीले हरेक अनुच्छेदमा दोहोरिएर पढिनु, सामाजिक सद्भावमा आयातित चिज/ बस्तु (उपनिवेशवाद)ले निम्त्याउने अकल्पनीय परिणाम , ....

आदिम समाजको स्वादिलो स्याँठले चसक्क बनाउने समग्रताले संगीत भरिएर गाइएको मिठो गीत `हिउँको गीत´; म्याजिकल रियालिज्म ।

- २०८२ भदौ ०५ , धरान ।

(३६) जूनलाई प्रश्न

शिक्षाले सधैं रटाइरह्यो ,
कहिल्यै झुठो नबोल्नु ।
तर संसारमा सबैभन्दा बढी माया गर्ने ,
मेरी आमासँग मैले सबैभन्दा बढी ,
झुठो बोलेको छु ।

आमाबाट टाढा भएको ,
जीवनको पुर्वाधमा,
खल्तीमा थोत्रा कागज अनि ,
रू. एक दुमो बाहेक केहि नभएको दिन ,
बिहान उठेर यताउति गर्दा ,
झन धेरै भोकलाग्ने डरले ,
भाडामा लिएको अध्यारो कोठाको ,
तीन बाइ छ को खाटमा बिछ्याइएको ,
मैलो दरीमा ,
मध्याह्नसम्म पल्टिरहेको बेलामा ,
आमाले ,
हजार बिन्तिपत्र चढाएर ,
छिमेकीको ल्याण्डलाईन फोनबाट ,
घरबेटीको ल्याण्डलाईन फोनमा ,
``खाना खाइस ?´´
भनी सोध्दा ,
``खाएँ आमा !´´
``आज त धेरै दिनपछि ,
एक पावा पनिर ल्याएर ,
मीठो गरी बनाएर खाएँ ।´´
उत्तर पूरा हुन नपाउँदै ,
मेरा कुरा सुनेर अनायास नै ,
आमा सुँक्क-सुँक्क गरेको
आवाज सुनेँ ,
थाहै नपाई
आमाको सुँकसुँकाइमा
मैले कोरस थपेछु ।
यसरी ,
त्योदिन मात्र होइन ,
धेरै दिन , दिनानुदिन दिन ,
दिनहुँ ,
सबभन्दा बढी ,
यसैगरी, आमासँग मैले झुठो बोलेकोछु ।

अब भन जून !
मैले पढेको शिक्षा सही कि
मैले बोलेको झुठो गलत ???

-२०८२ बैशाख १३, धरान ।

(१) सिमसारा

इलामको माटोमा पदार्पण भैसकेपछी इलामेली उपन्यास नपढ्ने कुरै भएन, त्यसमाथि आफ्नो मनपर्ने विधा नै आख्यान ।

महाभाराको हराभरामा रुमलिएको मनलाई सिमसाराले अझ उत्कृष्टतामा पुर्‍याउने आख्यानीय लेखनशैली आफैंमा एउटा प्रयोग लाग्छ । लक्षणा र व्यञ्जनाले सिञ्चित सिमसारा, हरेक वाक्य र वाक्यांशमा जीवन बोकेर हातपर्‍यो । शब्दको शब्दकोषमा शाब्दिक भन्दा लाक्षणिक ब्याख्या , हरेक परिघटनाका पूरक छन ।

पश्चिमी इलामको परिवेशमा हामीलाई इलामेली भाषिकाले टक्रक्कै बाल्यकालमा पुर्‍याउने आख्यानकारको बालबिषेशज्ञपना अदभूत नै छ । कथा सरलतामा तरलता थपेर सलल बगाउनसक्नु उहाँको खुवी हो भन्ने कुरा त महाभाराबाटै प्रमाणित भएको हो, सिमसाराले यसलाई गोल्ड प्लेटेड प्रमाणपत्र प्रदान गरेको छ । समयभन्दा चाडैं जीवनमा परिपक्वता पाउन वाध्य बालक र यसले बालमनोविज्ञानमा पार्ने प्रभाव , सिमसाराको अर्को पाटो जस्तो लाग्छ ।

पात्र चयन र पात्रमा परेको राजनीतिक प्रभाव , प्रभावित राजनीतिबाट समय सापेक्ष पदार्पणमा पनि खप्पिस हुनुपर्छ भन्ने मनोसामाजिक चेतनामा कत्ति पनि नचुक्नु सिमसाराको अर्को पाटो हो । अन्त्यतिर देखिएको नारी त्याग , नारी समवेदनशीलता र मातृत्वभावले मन कटक्कै पारेको अनुभुति हुन्छ । समग्रमा, घर त्यो हो जहाँ मन बस्छ भन्ने अंतर चेत नै सिमसारा हो । -२०८१ आश्विन ३०, धरान ।

(३५) जूनको जूनाफमा

सिङ्गो शरीर बोकेर हिड्ने खुट्टा ,
भौंतारिन्छ आफैं जुत्ताको लालचमा ।
किनकि ,
बिजुली बत्तीको निर्माण गर्न ,
बिजुली बत्ती नै चाहिन्छ , जून !

ढोका थुनेर बिरालो कुट्ने कुरा गर्‍छ्यौ ,
तर ढोकामा दुबैतर्फ चुक्कुल हुन्छ ।
किनकि ,
बहु वैकल्पिक प्रश्नमा ,
चारवटा विकल्प हुन्छन् , जून ।

गल लगाएर पल्टाए पनि ,
आखिर ढुङ्गा माटो मै बजारिन्छ ।
किनकि
उड्ने चरालाई हाँगोमा भन्दा ,
आफ्नै पखेटामा विस्वास हुन्छ , जून ।

मरिच किन चाउरियो ,
आफ्नै पिरोमा रुमलिएर ।
किनकि
चोरी औंला तेर्साएर अरुको खोट देखाइरहँदा ,
चार औंलाले आफैंलाई गिज्याइरहन्छ्न, जून ।

सबैथोक दिने तिम्रो शहरले ,
चाडपर्वमा बास दिदैंन ।
किनकि
तिम्रो त गाउँमा मन छ ,
तर शहरको त मन हुँदैन क्यारे , जून ।

२०८१ आस्विन २३, दमक , झापा ।

(३४) जूनले (न)बुझेको म

हजुर थाकेर आइस्या होला ,
आराम गरिस्यो ,
म बजार गएर आउँछु ।

लु छिटोछिटो लुगा फेर ,
सब्जी छैन ,
चामल पनि सिद्देको छ ।
``तिमीलाई के थाहा जून ,
तिम्रा `हतार´ , `छैन´ , `छिटो´
शब्दले हरेक दिन मानसिक रुपमा ,
मेरो महाप्रस्थान यात्राको मिति ,
छिटोछरितो बन्दैछ ।´´
मेरो मनोवाद ।

आज किन ढिलो आइस्यो
ओभर टाइम थियो कि ?
छिटोछिटो फ्रेस भैस्यो ,
म चिया बनाइहाल्छु ।

चार बजे छुट्टी हुने स्कूल ,
यतिबेलासम्म कहाँ हरायौ ?
दिउँसै दुध सक्कियो ,
आज चिया छैन ।
``तिमीलाई के थाहा जून ,
आज चारबजेपछि
बैठक थियो ,
बैठकमा चिया होइन ,
एकजना विद्यार्थी अनुत्तीर्णको दोष ,
खाएर म,
तिक्त मानसिकताले तृप्त छु भन्ने कुरा !´´
मेरो मनोवाद ।

उहाँलाई विदेश भ्रमण परिरहन्छ,
लगभग पन्ध्र-बिस देश त घुमि सकिस्यो ,
मलाई पनि आठ-दस
देश त घुमाइसकिस्यो ।
ज्ञान त कति हो कति ,
गिफ्ट्ले त एउटा कोठा नै भरिसकिस्यो ।

हाम्रा त मास्टर न परे ,
के को विदेश !
एक पटक पोखरा त घुमेका छैनन् ,
मलाई घुमाउने त ,
सपना मात्रै हो ।
``तिमीलाई के थाहा जून ,
मेरो पेशाले भ्रमण, गिफ्ट होइन ,
पारिवारिक जिम्मेवारी र
दैनिक गुजारालाई प्राथमिकता दिन्छ ।´´
मेरो मनोवाद ।

तिमी जे सोच ,
``नदिमा जतिसुकै फोहोर थुपार ,
त्यसलाई किनारा लगाउँदै ,
ऊ बगिरहन्छ ,
पाइला पिच्छे कञ्चन बन्दै ।´´
मेरो मनोवाद ।

-२०८१ श्रावण १४, धरान ।

(३३) जूनको अल्ट्राकृपिडेरियनवाद

जब तिम्रो शहर
जलमग्न हुन्छ ,
नगर देखि जनपदसम्म ,
सबै निकायले खोजतलास
र उद्दार गर्छन् ।

तर
जब बाढीले गाउँ बग्छ,
तिमी भन्छ्यौ ,
पानी रोकिएपछि स्वचालित रुपमै
गाउँ देखा पर्छ ।

जब हवाई जहाज दुर्घटना हुन्छ ,
छानबिन समितिले नपुगेर
राष्ट्रिय शोक मनाउछ्यौ ,
तर
जब बस दुर्घटनामा पर्छ ,
स्वचालित रुपमै ,
लासहरुको बिस्कुनको
पर्खाइमा तिमी हुन्छ्यौ !
तिमी सत्तामा हुँदा
सडक गलत ...
एन्ड भाइस भर्सा ।
राजनीतिमा कुर्सी ,
प्रेममा यौन ,
र घर व्यबहारमा सम्पत्तिलाई
अन्तिम सत्य देख्ने तिम्रा आँखा ;
अल्ट्राकृपिडेरियनवादका पर्याय हुन ।

त्यसैले
तिम्रो प्रिय
तर
(अ)लोकप्रिय
तिम्रो अल्ट्राकृपिडेरियनवाद ।

२०८१ श्रावण ९, दमक ।

(३२) जून ! आऊ , तिमी र म हिरासत बसौं

तिम्रो र मेरो
गोलमाल भो हिसाबकिताब
बाहिर कतै चौरमा
बगैंचामा
खाजाघरमा ,
कहिँ कतै
जताततै जहाँसुकै
जासुसीको बिगबिगी छ,
क्यामराको ताँती छ,
बुमको लस्कर छ ,
लुक्न गार्‍हो छ ।
त्यसैले ...
आऊ , तिमी र म हिरासत बसौं ।

बाँसबारी गए पछिपछि
बालुवाटार छिरे अघिअघि
लाग्न छोडने छैनन्
तिम्रो-मेरो पछिपछि ।
हिरासतमा बसेर
क्यामरा र बुमलाई छलेर
साटौं कुरा मिठा हाम्रा ,
गरौं फरफारक हिसाब हाम्रा ।
हिरासतको अलगअलग कोठा
तर ध्वनि सुचालक सिसाले सुसज्जित ।
आहा आवाज देखि दृश्यसम्म
सबै पाइने ,
तर असहयोगी क्यामराले मेसो नपाउने ,
हिसाब मिलानमा
न कसैको डर
न कसैको प्रतिप्रश्न ।
त्यसैले ...
आऊ , तिमी र म हिरासत बसौं ।

थप्दै म्याद , हरेक हप्ता
गुजारौं हदम्याद हदैसम्म ,
जब चल्छ बजारमा
हल्ला अर्को हप्ता
अर्कै काण्डको ,
हामी पर्दैनौं कसैको नजरमा
मुक्त बनौं हिरासत
लिएर सफाइ
अनि बन्छ कर्तुत हाम्रो
एक असल कर्तव्य राम्रो ,
हुनेछन हिजोका बुम र क्यामरा
पुनः अघिअघि , पछिपछि
उस्तै अघिपछि अघिपछि ।
तर फेरिनेछ प्रश्न उनीहरूको
लाग्नेछ माला सय किलो सयपत्रीको
हुनेछ भ्रष्टाचार सदाचार
कालो कमाइ निख्खुर श्वेत ।
त्यसैले ...
आऊ , तिमी र म हिरासत बसौं ।

-२०८१ असार २३, धरान ।

(३१) जूनले दिएको यातना

म भस्मेको ठुटो थिएँ
कोदालो र खन्तिको मद्दतले
ल्यायौ तिम्रो प्राङ्गणमा
चलायौ बसिला
राँबो , छिनो , खुकुरी , कर्द ...
खै के-के हो, के-के !

नहुन्जेल तिम्रो अन्तरातमाको छिनोफानो
दिइरह्यौ यातना निरन्तर ,
अनि म बने ,
अमुर्त आकृति ,
कुनै इच्छुकले इच्छानुसार,
भित्तामा टाँस्ने ,
बार्‍हसिङ्गेको शिर ।
म सिद्दिको फेदीमा
पहराको सहाराले
सिरेटोको धुनलाई
आफुभित्रै लुकाएर
बसिरहेको बासिन्दा ।

अनायासमै लागेछ्न तिम्रा आँखा ,
चलायौ एउटा छुरी
ल्यायौ बोकेर
पछार्यौ आगनमा ।
तिम्लाई के के सनक चढ्यो
थाहा छैन ,
तर आगो फुकेर
थाल्यौ दिन , यातना मलाई
तिम्रो इच्छाअनुसार ।
तताउने , सेकाउने , प्वाल पार्ने
दिइरह्यौ यातना निरन्तर ।

तिम्रो ओठमा टाँसेर मलाई
तिम्रो कृत्रिम हावाले
फुक्न थालेपछि
मैले हावासँग लुकाएर राखेको
प्राकृतिक धुन फुत्किनु थाल्यो
मुरलीको तिखो धुन बनेर
बाँसुरीको सुरिलो आवाज बनेर ।
अनि म बने
भिरको मालिङ्गोबाट
कसैले इच्छानुसार बजाउने
बजारको बाँसुरी ।
यातनै यातनाको आर्तनादबाट
म बने दोबाटोको मादल
भिरको चिन्डो
अप्ठ्यारोको फर्सी
ढुङ्गाको कापको पिपल
लाम्पातेको सुर्ती
खै के के हो के के
... ... ...

२०८० चैत ०४, धरान ।

(३०) जूनको अदभूत शंख

शुभ देखि अशुभ ,
हरेक कार्यको प्रतिक ।
तर ,
अरुले जसरी फुक्यो ,
उसरी मात्र बज्ने
तिम्रो शंख ,
जूनको अदभूत शंख ।

फरकफरक भूगोलको ,
फरकफरक माटोमा ,
फरकफरक यात्राको ,
साँघुरो देखि
फराकिला बाटामा ,
पथ प्रदर्शक ।
तर ,
अरुले जसरी फुक्यो ,
उसरी मात्र बज्ने
तिम्रो शंख ,
जूनको अदभूत शंख ।

बौद्धिक दासताबाट ,
बौद्धिक अराजकता ,
बौद्धिक मौनताबाट,
बौद्धिक निपुणता ,
सबैमा चेत छर्ने ।
तर ,
अरुले जसरी फुक्यो ,
उसरी मात्र बज्ने
तिम्रो शंख ,
जूनको अदभूत शंख ।

एकाबिहानै झिसमिसे अघि
बेलुका ठुलो साँझ पछि ,
अघि-पछि , अघि-पछि
अघिअघि पछिपछि
बास !
बजाइदिन्छ अर्कैले ,
कहिले तालमा
कहिले सुरमा ,
कहिलेकाहीँ ताल न बेतालमा ।
तर पनि ,
तिमीलाई
शंखको मालिकको ,
मनगढन्ते मनग्गे ,
आत्मानुभुतिको
भुत सवार भएको देख्छु ।
आफैंलाई तेर्स्याउँछु
एक प्रश्न ,
आखिर कुन समुद्रको
उत्पादन हो यो ?
अरुले जसरी फुक्यो ,
उसरी मात्र बज्ने
तिम्रो शंख ,
जूनको अदभूत शंख ।

-२०८० माघ २३, धरान ।

(२९) सहिदले सिकाएको पाठ

पाठ - १
अँध्यारो मन नपराउने तिमी ,
हरेक अन्धकारबाट पनि ,
पाठ सिक्दै जानु ;
अरु केहि नसिकेपनि ,
अँध्यारोमा हिड्दा ,
उज्यालो चाहिँ लिएरै हिड्नु ।

पाठ - २
फूल मनपराउने तिमी ,
फकृएका हरेक थुङ्गाबाट ,
पाठ सिक्दै जानु ;
अरु केहि नसिकेपनि ,
काँडाघारीमा हराउँदा,
गुलाफी मुस्कुराउन सिक्नु ।

पाठ - ३
गणित मनपराउने तिमी ,
हरेक सुत्रबाट ,
जीवन सिक्दै जानु ;
अरु केहि नसिकेपनि ,
सयबाट बाह्र झिके ,
शुन्य हुन्छ भन्ने जान्नु ।

पाठ - ४
सहयात्रीको याद मनपराउने तिमी ,
हरेक यात्राबाट पाठ सिक्दै जानु ;
अरु केहि नसिकेपनि ,
उसलाई अभावको महसुस ,
अवश्य गराउनु ।

पाठ - ५
हरेक कुरामा उपयोगिता देख्ने तिमी ,
बाढीमा पनि उपयोगिता देख्नु ;
अरु केहि नदेखेपनि ,
एक ठाउँमा समस्या बनेको नदीलाई ,
अर्को ठाउँमा प्राकृतिक स्रोत बनाउनु ।

पाठ - ६
एकान्त मन पराउने तिमी ,
एकान्तमा एकत्रित हुन सिक्नु ;
अरु केहि नसिकेपनि ,
एकान्त बासमा ,
सादृश्यता अवश्य सिक्नु ।

पाठ - ७
औषधि अधिक लिने तिमी ,
हरेकको स्वाद लिनु ;
अरु केहि नलिएपनि , सिटामोलको तितो ,
र हनिटसको गुलियो छुट्याउन सक्नु ।

पाठ - ८
चोट सहन मनपराउने तिमी ,
हरेक चोटबाट सिक्दै जानु ;
अरु केहि नसिकेपनि ,
चर्मचोट भन्दा ,
मर्मचोट ,
बढी पिडादायी भन्ने बुझ्नु ।

पाठ - ९
सधैं सत्यको पक्षमा बोल्ने तिमी ,
आफ्नो सत्यतामा अडिग रहनु ;
अरु केहि नभएपनि ,
बनावटी होईन ,
स्वयं सिद्ध सत्यको वकालत गर्नु ।

पाठ - १०
बिद्रोह मन पराउने तिमी ,
हरेक बिद्रोहबाट ,
पाठ सिक्दै जानु ;
अरु केहि नसिकेपनि ,
बिद्रोह गर्दा ,
सामुहिकता साथै राख्नु ।

- २०८०, माघ १६, सहिद दिवस । धरान ।

(२८) जूनसंगको करारनामा

भावुक मुर्खताको घमण्डले , बाध्यात्मक रहरका लहराले , विद्वान मुर्खताको विवसताले , छर्लङ्ग घामको सितलताले , सुसूचित करारनामा , जीवन ... जूनसंगको एक करारनामा । मुटु रद्दीको टोकरी नभएकोले ,
मुटुमा राप र ताप नभर्नाले ,
मुटुलाई शोक र पिडाले नपुर्नाले ,
माघे घामको तापको अतृप्तिले ,
भरिपूर्ण करारनामा,
जीवन ...
जूनसंगको एक करारनामा ।

बाटोमा शत्रुले खनेका खाल्डा नभएकाले,
ती त लम्केर हिंडाउने साधन भएकाले ,
हिले-बाटो त सजकताको शिक्षक भएकोले ,
आफ्नो गन्तव्य आफैं निर्धारित हुने हुनाले ,
अविरल यात्रा ,
जीवन ...
जूनसंगको एक करारनामा ।

उडेर संसार जित्ने अभिलाषाले,
सुँग्दै अनेकौं फूलका बास्नाले,
बलिरहेको टुकीछेउ अकस्मात पुग्नाले ,
पुतलीको इहलीला समाप्त हुनाले ,
अदृश्य भविस्य ,
जीवन ...
जूनसंगको एक करारनामा ।

- २०८० पौष २९, दमक ।

Monday, November 17, 2025

(२७) जूनको मिस्ड कल

कहिल्यै फोन नआउने जूनको ,
देखें आज मिस्ड कल ,
क्लिक गरि खोलेँ कल डिटेल ,
लेखिएको थियो ...
र्‍याङ्ग टु टाइम्स !

कल जूनकै थ्यो ,
कल ब्याक मैले गर्नै पर्थ्यो ।
तर ...
मानेन मन ,
लागेन चोरी औंलो ,
थिच्न बटन ,
कल ब्याकको ।
मिस्ड कल भएपनि जूनको ,
आयो मनमा अनायासै बानी उनको ।
कुनै कालखण्डमा ...
कुनै कालखण्डमा ,
म कल गर्थें ,
दुई रिङ्ग गएपछि ,
जूनको सट्टा ,
कम्प्युटरकी बनावटी जून बोल्थिन ...
`द नम्बर यू आअ डायलिङ इज करेन्टली बिजी ,
प्लिज ट्राइ अगेन लेटअ!´

ऊबेला उनको वजन थ्यो
ठ्याक्कै किलोमा ,
आज वजन एक ग्राम भएपछि ,
उनले सम्झिन क्यारे !
नत्र किन गर्थिन र ,
मिस्ड कल !

आज ,
आज चर्खाको घुमाई ,
उल्टिएको छ ,
किलो नै नपुगे पनि ,
वजन मेरो पनि बढेकै छ ,
केही खुड्किला चढेकै छ ,
जूनले नै नपत्याए पनि ,
कसै न कसैले ,
कुनै न कुनै रुपमा ,
केहि न केहि आकारमा ,
कस्तो न कस्तो स्वरुपमा ,
पत्याएकै छन ।
सायद ...
सायद त्यही भएरै होला ,
मेरो मधुरो प्रगतिको रापले ,
जूनको तापलाई ,
ओझेलमा पारेपछि ,
मिस्ड कलको सहारामा पुगिन क्यारे !
तथापि ...
तथापि मेरो चोरी औंलोले थिचेन ,
कल ब्याक बटन ।

कसैले फुलाइदिएको बलुन ,
जूनको गन्तव्य बिहिन उडान ।
कसैले टासिंदिएको प्राइस ट्याग ,
जूनको अधिमुल्यन ।
कसैले फुकिदिएको कान ,
पत्याउनै नपर्ने कुराको मान ।
हिजोका तिम्रा अधि सुसारे ,
आजका कुरौटे अधि बेसारे ।
सबै सबै मैले देखिसकें ,
तिम्लाई बोक्नेले सायद बोकिसके ।

अब ...
अब तिम्रो पूर्णिमा ,
बनिसकेकोछ औंसी ।
सायद त्यही थाहा पाएर होला ,
आज तिम्रो मनमा फराकिलो ,
फरकपना आयो ,
अनि पुग्यौ निर्णयमा ,
मिस्ड कलको ।
तर ...
तर ,
मेरो चोरी औंलोले थिचेन ,
कल ब्याक बटन ।

आज तिम्लाई देखाइएका सपनाहरू ,
झरेका छन् भुइँभरी ।
कोहि भुइँमान्छे ,
तिनै सपना टिपेर ,
सिउरिन खोज्दैछ्न शिरमा ।
तर ...
तर तिम्रा सपनाद्रष्टा ,
आज भूमिकाको पर्खाइमा ,
भुमिगत सरह ,
शहरका गल्लीमा ,
रुमलिएको देखिन्छन् ।
सायद ...
सायद त्यसको ,
प्रत्युत्पादनमा ,
तिमीले मलाई मिस्ड कल गर्‍यौ ।
तर ...
तर मेरो चोरी औंलोले थिचेन ,
कल ब्याक बटन ।

-२०८० पौष २०, धरान ।

(१) मानिस उखान-टुक्के: संवाद बकम्फुसे

(आज विद्यालयको कक्षा १०, ´´कोशी´´ सेक्सनकी एक छात्राले एउटा कथा सुनाउन अनुरोध गरिन । कहिलेकाहीँ कुनैकुनै बिषय/प्रसंग अनुरुपमा कथा सुनाउने कट...