Sunday, May 24, 2026

(१) मानिस उखान-टुक्के: संवाद बकम्फुसे

(आज विद्यालयको कक्षा १०, ´´कोशी´´ सेक्सनकी एक छात्राले एउटा कथा सुनाउन अनुरोध गरिन । कहिलेकाहीँ कुनैकुनै बिषय/प्रसंग अनुरुपमा कथा सुनाउने कट्टेलसरलाई खासै कथा सुनाउने इच्छा त थिएन , तर आजकाल विद्यार्थीको जिद्दी अघि के नै गर्न सकिन्छ र ! अनि अल्छि-पाराले केहि न केहि त भन्नै पर्यो, त्यसपछि शुरु गरे , छेउ न टुप्पोको कथा ।)

ऊ कार्यलयबाट भर्खर घर आइपुगेको छ । पूरा कथा ...

Saturday, April 25, 2026

(१५) इथा: म्याजिकल रियालिज्मसंगै नारीवाद, बुद्ध दर्शन र इतिहास

ओम रिजालको `पैकेलो´ र निलम कार्की निहारिकाको `राजमाता´ संगै नेपालको इतिहासमा नलेखिएका पराक्रम र राजकाजका वास्तविक कथाहरूले माथा इतिहासमा रन्थनिरहेको केहि दिनमा नै स्तम्भकार एवं पद्मश्री साहित्य पुरस्कार (२०७७)बाट पुरस्कृत अब्बल लेखक , केशव दाहाल कृत अर्को ऐतिहासिक आख्यान हातामा पर्‍यो । बलात्कारको पिडाबाट अग्निस्नानसम्मको निर्णयमा पुगेकी पुर्व कुमारीलाई म्याजिकल रियलिज्म शैलीबाट प्रस्तुत गर्दै स्वनिर्बन्धमा पुर्‍याउने र ` जीवन हुनुजति सुन्दर कुरा जीवनमा अरु केही छैन । जब जीवन हुन्छ , त्यसपछि यसको अर्थ , औचित्य र प्रयोजन प्रारम्भ हुन्छ - पृ. ३७६ ।´ भन्ने दृढता सहितको नवजीवन दिलाउने नारी आवाज, नारी प्रतिज्ञा र नारी विप्लवको त्रिआयाममा गाँसिएको इतिहास र कथाको सुन्दर माला हो - ``इथा´´ ।

कुनै अमुक पद/प्रतिष्ठा/उपादीले मानवीय समवेदनालाई रोक्न सक्दैन , तर उल्लेखित सामाजिक बन्धनकारी डोरीमा आफूलाई देखावटी बन्धकी बनाउने फोस्रो अभिप्रायले एक सबल मानिसमा मानसिक बिचलन आउँछ भन्ने सुक्ष्म विश्लेषणात्मक टिप्पणी उठाएर शुरु भएको इथाले माथामा प्रत्येक परिघटना पढिरहँदा ज्वारभाटा उत्पन्न गराउँछन् । अनावश्यक सामाजिक बन्धनले मानिसलाई स्व-अन्त्यसम्म पुर्‍याउने कुरामा दाहाल प्रष्ट देखिन्छन् । (... त्यही अनुछेंमा बस्थी कुमारी वसुधा । जसले राधा जन्मोत्सवको दिन अग्निस्नान गर्ने निर्णय गरेकी थिई - पृ. ४ ।) प्रेममा समर्पणको नारा देखाएता पनि पुरूषहरू प्रेममा स्वार्थपूर्तिका आकांक्षाबाट बाहिर आउन नसक्ने तितो यथार्थको विश्लेषणात्मक पुष्टि गर्न दाहालले झण्डै-झण्डै पच्चीस सय बर्ष अगाडिको कथामा मिहिनेत गरेका छन् । खासगरी दरबारीया र कुलीन खानदानी पुरुषहरू प्रेमको टेकोमा यौनको सिद्दी पछि अलप हुन्छन् भन्ने कुरा राजकुमार शुभकामदेवले वसुधामा गरेको `भोग´को परिघटनाले स्पष्टता दर्शाउँछ । यस्ता स्वार्थप्रेरित प्रेमबाट पीडित महिलाहरू आत्महत्यासम्मको निर्णयमा पुग्छन् । (म यसकारण इन्द्राजात्राको दिन शुभकामदेवको आँखै अगाडि अग्निस्नान गर्न चाहन्छु , ता कि उसलाई जिन्दगीभर आत्मग्लानि होस - पृ. २६) व्यभिचारी पुरूषको नग्नता यहाँ भेटिन्छ । यतिमात्र होईन , आफ्नो यौन दुर्बलता कुनैपनि हालतमा स्विकार्न नसक्ने पुरूष मानसिकता उजागर गर्न दाहालले `महासमागम´ जस्तो सिङ्गो च्यापटर नै राखेका छन् , जसमा यौन भन्दा बढी पुरुष घमण्ड देखिन्छ । सार्वजनिक समारोहमा एउटी नारीलाई नङ्ग्याउनुलाई उनीहरू धर्म ठान्छन् । आफ्नो यौन उत्तेजनामा तथाकथित पुरूषत्व सिद्ध गर्न नरबली समेतको कुकृत्य गर्न पछि नपर्नु पुरूष उदण्डता र सत्ता उन्मादको प्रतिक होईन र ?! सँगसँगै , आफ्नो मालिकत्व र पुरूषार्थ सिद्द गर्न बहुविवाहमा रम्ने राजा प्रमाती अहंकार र अरूको स्वतन्त्रता अस्वीकार्य पुरूष शासक हो । यतिमात्र होइन , सौमर राजा जेतेदास्तीको नारीप्रतिको आसक्तिपना पनि निच पुरूष शासनको मानसिकताको चित्रण हो ।(स्त्रीहरूका कुनै पनि मामला निजी हुदैनन् , ती सबै पुरूषका मामला हुन्छन् - पृ. २५४) यस प्रकारको सोचाइको आत्मरतीमा रमाउने शासकलाई भने दाहालले चोटिलो झापट भने दिएका छ्न । (... तपाईं आसक्तिलाई प्रेम ठान्नुहुन्छ र अहंकारलाई पुरूषत्व … तर म गरिमाबिनाको प्रेमलाई मूल्यहीन ठान्छु - पृ. २५५) नारी प्रतिज्ञा मार्फत कठोर बिद्रोहको चेतले आख्यानलाई थप ससक्त बनाएकोछ ।

म्याजिकल रियालिज्ममा टाइम मसिनको अवधारणा मिश्रित तथा कतिपय ऐतिहासिक घटनालाई पौराणिक तर `एक्स्ट्रीम क्राइम थृलर´ शैलीमा पस्किएको इथालय , एउटा अदभूत लेखनको सपाट नमूना हो जसले लेखन शैलीको मात्र होइन, सोचन शक्तिको पनि भरपूर प्रयोग गरेको छ ।

बलात्कार जस्तो जघन्य सामाजिक एवं कानुनी अपराधबाट पीडित नारीको दृष्टिकोणबाट लेखिनु पनि इथाको अर्को अलौकिक शैली हो , जसमा बदनाम होईन बदलाको गहिरो प्रतिज्ञा भेटिन्छ । (आफूले कहिल्यै नगरेको गल्तीका लागि म किन उदास बन्ने ? बस त्यही क्षण उसले आफूलाई हीनभाव र दोषबाट निर्मल गरिदिई - पृ. ६१) कथा पौराणिक शैलीमा अघि बढेपनि नारी शोषणको परिघटनाको प्रस्तुतिमा वर्तमान समाज नै दर्पित हुन्छ , जो आफैंमा म्याजिकल रियलिज्म हो ।

मुल कथाको अतिरिक्त इथामा लगभग पच्चीस सय बर्ष अगाडिको तत्कालीन समाजका खासगरी शासक वर्गले सृजना गरेका वास्तुकलाका नमुनाहरू समेतको विवेचनात्मक प्रस्तुति पनि भेटिन्छ । (दरबारका खापाजरूमा सहस्र खापाहरू थिए । … ती स्वर्णजडित खम्बा , चाँदीझैं टल्कने बढेमानका ढोका , … वरिपरि बुट्टेदार झ्यालहरू, … - पृ. ८४; … कलात्मक टँडालहरू, जसलाई नियालेर हेर्दा देखिन्थे , यौन र प्रेमका रोमाञ्चक कथा… पृ. ९३) शासकहरूको विलासिताको जीवनशैलीको स्पष्टता हो इथा जसको पुर्णताको लागि लेखकले हरेकजसो परिघटनाको वर्णनमा आउने झिलमहल जस्ता भवनहरुको चिनारीमा लामै समय खर्चिएका छन् । अर्कोतिर , मगध सम्राट , बिम्बिसारको राजमहलको द्वारपालका लागि निर्मित विश्रामगृहको रुग्णताको बर्णन हेर्दा तत्कालीन सामाजिक बर्ग विभेदको पनि सपाट चित्रण हुन्छ । सँगसँगै उपकथामा बुनेर दाहालले प्राचीन किराँतहरूको उपत्यका प्रवेश , खुवालुङको पुजन र महत्त्व , तत्कालीन जीवनशैली आदि बडो सुन्दर माला स्वरुपमा बुनेकाछन ।

ऐतिहासिक पृष्ठभूमिमा लेखिएको भएता पनि इथाले आधुनिक जीवन-दर्शनलाई समेत संगसगै बोकेर हिडेकोछ । (पानी निरन्तर बगिरहन्छ , यो आंशिक सत्य हो , जब पानी घैलामा राखिन्छ , त्यो स्थिर हुन्छ - पृ. १३६ ।) वर्तमान राजनीतिलाई समेत स्पष्ट पार्ने पितृहन्ता पुत्र , अजातशत्रुको तानाशाही सत्ताहत्याको बर्णन हो , जसमा सत्ता पाउनको लागी गरिने कुकृत्य र कुकर्म छर्लङ्ग हुन्छ । यसका अलावा , जीवन भोगाइको अनवरत यात्रामा , मानिसले आरोह भन्दा अवरोहमा आफूलाई बढी महसुस गर्दछ (दु:खको आफ्नै घनत्व र तौल हुन्छ , रानी । कसका दु:ख भारी र कसका हलुका , त्यो दु:ख बोक्नेको सामर्थ्यले बताउने कुरा हो - पृ.१६० ।) भन्ने दार्शनिकता दिन पनि दाहाल पछि परेका छैनन् । नियमित जीवन भोगाइलाई परिवर्तन गरेपछि मानिसमा अनिश्चितता बढ्नु स्वभाविक नै हो तर जीवन दर्शनको अठोट परिवर्तन गर्नुहुन्न (बाटोले कतै पुर्‍याँदैन, खासमा बाटो हामीलाई पर्खिबसेको हुन्छ, हामी आउँछौँ र बाटोमाथि चढेर स्वयम् अगाडि बढछौँ -पृ.२०४) भन्ने गहन चेतले भरिपूर्ण कथाको इतिहास हो - इथा । नजानिदो पारामै दार्शनिक चेतको गहनता पस्किन खप्पिस दाहालले धरती , वायु , पानी , आकाश र आगो जस्ता अनन्त प्राकृतिक बस्तुहरू मानव जीवनका सबैभन्दा ठुला पाँच गुरू हुन भनेका छन , जसबाट मानिसमा जीवन भोगाइका अमेट्य पाँच विज्ञानहरू: समानता , गतिशीलता , जीवन्तता , व्यापकता र न्यायको महाज्ञान प्राप्त हुन्छ । धर्म , ज्ञान सत्य , मानवता आदि परिभाषित गर्ने क्रममा उनले सभ्यताको जननी राजधर्म, प्रजाधर्म र समाजधर्मको योग हो भनेका छन् । प्रभुत्व `म´बाट चेतन `म´मा परिवर्तन हुनका निम्ति मानिसले गर्नुपर्ने कठिन साधनाको शृङ्खलाबद्ध प्रस्तुतिले त्रिपिटकको चुरो उजागर गरेकोछ ।

किराँत सभ्यताको मानव उत्पति चरण देखि चराचर जगत सम्मको अन्तरबस्तुमा गहन अध्ययन गरेका दाहालले पञ्च तत्वको समिश्रणबाट चल्ने मानव जीवनमा इश्वर नै प्रकृति र प्रकृति नै ईश्वर हुन् भन्ने सौमर दार्शनिकता प्रस्तुत गरेका छन् ।

झन्डैझन्डै संपूर्ण आख्यानको गुदीलाई केन्द्रविन्दुमा राखेर पस्किएको `महायज्ञ´ एउटा यस्तो यज्ञको स्वरूपमा प्रस्तुत गरिएकोछ , जसमा `सर्वधर्म मानवधर्म´लाई केन्द्रीकृत गरिएकोछ । यसमा विभिन्न नाम र संप्रदायमा बिभाजन भएको समाजलाई `मानव समाज´ बनाउने अभिप्राय स्पष्ट हुन्छ । (ज्ञानानवरन , दर्शनावरण ,वेदनीय ,मोहनीय , अन्तराय , आयु , नाम र गोत्र यी आठ चीजबाट मान्छे मुक्त भयो भने ऊ ईश्वर बन्छ - प्र. ३१०) ठाउँठाउँमा कुनै महापूराण श्रवण गरेको अनुभुति हुने इथाको दार्शनिक गुदीमा रुमलिएर हिड्दा मानिसलाई सांसारिक भ्रमको भ्रमणबाट आत्मिक भ्रमणमा लिन हुन अभिप्रेरणा प्राप्त हुन्छ । हरेक वाक्य र वाक्यांश नै उच दार्शनिक चेतबाट बगेको यो यज्ञ छिचोल्न पाठकले पनि अलि बढी नै समय खर्चिनुपर्ने देखिन्छ ।

नारीवादको आत्मामा लेखिएको तर बुद्ध दर्शनको सेरोफेरोमा घुमाउरो शैलीमा हिड्ने सिलसिलामा एक पात्रले स्वयं नै सारनाथमा तथागत बुद्धसंग संवाद गर्नु , एउटा संयोग मात्र नभै अहिंसा र जैविक न्यायको पर्याय बुद्ध दर्शन हो भन्नु बुद्ध दर्शनको प्रमाण हो । नयनताराले हर क्षण युद्धको अस्विकार गर्नु र शान्तिपूर्ण जीवनको पक्षपोषण गर्नु पनि उल्लेखित अर्को तथ्य हो । `म दयामा भन्दा न्यायमा धेरै विश्वास गर्छु - पृ. २४९ ।´ जस्ता बुद्ध दर्शनका आदर्श सहित अघि बढिरहँदा नारी भित्र हुने मानवीय समवेदनशीलताको स्निग्ध चित्र भेटिन्छ । साथै बुद्ध दर्शनका चार उप-दर्शनहरूको विश्लेषणात्मक बर्णन पनि भेटिन्छ - इथामा । जन्म , मृत्यु , आत्मा , जीवन आदि चराचर जगतको परिभाषा गर्ने क्रममा पनि बुद्ध दर्शनको गहिरो अध्ययनको दर्पणा भेटिन्छ । विश्वशान्तिलाई केन्द्रीय भुमिकामा राखिएको महायज्ञ , दाहालको विश्वबन्धुत्वको मनोकांक्षाको उपज हो । यसले मानिसलाई जान-अन्जानमा गरेका गल्तीमा ग्लानी गर्दै बाँकी जीवनलाई वास्तविक मानव भएर बाँच्ने उत्प्रेरणा जगाउँछ ।

(कहिलेकाहीँ बिद्रोह आफैं धर्म बन्छ , जब त्यसमा न्याय प्रज्ज्वलित हुन्छ - प्र. ३६४) समाज परिवर्तनको लागि कलम र कदम दुईवटा सँगसँगै उठाउन सके अधिकार स्थापना गर्न सकिन्छ भन्ने दार्शनिक चेत स्थापनार्थ निर्वित्त कुमारी, जो जीवनको बिसौं दसकको मध्याह्नमा, एक खोपीमा निर्दिष्ट जीवन बाँचिरहेकी छन , उक्त पात्र (वसुधा)को मानसिक संवेदनशीलतालाई तृतीय पुरूषमा वर्णन गरिरहँदा , प्रथम र द्वितीय पुरूष बिचको वार्तालापलाई सान्दर्भिकता सहितको प्रस्तुतिले पठनलाई औपन्यासिक भन्दा बढी काव्यिक नाटक स्वरुपको बनाएको छ । समय सापेक्ष राज्य विप्लव समेत न्यायोचित हुने रचना गर्भबाट सृजित इथा त्यसकारण अलौकिक लेखनको नमुना हो , जसमा मिथकमा सत्यता वा भनौं सत्यतामा मिथकको समिश्रण भेटिन्छ । हुन त दाहाल स्वयंले प्रारम्भमा नै इथाको शाब्दिक अर्थ दिने बेला इथालाई कल्पना र सत्यलाई मिलाएर गाउने गीत भनेका छन । त्यसैले पनि यो काव्यिकता बोकेको इतिहास जस्तो तर कस्तो-कस्तो कथा हो । यसमा दर्शन , साहित्य र इतिहासको त्रिवेणी छ , जसलाई एक पटक नदी, अर्कोपटक दोभान र तेस्रोपटक त्रिवेणी स्वरुपमा तर्नु उपयुक्त हुन्छ ।

प्रकाशित https://www.samakalinsahitya.com/sahitya/details/8892

Saturday, April 11, 2026

(१४) राजमाता: इतिहासले ठाउँ नदिएका माताहरूको महाकथा

मदन पुरस्कार , पद्मश्री पुरस्कार लगायत साहित्यका विभिन्न राष्ट्रिय एवं अन्तरास्ट्रिय पुरस्कारहरू बाट पुरस्कृत एवं सम्मानित लेखक, निलम कार्की निहारिकाको पछिल्लो ऐतिहासिक आख्यान `राजमाता´ पढ्ने हुटहुटी जाग्नु त्यति अनौठो त थिएन , तर सरसर्ती पढ्न चाहने म जस्तो पाठकलाई, हुरूरू पढाईले नपुग्ने उहाँका कृतिमा रुमलिन केहि समय अवश्य लाग्यो । आख्यानको `आरम्भ´ले नै नेपाली प्राचीन देखि आधुनिक इतिहास , र इतिहासकारहरुको सारंश खिचेको यो पुस्तक आख्यान भन्दा बढी दस्तावेजको रुपमा आएकोछ । उपलब्ध तथ्यांकले समेट्न नसकेका ऐतिहासिक कालखण्डमा घटेका वास्तविक घटनाहरूको गहिरो अध्ययन , अनुसन्धान , संश्लेषण र विश्लेषवादी लेखकीय परिचय बनाउन सफल लेखक कार्कीले, पुरूष माहात्म्यले साशित हाम्रो इतिहासलाई पछि पारिएका , वा भनौं लेख्न नै आवश्यक नठानिएका, तर राजकाजमा अहम भुमिका खेलेका राजमाताहरूको भुमिकालाई मिहिन रूपमा पाठकको हातमा पुर्‍याएको देखिन्छ ।

नारी प्रधान लेखनको शुरूवातमा नै हार वा अस्तित्व बिहिनता स्वीकार्न नसक्ने पुरूष मानसिकता र सत्ताच्युत भएपनि सत्तास्व्वादको धङधङीले छोड्न सक्दैन भन्ने प्रसंग समेटेको भेटिन्छ । (शत्रुबाट राज्य लुटिएपछि अघिको ओहदा नरहे तापनि , समयले शरणार्थी बनाए तापनि मर्दानाको शिरमा मानसम्मानको पगरी यथावत थियो । अनि संस्कार मानिने घुम्टो थिए जनानाका निधारसम्म - पृ. ४ ।)

देवलदेवीको बालविवाहको प्रसंग आफैंमा इतिहासमा कसरी अबोध बालिकाहरू साशकको कुदृष्टीमा पर्थे भन्ने उदाहरण हो । अर्कोतिर , आफुसंग सामर्थ्य हुँदाहुँदै पनि माइतीलाइ सहयोग गर्न नसक्ने बनाइनु र संस्कारको नामले नमिल्ने भनिनु , प्राचिनकालमा , सामान्य समाजमा मात्र नभै राजकाजी समाजमा समेत नारी शोषण जकडिएको थियो भन्ने स्पष्टता देखिन्छ , जसमा उनीहरू जन्मनुको नै के अर्थ र भन्ने समेतको मानसिक यातनामा रहन्थे । (``ग्व जिगु जन्मयाछु ज्या वल, अजि?´´-पृ. ३४)

नहुनेहरूलाई नहुँदा खासै असर नपर्ला , तर राजाकाज र वैभवमा बाँचिरहेकाहरु जब लुटिन्छन , तव उनीहरूमा मानसिक बिचलन चरम सिमाम पुग्छ र अन्ततः मृत्युमा परिणत हुन्छ भन्ने चेत , गया सुद्दिनको आक्रमणबाट रित्तिएका तिरहुत/सिम्रौनगढका राजा , हरिसिंहदेवको मृत्युको कथामा भेटिन्छ । अर्कोतर्फ , सन्तान र जिम्मेवारीप्रति पुरुष भन्दा महिला अझ जिम्मेवार हुन्छन् भन्ने कुरा रानी देवलदेवीले सती नजाने निर्णय गरेको र राजकुमारको रेखेदेखका लागि जुनसुकै मुल्य चुकाउन तयार भएको घटनाले प्रष्ट पार्छ । `उनको काँधमा पिताविहीन भूमिविहीन बालक छोराको अभिभारा बाँकी रह्यो । त्यसैले … संगै जल्ने अग्निको बाटो रोज्न सकिनन - पृ. ४८ ।´

प्राचीन नेपालको कलाकृति र तत्कालीन राजदरबारहरूको सौन्दर्यात्मक बर्णनको (.. पौवा थाङकाले सजिएको , काठ र काँसका गणेश , शिव , बिष्णुलक्ष्मी , सूर्य , बुद्ध मातृका आदिका सानाठूला मुर्तिले सजिएको बिशाल कक्ष … पृ. ६४) बर्णमाला समेत हो - राजामाता ।

पूरुष जडित मानसिकतामा `उत्तराधिकारी´ शब्दको अर्थ नै `पुरुष´ थियो भन्ने कुरा (एक त नाबालिका अनि स्त्री जाती … अघिका दिनमा कहिल्यै नभएको घटना , नबसेको थितिलाई स्वीकार्न सहज नहुनु अस्वभाविक थिएन - पृ. ७०) , नाबालिका नायकदेवीलाई युथुनिममको उपराज अधिकारिणी घोषणा गर्दा तत्कालीन भारदारहरूले सहजै स्वीकार्न नसकेको परिघटनाले दर्शाउँछ । उनीहरू स्त्री शासित राज्यमा जिउन बाध्य त थिए तर आत्मिक स्वीकार थिएन । राज्यमा हुने मानवीय एवं प्राकृतिक बिपत्ति समेतमा `आइमाईले चलाएको राज्य´ को उपमा दिएर पन्छिने पुरुष मानसिकताले नै नेपाली इतिहासमा `देवलदेवी´ र `पदुमलदेवी´हरु नलेखिएका हुन ।

प्राचीन समाजमा मात्र होइन , आजसम्म पनि आफ्नो स्वार्थ हेतु `कन्यादान´ गर्ने समाजले त्यही स्वार्थको लागि `डोलाजी´ चाहिँ सहजै किन स्वीकार्दैन ? (कन्यालाई बाहिर राज्य पठाउन मिल्ने तर उपराजको अधिकरिणीको स्वामी बन्ने कुमार बाहिरिया हुन नमिल्ने हठमा … पृ. ८२)

एक विवाहित नारी, चाहे राज होस या रैती कुल , जसमा भएपनि आफुले गरेको काम निस्वार्थ हो भन्ने प्रमाणित गर्न ठुलो संघर्ष गर्नुपर्ने सामाजिक यथार्थको गहिरो चित्रण पनि हो - राजमाता । (रैती दुनियाँले अब देवलदेवीलाई हिजोको वैरी राज्य तिरहुतकी रानी होइन , नेपालम्ण्डलकै छोरीकै रुपमा स्वीकारेका थिए - पृ. १४४)

पहिलो खण्डको अन्त्यमा आइपुग्दा , ऐतिहासिक उपन्यासले यक्ष मल्लसम्मको अखण्ड नेपालमण्डलको अलिखित इतिहास लेखेको भेटिन्छ । देवलदेवीको राज्य सञ्चालनको सुक्ष्म विश्लेषणात्मक बर्णनको वरिपरि घुमेर बि. स. १४०० को आधाआधिमा सकिएको पहिलो अध्यायको अध्ययनले नेपालको प्राचीन इतिहासको एउटा दर्विलो पाटो उजेलेकोछ ।

लगभग मध्यकालीन नेपालको गोर्खा राज्यमा नरभूपाल शाहको उदयपूर्वको , `हालसम्म अलिखित´ इतिहास लेखेर शुरु गरिएको दोश्रो अध्याय , अर्कि राजमाता(मल्लिकावती)को उदयबाट अगाडि बढेको देखिन्छ । राज्य सञ्चालनमा आफ्नो अधिपत्य कायम गर्न , छोरा नरभूपाललाई उत्तराधिकारी बनाउने प्रयासमा उनको समय सान्दर्भिक र मनोबैज्ञानिक संघर्षको लामो फेहरिस्त छिचोल्दै जाँदा , तत्कालीन सेन र गोर्खालीहरूको जुँगाको लडाइँमा , राजकुमारीहरू `डोली´ स्वरुपमा `महारानीहरू´ बनाइएर कसरी पिसिएका थिए भन्ने प्रष्ट हुन्छ । ( म बुहारी उनका चित्त नपर्‍याकी भया पनि नाति उनका हुन … ह्याँ नाति जन्मियाको खबर खबर पुग्न्यासाथ हडबड गर्दै लिन आउनुपरन्या । … क्यान ढिलासुस्ती हुनगयओ ? पृ. २०२)

आफ्नो सन्तानको लागि सती जानबाट समेत रोकिएर हुर्काएको छोराको ब्रतबन्ध र बिबाह जस्ता महत्त्वपूर्ण संस्कारमा समेत बिधवा भएकै कारणले उपस्थित हुन नपाउनुको गहिरो पिडा र तत्कालीन तथाकथित सामाजिक नियममा रैती मात्र होइन राज खानदान समेत ग्रसित थियो । अझ भनौं , यस्ता कुसंस्कारको थालनी र निरन्तरता नै कुलीन बर्ग (राज खानदान)बाट हुन्थ्यो भन्ने कुरा राजमाता मल्लिकावतीले , छोरा , नरभूपाललाई बेहुला बनाएर अन्माउँदा पाएको मानसिक यातनाको सविस्तार वर्णनले स्पष्ट पार्छ । (शुभकर्म वैधव्य आँखाले हेर्न अपशकुन हुन्छ भन्ने भयंकर त्रासको भ्रम उनका मस्तिष्कमा रोपिइरहेका थिए - पृ. ३११)

तत्कालीन गोर्खा राज्यमा नरभूपाल राजा भएपनि उनकी रानी चन्द्रप्रभावतीबाट जयजन्म नभएकोले उनको दरबारमा गुम्दै गएको हैसियतले बिट मारिएको दोश्रो खण्डले `त्यसपछि के भएको थियो होला ?´ भन्ने हुटहुटी मार्फत तेस्रो खण्डमा लैजान्छ ।

राजा नरभूपाल शाहको राज्योत्तराधिकारी जन्म हुन नसकेको र लगातार चारवटा विवाह भएको लामो फेहरिस्त भित्र शुरु भएको तेस्रो खण्डले पटरानी चन्द्रप्रभावतीले आफुले आफैंलाई सौता हालेको प्रसंगको मसिनो विश्लेषणमा यौनिता कम राज्य निरंतरताको आवश्यकता बढी देखिन्छ । मामा चेली- फुपू चेला वैवाहिक संस्कार तत्कालीन राज खानदानमा सहर्ष स्वीकार गरिन्थ्यो भन्ने कुरा राजा नरभूपाल शाहको चौथो बिबाह मावली राजकन्यासँग भएको प्रसंगले प्रष्ट पार्छ ।

अन्य ऐतिहासिक दस्तावेज र लेखहरुमा दरबारभित्रका नाजायज यौन परिघटनाहरूको फेहरिस्त नै भेटिएता पनि तत्कालीन राजदरबारमा हुने यौन विकृतिमा कमै स्थान दिइएको `राजमाता´मा राजा नरभूपालको चार रानी इतरको संबन्धलाई मात्र अलि बढी छोइएकोछ । (हजुरका चार महारानीमा नभाया त्यस्तो के छ त्यसमा ? पृ. ४१७) अर्कोतर्फ , राजाहरूबाट दरबारमा काम गर्ने महिलाहरू माथि हुने खुलमखुला यौन हिंसाको (राजा रनबन डुलिबक्सिन्छ भन्न मात्र । महारानीहरू मात्रै होइन , काली धाईका भुँडी पनि डम्मै - पृ. ५१२ ।) सपाट चित्रण पनि भेटिन्छ । साथै दरबारका केहि केही सुरारे र सेवक बिचको अनैतिक लसपसले वास्तविक अनैतिकताको हैसियत पाउँदा- नपाउँदा सजायको भागिदार बनेका घटना बिशेषले पनि `आफुले गरे पुरुषार्थ , अरुले गरे सजाय´ को मुखबोली कानुनी राजका यस्ता परिघटनाले यसलाई पुष्टि गर्छ ।

उदेश्य सही राखेर गरिए पनि गैरकानुनी काम भएमा सजायको भागिदार बन्नुपर्छ भन्ने कुरा मझुवालीले पाएको सिस्न्या दण्डले प्रष्ट पार्छ ।

इष्ट ईन्डिया कम्पनी , प्रथम र दोस्रो विश्वयुद्ध अघि नै `गोर्खाली´ फौज युद्धकलाका निपुण थिए भन्ने कुरा तत्कालीन गोर्खाका राजा नरभूपाल शाहले तत्कालीन नेपाल मण्डलमा पठाएका सहयोगी/भाडाका सिपाहीको वृतान्तले दर्शाउँछ ।

गोर्खा दरबारमा जेठा महारानीले परिचीत पृथ्वीनारायणकी जेठी आमाले नुवाकोट आक्रमणको समयमा पति, नरभूपाललाई गरेको बुद्धिमताको सहयोगले चन्द्रप्रभावतीलाई अर्की `राजमाता´रुपमा नेपाली इतिहासमा चिनाएकोछ ।

गुमीसकेको गोर्खा राज्यमा उत्तराधिकारी दिलाउन अहम् भुमिका खेलेको मात्र नभै , नरभूपालको नायवी स्वरुपमा राजकाजमा सरिक रहेकी मुमा महारानी मल्लिकावती , दरबार त्यागको निर्णय सम्मको अवस्थामा पुग्नु , आमाप्रतिको अपमान हो या होइन , नरभूपाल महाराज ?

एकातिर पुर्विय दर्शनको हिमायती भन्ने , अर्कोतिर पश्चिमा दर्शनको संस्कारमा चुर्लुम्म डुबेको वर्तमानको हरेक समारोह र उत्सवमा ``केक काट्ने´´ चलनप्रती अप्रत्यक्ष रूपले असहमति जनाउन समेत कार्की पछि परेकी छैनन् । `युवराजले गुरूले दिएको तिल र सखर राखिएको गाइको दुध अंजुलीमा राखेर तीन पटक पिए - पृ. ५३५ ।´ पृथ्वीनारायणको जन्मोत्सवको प्रसंगमा उल्लेखित यो हरफ आफैंमा काफी छैन र ?

नेपाल त के विश्व भरी नै नारी शिक्षामा निर्दयी तत्कालीन समाजमा पनि उबेलाको गोर्खा दरबारका राजकुमारीहरुमा चाहिँ केहिहदसम्मको शैक्षिक चेतना बढाइएको थियो । `सबैलाई पढ्न रूचि नभए पनि , निरंतरता नपाए पनि राजकुमारीहरूलाई अक्षर चिनाउने परिपाटी बसाइएको थियो - पृ. ५३६ ।´ यसलाई महिला सशक्तीकरणको जगको रुपमा ब्याख्या गर्न सकिन्छ । शारीरिक कदका कारण अविवाहित रहनुपरे पनि यथेष्ट लेखपढ मार्फत आफ्ना दाजु पृथ्वीनारायणलाई खजान्ची बनी पुरापुर सहयोग गर्ने अर्की राजकुमारी पद्मकुमारी मध्यकालीन नेपाली इतिहासमा ओझेल पारिएकी अविवाहित तर कर्मले पराक्रमी `राजमाता´ हुन , जसका शब्द कडा भएपनि राजा पृथ्वीनारायण शाहका लागि मार्गदर्शक हुन्थे । त्यतिमात्र नभै नेपाल एकीकरणको इतिहासमा कहिल्यै नलेखिने वास्तविक `राजमाता´हरू ती हुन जसले गोर्खा राज्यको बिस्तार , बिकास र फैलावटका खातिर वीर छोराहरू जन्माएर पुस्तौंदेखि सेवा गरिरहे ।

`चुगली हाली घर फोर्न्या, भाँड्न्यालाई चिनेर राख्नुपर्न्या हुन्छ । पिताको कुभलो सोच्न्याले पुत्रको पनि भलो सोच्या हुन्याछैनन -पृ. ५४६ ।´ पिता नरभूपालले मन बरालेको संक्रमणकालको फाइदामा दरबरका केहि भारदारहरूको उक्साहटमा राजमुकुट परिहिने सुरसारमा रहेका पृथ्वीनारायणलाई , उक्साउनेको भर नहुने प्रष्ट पार्दै अरुको लहलहैमा नलाग्न दिएको उपदेश , नेपाली इतिहासकी अर्की परिपक्व `राजमाता चन्द्रप्रभावती´ को योगदानको उजागर हो । यसैगरी , उकसाहट र चौताराको जोडबलमा राजा नरभूपाल मानसिक बिचलनताको अवस्थामा पुगेर गोर्खा राज्यकै अस्तित्व धरापमा परेको अवस्थाबाट राजालाई आस्वस्त पारी आफूले `चौतारा महारानी´ पदवी लिएर राजकार्यमा सकृयता लिएको घटनाले समेत चन्द्रप्रभावतीको `राजमातृत्व´ पुष्टि हुन्छ ।

राजमातामा राजनीति मात्र होईन , तत्कालीन समयमा जकडिएको अन्धविश्वास र कुसंस्कार चरम रुप पनि देखाइएकोछ । `खटिरा आएर हातखुट्टाका औंला झर्ने महारोगमा राजा नरभूपालको जुठोपुरो खाँदा निको हुने धारणा थियो , रैतीमा - पृ. ५७० ।´ राजाको खुट्टा धोएको पानी खाँदा बोली नफुटेका बच्चाको बोली फुट्ने जस्तो अन्धविश्वास अरु कुनै हुन्छ ?

`धरतीबाट बिदा हुने तयारी स्वरूप अह्राइसिकाइ गरिरहँदा चौतारा महारानीको हृदय जति रोइरहेको भए तापनि आँखा बिल्कुल मरुभूमि थियो - पृ. ५८२।´आफू सती जाने अन्तिम अवस्थामा समेत राजकार्य र सन्तान हेतु बुहारी नरेन्द्रलक्ष्मीलाई नरभूपालका रानीहरूले झन्डै पाँच पेज भन्दा लामो बर्णनमा दिएको अन्तिम सल्लाह मात्री स्नेहको उत्कृष्ट बर्णन हो, जो पढिरहँदा गला अवरुद्ध हुँदै ऐठन भएन भने त के नै पो भावनात्मक पाठक भैएला र ?!? यतिमात्र होइन , नरभूपालकी कान्छी रानीको `सती बिदाइ´ बर्णनमा कार्कीले पटक-पटक गला अवरुद्ध गराएकीछन ।

आफ्ना चार आमाहरू मध्ये कान्छी आमा बाहेकलाई सती जानबाट रोक्ने पृथ्वीनारायण तत्कालीन समयका बिद्रोही या समाजसुधारक ? एक अनुसन्धानात्मक प्रश्न ।

तेसो अध्यायको समापनले भने मलाई पनि झल्याँस्स बनायो । वर्तमान नेपाल बनाउन के `राजा´हरूको मात्र योगदान छ त ? के इतिहास जित्नेको बखान मात्र हो त ? जित्नेले त जितौरी पाउलान् , तर हार्नेहरुको शारीरिक , मानसिक , आर्थिक लगायतका क्षतिको लेखन कसले गर्ने ? सिमित ब्यक्ति (राजाहरूमा) आउने सनकीले कति आमाका काखहरू रित्तिए होलान् ? अनकौं अनेक थुप्रै प्रश्नले घेरिएर सकियो - राजमाता । अनि फेरि निहारिकाको अर्को-अर्को यस्तै खोजमूलक ऐतिहासिक उपन्यासको प्रतीक्षा भने जीवितै छ ।

समग्रमा हेर्दा ,

कतिपय परिघटनाहरूको वर्णनमा झन्डैझन्डै सरोबरी प्रयोग गरिएको नेपाल भाषा र मैथिली भाषाले , यी भाषाको ज्ञान नभएका पाठकले पढाईको रफ्तारमा शाब्दिक आनन्द पाउन सकैनन , तथापि पारिस्थिक बुझाइमा भने खास अप्ठ्यारो पार्दैन । मुख्य पात्रहरूको हरेक उपस्तिथिमा पद सहितको प्रस्तुति (जस्तै मुमा महारानी मल्लीकावती, जेठा रानी चन्द्रप्रभावती, युवराज पृथ्वीनारायण आदि)ले उपन्यासलाई केहि लम्ब्याउने काम गरेकोछ । यसरी हरेक संबोधनमा , `मुमा महारानी´ जेठा रानी´ आदि जस्ता मात्र पदाबली प्रयोग भएको भए महाकथा केहि छोटो हुन्थ्यो कि ? सायद , ऐतिहासिक कथा भएकोले पाठकहरूको पठन रफ्तारमा ब्रेक नलागोस भन्ने हेतुले पूरापूर पद र नाम प्रयोग भएको हुनसक्छ । अर्कोतर्फ मध्यकालीन नेपाली भाषाको यथेष्ट प्रयोगले भने उपन्यासलाई वास्तविक ``इतिहासको पुस्तक´´ बनाएकोछ । यसैगरी , नुवाकोट बिजय अघिसम्म दरबारको नायवी स्वरूपमा क्रमशः आएका राजमाताहरू कथान्ततिर भने अन्य ऐतिहासिक दस्तावेजमा झैं अलि ओझेलमा परेको आभास हुन्छ । खासगरी रणमैदानको ब्याख्यामा केन्द्रित हुँदा अपेक्षित राजमाताहरू भेटिन्नन ।

अर्कोतिर , कुर्नेस, पटरानी, खोत्तर , ददा , सइस ,रङक , कपरदार , डहर , झारा , पुरश्चरण , नक्यानी रानी , स्याहा , तगेको भोटो , कलियो , आदि जस्ता कैयन शब्दहरू अबको पुस्ताले प्रयोग त पक्कै गर्दैन-गर्दैन , पढ्न चाहिँ कति प्रतिशतले पढ्लान ? प्रश्न , प्रश्न नै बाँकी छ ।

विश्वप्रसिद्ध महान लेखकहरू विलियम शेक्सपियर र एन्थन चेकोवका कृतिहरूमा झैँ कुलीन बर्ग र राजखानदानका कथामा , उनीहरूका राजनीतिक दाउपेचको शिलशिलेवार बर्णमालाको शैलीमा लेखिएको `राजमाता´ , वास्तविक राजमाताहरूको महाकथा हो जसले नामेटको अवस्थामा पटक-पटक पुगेको तत्कालीन नेपाल मण्डल बचाउन बिना पदवी अमुल्य योगदान गरे । `अधिकार बाहिरबाट खोजेर हुँदैन , ठाउँमै आसन जमाएर मन जित्दै वातावरण बनाउनुपर्नेछ - पृ २३८।´, `गुरु विद्वान भएर मात्र हुन्या छैन । चेलाका खातिर हित सोच्न्या पनि हुनुपर्न्या हुन्छ - पृ. ४३८ ।´, `परिरहेको पानी रोक्न सकिन्न , आफू नरूझ्न घुम ओढ्न्या हो - पृ. ५०० ।´ , `पोल्या पनि घामै, पिट्या पनि आमै प्यारो - पृ. ५४९ । ´ , आदि जस्ता सामाजिक चेतनाका कयौं वाक्यहरू र सयौं वाक्यमा बिम्ब र अलंकारले शृङ्खलाबद्ध बुनिएको महाकथा पढिरहहँदा कहिलेकाहीँ गद्य नभै पद्यमा पौडीरहेको आभास हुन्छ । खासगरी हिन्दु शासन प्रणालीमा `ब्राह्मण वाक्य´को महत्त्वमा आधारित राज्य शासन प्रणाली थियो भन्ने कुरा त लगभग ७०० पेजको यात्रा गर्दा , झन्डै झन्डै हरेक पृष्ठमा आउने राजगुरू , राजपुरोहित र राजपण्डितहरूको दृष्टिकोण, अवधारणा र बिचारको बर्चस्वले नै प्रष्ट्याउँछ ।

प्रथम पढाइमा नारी नायकत्वको दृष्टिकोणबाट सरसर्ती पढिए पनि राजमाता , तत्कालीन नेपालको राजनीतिक , सामाजिक , सास्कृतिक , बैचारिक , पारिवारिक कलह , न्याय प्रणाली आदि विषयका शोधपत्रको लागि भरपर्दो स्रोत सामाग्री हो , जसलाई अनुसन्धानका विद्यार्थीले अझ मिहिन रुपमा पर्गेल्न सक्छन् ।

प्रकाशित

Friday, March 27, 2026

(१३) `पैकेलो´: इतिहासमा लेख्नैपर्ने योद्धाको गाथा



हटारू पछि आएको ओम रिजालको दोस्रो उपन्यास , `पैकेलो´, खस भाषा र संस्कृतिको मुल जरो खोजिनिधी गर्न चाहनेहरूको लागि एउटा गतिलो साधनको रूपमा बजारमा आएकोछ । दुल्लु क्षेत्रमा प्रसिद्ध `बालाराजा काशीरामको भारत(लोकगाथा)´ मा आधारित यो उपन्यास , समाजमा आजसम्म पनि हेपाइको जातको रूपमा जीवन बाँचिरहेका दमाई जातिहरूले कसरी लोक संकृति बचाइ राखेकाछन भन्ने गतिलो उदाहरण बनेर हाम्रो हातमा परेकोछ । हालको पुर्व र पश्चिम नेपालका तत्कालीन राज्यहरू बिचको पुस्तौंदेखिको शत्रुताको अन्त्यसँगै इतिहासमा पनि उल्लेख नभएको वियोगान्त कथाको गाथा हो - पैकेलो ।

पहिलो अध्यायमा, कथानकले कृष्ण शाह हजुरबुबासँग दुल्लु दरबार र दुलालहरूको नलेखिएको इतिहास खोतलि रहँदा, बिचबिचमा प्रतिप्रश्न गर्ने अधबसैं केटा यस्तो पात्र हो जसले आलोचनात्मक जनमानसिकता मात्र होइन अल्पज्ञानको पगरीमा हाम्रो गर्विलो इतिहास र परंरागत जीवन शलीमा खोट मात्र भेट्यो । यसैगरी , राजनीतिक परिवर्तन होस या शासन सत्ता हत्याउने आन्दोलन नै किन नहुन , हरेक पटक , पटकपटक हाम्रा ऐतिहासिक धरोहरहरूमा भएका तोडफोड र आगजनी जस्ता गलत क्रियाकलापले गर्विलो इतिहास र पहिचान धुलोपिठो भएको कुरालाई मिहिन रुपमा रिजालले पैकेलो मार्फत स्पष्ट पारेका छन । राजाका सन्तानहरूसगंको रिस दरबारमाथि पोखिँदा दुल्लुको वैभव नासियो, मासियो (पृ. २२) । तत्कालीन जनयुद्धको समय , २०५९ बैशाखमा जलाइएको दुल्लु दररबार बारे उल्लेखित यो वाक्यांश धेरै कुराको सन्देश हो, राजनीतिक कर्मीहरूको लागि मार्ग निर्देशक सिद्धान्त पनि हो । इतिहास नामेट गरेर भविष्य बनाउनेतर्फ लाग्नुको के नै तुक होला र ? बहादुर शाहको पश्चिम नेपाल एकीकरणको दौरान , तत्कालीन दुल्लु राज्यले मैत्रीपूर्ण सन्धि मार्फत गरेको बिलयको बारेमा इतिहासमा कतै कतै भेटिएपनी इतिहास आफ्नो बनाउन साशक वर्ग कसरी नीति निर्माण गर्छन भन्ने कुरा , दुल्लु राज्यसँग श्री ३ जंगबहादुरले गरेको राज्य मान्यताको परिघटना नेपाली इतिहासमा लेख्नैपर्ने तथ्य हो । जंगबहादुर कुँवरले आफूलाई ठकुरीमा प्रतिस्थापन गरेपछि देशभरका ठकुरीहरूलाई प्रलोभनमा पारेर आफ्ना समर्थक बनाउने राणाहरूको नीति थियो । त्यसै अनुरूप दुलाल राजाका सन्तानसँग तिनले बिहेवारीद्वारा सोलीडोली साटासाट गरे ….. र दाइजोको रूपमा अप्रत्यक्ष दुल्लु राज्यको मान्यता दिए (पृ. २५) ।

`आमाको पीर´ वास्तविक रुपमै आमाको करूण रसले भिजेको गद्य रुप हो । तथापि पण्डित काशीदासको प्रवचन मार्फत रिजालले मानव जीवन भोगाइको गहिरो दार्शनिक चेत छरेका छन । राजा होस या रैती , मनुष्य जीवनमा सधैं सुखैसुख कसैलाई पनि मिल्दैन (पृ. ३१) । यो वाक्यांशको भाव नै कोही पनि ब्यक्ति अकलोसित र दुर्गुण रहित हुँदैन , सयय चक्र अनुसार कसैले शासक त कसैले शासित हुनैपर्छ । यस्ता जिम्मेवारी बहन गर्दा अनेकन अवरोध आउँछन् , जसबाट भागेर होईन डटेर जीवन उत्तरार्धमा पुग्नुपर्छ भन्ने हो । यसका अलावा राजमाताले बालाराजालाई लडाइँ नगर्नको लागि गरेको बिन्ती एउटा आम आमाको आवाज हो जसमा सन्तानको मृत्युु कुनै पनि आमाले कुनै पनि अवस्थामा कल्पना समेत गर्न सक्दिनन् । आफ्नो सन्तान सधैं नानी/बाबु नै देख्ने आमाको मन (तँ अइतिका दिनको अन्डा , बेलिका दिनको चल्लो - प्र. ४७) कदापि सन्तानको दुख देख्न सक्दिनन् । यतिमात्र होइन , यही अध्यायमा राजकार्य वा देशको प्रमुख प्रशासक सनकले होइन अक्कल र अनुभवीको सल्लाह मुताविक चल्नुपर्छ भन्ने सन्देश रिजालले दिएकाछन । आक्रमक सेनापतिको प्रस्ताव बिपरित राजगुरूले (युद्ध त राजा-महाराजाहरूको आत्मरतिमा रमाउने साधन मात्र हो । शान्ति अन्तिम सत्य हो । शान्तिका लागि कसै न कसैले युद्धमा लगाम लगाउनैपर्छ - पृ.४२) दिएको अभिव्यक्तिले समेत यो कुरालाई पुष्टि गर्छ ।

`रुन्चे लयो´ अर्को अध्याय हो जसमा लडाइँमा जान लागेका योद्धाहरूलाई आत्मबलको उपदेश मात्र होइन मानव जीवनको दैनिक पाटो मायाजाल समेत बुनिएको भेटिन्छ । देशका लागि प्राण उत्सर्ग नै गर्न तयार भएपनि मान्छेको मन हो बिपरित लिङ्गी प्रतिको आकर्षणबाट कहाँ टाढा हुन्छ र ! पृया, आजको रात हाम्णो मिलन्को अन्तिम रात हुन सक्छ । मेरो अँगालाउन आउ । मैन मायाले निथ्रुक्क भिजाउ - पृ. ५७ । भर्खर प्रेममा परेको सिपाहीले कल्पनामा बोलेका यी वाक्यांश सायद आजका योद्दाहरूका पनि साझा आवाज त होइनन् ? यतिमात्र नभै यस अध्यायमा राजमाता , वैजयन्तीमालाले काशीरामलाई जन्म दिंदाको बखत देखि हुर्काउन गरेका हरेक त्याग तपस्या र संघर्षका उपकथाको संगालो हो , मातृप्रेमको ।

`दु:खका गीत´ एउटा प्रेमिल अध्याय हो जसले राजादेखि रैती सम्म सबैको मनलाई एउटै त्यान्द्रोले अड्याएको हुन्छ , त्यो हो आकर्षक , आकर्षकबाट प्रेम हुँदै मिलन र जीवन जगत निरंतरता । राजकुमार र राजकुमारी बिचको प्रेमिल संवाद (आँसी भाँचियापछि जोड्न कामीका आरन लैजानुपड्छ । हियारका दु:खानी सुखानी भन्नु पड्या प्रेमीसँग आउनुपड्छ - पृ. १००) मार्फत सान्सारिक जीवन दर्शन ओकलेका रिजालले , प्रेमिल जीवन जब बैबाहिक जीवनमा परिणत हुन्छ तब उतारचढाव अवश्य आउँछ भन्न पनि पछि परेका छैनन् - त्यो पनि घुमाउरो बाटोमा । यतिमात्र होईन , राज्यसत्ताको उन्माद चढेपछि शासकले आफ्नो पुर्वसर्त र जनबाचा बिर्सछन भन्ने कुरा बालाराजाले रानी चम्पामालासँग गरेको सुहागको रीत दिन नसकेको प्रसंगबाट प्रष्ट हुन्छ । त्यतिमात्र होईन , राज्यसत्ताको उन्मादले मानिसलाई निर्धोमाथि दमन गर्ने सम्मको क्रूर बनाउने कुरा, (... घोडालाई हान्ने चाबुकले महारानीको आङमा चार कोर्‍रा हिर्काए । गाभिनो जीउमाथी चाबुकको प्रहार पर्दा महारानी थेगिन सकिनन र लोटेर मुर्छा परिन - पृ. ११९) साइतको बेला अलच्छिना भन्दै गर्भवती रानीमाथि गरेको चावुक प्रहारको प्रसंगबाट स्पष्ट हुन्छ ।

`खतराको संकेत´ अध्याय बालाराजले राजकुमारको छैठी कर्म पश्चात् युद्धको लागि हिंडेको प्रसंगबाट शुरु भएपनि यसभित्र खसान क्षेत्रका ऐतिहासिक स्थानहरू , `दुल्लु´ , `बाजथला´ आदिको नामाकरण संबंधी पौराणिक एवं लोककथाहरूको उपकथाले बर्णित छ । मध्याह्न भन्दा उकालो लागिसकेको उपन्यासको यो अध्यायले जीवन दर्शन समेत बोक्ल थालिसकेको हुन्छ । `ओर्लनु र उक्लनुमा नै त भेटिन्छ जीवनको लक्ष्य - पृ. १४१ ।´ `भोलिको चिन्ता साधारण रैतीकन मात्तै हुनोरयोछ । राजाकन त आज बाँच्न पाया होइजाँदो रयोछ - पृ. १४२।´ मसानघाटमा नै त भेटिन्छ जीवनको वास्तविक तत्वज्ञान -पृ. १४३।´ यसरी जीवन दर्शनको यात्रामा बढिरहेका कथानक अकस्मात तत्कालका राजाहरूमा रहेको निरंकुशता र रौद्रातालाई देखाउन पनि पछि परेका छैनन् । सामान्य लडाकाहरू सधैं बलीका लागि मात्रै थिए भन्ने आसय पनि यही अध्यायमा भेटिन्छ । `राजाज्ञा भन्ना एक पाइलो दायाँबायाँ अर्न नपाउन्ना क्याको पैचान हो - पृ. १४८ ?´ `राजाका अहम्का अगाडि बारम्बार घुँडा टेक्दैछन शान्ति र सदभाव - पृ. १५४ ।´ `मान्ठकै भाषा नबुझ्ने यी शासकहरू चराको भाषा कसरी बुझुन - पृ. १५७ ?´ प्राचीनतामा मात्र होइन , वर्तमान विश्व राजनीतिमा समेत शासकको सनकी र तानाशाही तवरको कारण नै निर्धाको ज्यानको बाजीमा विश्व शान्ति खलबलिइरहेको कुरा बुझ्न् हामीलाई कठिन छैन ।

`धुजाधुजा घमन्ड´ जस्तो शिर्षक उस्तै भावमा बहेकोछ । युद्द्ले क्षणिक बाहेक अनन्त खुशी दिन्न भन्ने समग्र भावमा लेखिएको यो अध्याय जीवन दर्शनका धेरै वाक्यांशले भरीपूर्ण छ । एक पटकको जीतको उन्मादले मानिसलाई अस्वभाविक घमण्डी बनाउँदै अन्त्यमा पतनमा लान्छ भन्ने कुरा राजा हिन्दपतिको अन्त्यको कथामा प्रष्ट भेटिन्छ भने एकै पटकको जीतबाट नै घमण्डले सगरमाथा छुन्छ भन्ने कुरा राजा काशीरामले, `मण्डलकै शक्तिशाली राजा´ भनी स्वघोषणा गरेको प्रसंगबाट प्रष्ट हुन्छ । घमण्डले मात्तिएका शासकका अधीनमा रहेपनि कसैले समिक्षात्मक रुपमा निजलाई स्मरण गराउनुपर्छ भन्ने कुरा राजगुरूको अनुरोधमा भेटिन्छ । यसका अलावा, शासन सत्तामा पुगेपछि मानिसको घमण्डको पारो अति नै बड्ने र अन्त्यमा त्यसले पतन नै ल्याउने कुरासँग स्पष्टता देखिएको यो अध्यायलाई नेपाली राजनीतिको पछिल्लो घटना, `२०८२ भदौ २३ र २४´ संग राखेर पनि कुनै शोधपत्र अध्ययन गर्न सकिन्छ । भारदारीहरुको गद्दारीले त कतै बिनाश निम्तिएको होइन - हिन्दपतिको जस्तै ?।?।?

`बखतमा बुद्धि नपुर्‍उँदा जस्तै बुद्धिमानलाई पनि दु:ख हुन्छ । … हठ संधै पृय हुँदैन - पृ. २०२ ।´ राजनीति र राजाकाजमा विजय मात्र उच्चतम उपलब्धि होइन , मुख्य शत्रु माथि बिजय पश्चात् समेत सहायकहरूको पनि डर हुनुपर्छ भन्ने दर्शनको सेरोफेरोमा अर्को अध्याय , `घाम डुबेपछि´ मा डुब्न् सकिन्छ । सतीको श्राप भन्ने नेपाली उक्तिलाई चरितार्थ गर्ने परिघटना वरिपरि घुम्दा, मानव जीवनमा जीतको उन्माद भन्दा निरंतरताको आवश्यकता बढी हुन्छ । प्राप्त उपलब्धिको रक्षा नै सबैभन्दा ठुलो चुनौती हो । भुकम्प भन्दा पराकम्पले कतिपय अवस्थामा असोचनीय घटना निम्त्याँछ ।

`दुइ थुङगा फूल´ मार्फत , कथानक सन्तानप्रतिको आमाको अतुलनीय मायाको बहमा बग्दै जान्छन र देउलीगढबाट दुल्लुको पटाङगिनीमा पुगेपछि युद्दले कदापि दीर्घकालीन शान्ति दिंदैन भन्ने प्रष्ट्याउन इरान , इराक हुँदै अफगानिस्तान , सिरीया , फकल्याण्ड आदि युद्दले निम्त्याएको बिनाशलाई कथामा घुसाउँछ्न र रिजालले आफ्नो लेखकीय धर्म दर्शाउँछन ।

`सौंराइ माटाकी´ वास्तविक रुपमै मातृभुमि , मातृभाषा , संस्कार , संकृति र परंपरा प्रतिको प्रेमको प्रतिक बनेकोछ । मुल कथाबाट लेखकले आफ्नो मनलाई लेखक बनाएर लेखिएको यो अध्याय समापन होइन । नलेखिएको इतिहास लेखनीको थालनी हो । यसले गुम्दै गएको खस सभ्यताको अध्ययन र अनुसन्धान गर्दै भाषा र संकृति संरक्षण गर्न सबै पाठाकलाई उत्प्रेरित गर्छ ।

`फ्ल्यास ब्याक टेक्निक´मा लेखिएको र खसान क्षेत्रको मुल भाषा र लोकलयलाई टपक्कै टिपेर बुनिएको हजारी मालाको स्वरूपको पैकेलो एउटा उपन्यास मात्र नभै नलेखिएको इतिहास लेखिएको दस्तावेज हो । मुल कथामा त्यति ठुलो आवश्यकता नभएपनि कहिँकहिँ ट्वाक्क मिसाइएको १/२ हरफको यौन नराखेकै भएपनि तात्विक असर पर्ने थिएन । वर्तमानमा बोलिने नेपाली भाषाको आदिभुमीको अध्ययन गर्न कसलाई पनि मन नहोला र ? खसान क्षेत्रको पनि दुल्लु भुभाग र यसको ऐतिहासिकतालाई मिहिन रूपमा केलाउन सफल रिजालले पैकेलोलाई लडाइँको सिपाही बिम्बमा भाषा, कला, साहित्य अध्ययनको हतियार बनाएकाछन । यहाँ कर्णालीका लोक गाथा छन, लोकभाका छन, लोक साहित्य छ , लोक उक्ति छ , उखान छन , टुक्का छन … कति छन कति । बस एउटा पाठकले एकाग्रतामा पढ्नु चाहिँ पर्छ । खस सभ्यताको जरो किलो खोजीकर्तालाई गतीलो सन्दर्भ सामग्री पनि हो - पैकेलो ।

२५० पृष्ठमा लेखिएको र नेपालय प्रकाशनले बजारमा ल्याएको यो उपन्यासको बजार मुल्य नेपाली रुपैया ५७५/- तोकिएकोछ ।

प्रकाशित

Monday, March 23, 2026

(१२) डाँफेको रंङ: किशोरको वय, पाकाको लय

एउटै कृतिलाई फरकफरक उमेर समुहका पाठकहरूले फरकफरक तारतम्यले पढ्न सक्छन् भन्ने गहिरो साहित्यिक चेतका धनी, डा. नवराज लम्सालको `डाँफेको रङ´ पनि उनको उक्त धनकै अर्को स्वरूपमा आएको अर्को `अग्नि´ हो । झट्ट सुन्दा कहाँको महाकाब्य , कहाँको किशोर उपन्यास , भन्ने लागेता पनि जसले अग्निलाई जुन दृष्टिकोणको पढेको छ, उसले डाँफेको रङलाई सोही दृष्टिकोणबाट अवश्य पढ्नेछ , अनि भेट्नेछ सप्तरङ्गी डाँफेको आत्मावृतान्त भित्र आफ्नै जीवनको सप्तरङ्गी इन्द्रेणी ।


मान्छेहरू रूखलाई रूख मात्र देख्छन् र च्वाट्ट काटिदिन्छन । तिनलाई के थाहा र ? एउटा रूखसँग चराको कति ठुलो संबन्ध , साइनो र जीवनको कथा छ (पृ. ३) । कथाराम्भमा नै पर्यावरणीय चेतको गहिराई दृष्टान्तमा पुर्‍याउने अभिप्रायले डा. लम्सालले सरलताको उत्कृष्टतामा दार्शनिकताको गहिराई नापेका छ्न, डाँफेको रङ्गमा । जीवन दर्शनको गहिरो चेतलाई बिना चेतावनी कलिला मस्तिष्कमा स्वस्फूर्त स्वस्तिक छापा लगाउन प्रयोग गरिएया यी र यस्ता अनेकन ब्यञ्जनाको खुराक हो , जब्बरेको कथा ।


आफ्नी बुढीलाई , आफ्ना बाआमालाई ढाँट्नेले संसारलाई कति ढाँट्ला (पृ. ६) ? अर्थात् , सामाजिक चेतको सकारात्मक चिन्तन बिना मानिसले अरुलाई मात्र होइन आफुले आफैंलाई पनि झुठो सावित गरिरहन्छ । यसबाट खासगरी किशोर मनहरूलाई टाढा राख्नु आजको अपरिहार्यता हो ।


श्रवणकुमारको कथाको लीला लेखनलाई गहिरो जीवन दर्शनको वकालत गराउने जब्बरे डाँफेको वक्तव्यमा रुमलिरहँदा , लाग्छ यो उपन्यास , वर्गमा किशोर उपन्यास भनिएपनि एउटा यस्तो उपन्यास हो जसले हरेक परिपक्व पाठकलाई आफ्नो विगतमा जोडेर वर्तमान वरिपरि भेट्ने र अकाट्य भविष्यको चिन्ताको शिखरमा पनि पुर्‍याउने भर्‍याङको काम गर्दछ ।


जब मनले सोचेजस्तो शरीर चल्दैन नि त्यही रहेछ बुढो हुने भनेको (पृ. २३) । सामाजिक प्राणीको हैसियतले मानिसको जीवन दर्शन र कार्य व्यबहार मेल खान हम्मेहम्मे पर्ने तितो यथार्थका वाक्यांशलाई समेटिएको जब्बरेको चकचके बानीबाट हामी को नै पो अछुतो होलाउँ र ! तर हाम्रो कल्पना र दृस्ठिकोणको सदाबहार खलपात्र , रावणले दिएको ज्ञानको भित्री पाटो उपन्यासको अर्को दर्विलो दर्शन हो ।


मलाई काफल चरी र बेपत्ता नागरिकका परिवार उस्तै लाग्छ । रून्छन , रून्छन , थाक्छन , निदाउँछन … फेरि बिहान हुन्छ (पृ. ४१) । लक्षणा र व्यञ्जनाले तिखारिएको कलम बोक्न खप्पिस डा. लम्साल, खरानी चराको कथा र `काफल पाक्यो´ आवाजलाई वर्तमान राजनीतिको सपाट बर्णन गर्नबाट पछि परेका छैनन् । एउटा एक्लो डाँफेको प्रथम पुरुष व्यक्तित्व मार्फत लाक्षणिकताको उच्चस्तरको प्रयोगमा भनिएको कथाले, वर्तमानमा शासन सत्ताको उत्कर्शमा रहेका सिमित वर्गले समेत प्राप्त उपलब्धिलाई दुरुपयोग गरेमा भविष्यमा `एक्लो डाँफे´ बन्ने निश्चितै छ भनी नम्र स्वरमा कडा चेतावनी समेत तेर्स्याएका छन । त्यसैले, सामान्य नागरिक सत्ताको भर्‍याङका खुड्किला मात्र भैरहेको परिदृश्यको चोटिलो कोसेली पनि पो हो त डाँफेको रङ ।


िशोरावस्थामा हुने बिपरित लिङ्गप्रतिको तिब्राकर्षण , पारिवारिक हठ र आत्मसमर्पणको संगालोलाई थाहै नपाई बुनेको कथा त क्या बा त , जब्बरे ! क्या बात ! मन पुलकीत गर्ने कयौं उपकथाहरुको मालामा चरा र मानिस बिचको पौराणिक कालदेखि रहिआएको अन्तरसम्बन्ध , पर्यावरणीय सहअस्तित्व र सांसारिक प्रेमको दर्पण पनि हो जब्बरेको आत्माकथा । त्यसैगरी कुनै अप्रत्याशित परिघटनाले कसरी संबन्धहरू टुङ्गिन्छन र त्यस्ता बिछोडले कसरी मानवीय जीवन भोगाइमा दुरगामी अमेट्य छाप छोड्छन भन्ने गहिरो दार्शनिक चेतको सरलीकृत कृति बनेर पाठकको हातमा परेको छ , यो आख्यान । सही मानिस सही ठाउँमा पुर्‍याउनुपर्छ भन्ने मान्यतालाई चराले समेत बुझ्नु मानिसको लागि कुरीकुरी नै त होईन ? परिवार भनेको प्रेम रहेछ । जीवन भनेको बिश्वास रहेछ । (पृ. ११४) भन्दै कथान्तमा आइपुग्दा दार्शनिक चेतको उत्कृष्ट उदाहरण प्रस्तुतिमा कुनै खोट भेटिन्न ।


गहकिला शब्द-सागरमा डुबुल्किँदै काब्य चेतमा लहलाउने लेखक बाट यती सरल र मिठो आख्यान एउटा पाठकले पढ्न पाउनु आफैंमा अनौठो होइन नभनी रहन सकिन्न । खासगरी १० देखि १६ बर्ष उमेर समुहलाई लक्षित भनिए पनि डाँफेको रङ एउटा यस्तो उपन्यास हो , जसलाई उल्लेखित उमेर समुह माथिका हरेक पाठकले आ-आफ्नै सुर , ताल र लयमा गाउन सक्ने गीतको रुपमा स्वीकार्छन् । किशोरहरूमा हराउँदै गएको पठन संकृतिलाई स्थापित गराउन हरेक विद्यालयका पुस्तकालयमा केहि थान मात्र भएपनि संग्रह गर्न सके किशोरावस्थाबाट नै नैतिकताका पाटामा विद्यार्थीहरूलाई साक्षात्कार गराउन र उनीहरुमा सामाजिक चेत तथा सकारात्मक जीवन दर्शनको बोध गराउन सकिन्छ । जीवन परिवर्तन संभावनाको खानी हो जसमा `स्व´को भुमिका गहन हुन्छ भन्ने यथार्थमा परिधिस्त यो उपन्यास, लोककथाहरूको लीला लेखनले समयानुकूल बनाएकोछ, पठनीय बनाएकोछ र सबैभन्दा महत्त्वपूर्ण कुरा त पौराणिक कथाहरुलाई नवीकरण गरेर किशोर केन्द्रित बनाइएकोछ । साथै सन्तति प्रतिको त्याग र मरणोप्रान्त समेतको निस्वार्थ स्नेहको प्रतीक हो पनि हो डाँफेको रङ । किशोरकिशोरीको कथा पनि यति सरल, सरस , सौम्य र शालीनक भाषामा उजागर गर्न सकिन्छ भन्ने कुरालाई चरितार्थ गर्नु लम्सालको अर्को परिचय बनेकोछ, डाँफेको रङ । आख्यानको अन्त्यमा सोधिएका १० वटा प्रासंगिक प्रश्नको उत्तर खोज्नु पाठकीय धर्म हुनेछ भने खाली ठाउँमा स्वउत्तरित प्रश्नावली बनाउनु जीवन दर्शनको शुरुआत हुनेछ । जदौ 🙏

(३९) जून ! म आफैं भेट्न आउँछु

जून !
म आफैं भेट्न आउँछु ।

जब वसन्त हुन्छ ,
तिमीले टाकुरामा राताम्मे भएर,
अतृप्तिको उत्कर्शमा ,
सगरको गहिराई नापी रहेको थाहा पाउँदा ,
मेरो अन्तस्करणले अनायासै ,
हुटहुटीलाई चलाउँछ ।
तबसम्म जून !
तिमी त्यहीँ पर्खिरहनु ,
म आफैं भेट्न आउँछु ।


जब गृष्म हुन्छ ,
तिमीले बगैंचामा सिंदुरे भएर,
झुलाइको उत्कर्शमा ,
धराको गतिमान गणिती रहेको थाहा पाउँदा ,
मेरो अन्तस्करणले अनायासै ,
पदचाललाई बढाउँछ ।
तबसम्म जून !
तिमी त्यहीँ पर्खिरहनु ,
म आफैं भेट्न आउँछु ।


जब बर्षा हुन्छ ,
तिमीले गरामा खेतारी भएर,
छुपछुप्याइको उत्कर्शमा ,
दलदलेको स्थिरता ठम्याइ रहेको थाहा पाउँदा ,
मेरो अन्तस्करणले अनायासै ,
ढुकढुकीलाई फकाउँछ ।
तबसम्म जून !
तिमी त्यहीँ पर्खिरहनु ,
म आफैं भेट्न आउँछु ।


जब शरद हुन्छ ,
तिमीले फाँटमा बयेली खेलेर ,
लहल्याइको उत्कर्शमा ,
पुष्पवनको वायुस्नानी रहेको थाहा पाउँदा ,
मेरो अन्तस्करणले अनायासै ,
स्निग्धतालाई उजिल्याउँछ ।
तबसम्म जून !
तिमी त्यहीँ पर्खिरहनु ,
म आफैं भेट्न आउँछु ।


जब हेमन्त हुन्छ ,
तिमीले काँल्ला काँल्लामा पहेँलपुर भएर ,
झुकाइको उत्कर्शमा ,
क्षेत्रज्ञको नेत्रार्ज्जनी रहेको थाहा पाउँदा ,
मेरो अन्तस्करणले अनायासै ,
सुखानेत्रार्जललाई टिल्पील्याउँछ ।
तबसम्म जून !
तिमी त्यहीँ पर्खिरहनु ,
म आफैं भेट्न आउँछु ।


जब शिशिर हुन्छ ,
तिमीले हिमालमा सेताम्मे भएर,
अनिद्राको उत्कर्शमा,
सागरको बहाइ नियालीरहेको थापा पाउँदा ,
मेरो अन्तस्करणले अनायासै ,
छट्पटी बढाउँछ ।
तबसम्म जून !
तिमी त्यहीँ पर्खिरहनु ,
म आफैं भेट्न आउँछु ।

०८२ चैत्र ०७ , धरान ।

Monday, December 15, 2025

(2) Guiding the Future: Headship in schools - three Rs

'Guiding the Future: Perquisites for Leadership Effectiveness' is a descriptive qualitative research article by Jayandra Bahadur Shrestha, PhD, published in the form of an ebook, which mainly talks about the fact that leadership in schools is not a position, but rather it is a transformation.

Shrestha wants the school heads of Nepal to convert their vision into direction and direction into progress. The study has clearly been conducted under three key dimensions – personal, functional, and contextual requisites (3 Rs) for effective school leadership in Nepal. For a better understanding of the study and research literature, Shrestha has provided sufficient references from both international and national researchers. Dr Shrestha is not completely in favour of any specific approach of leadership; he wants a headteacher as a dynamic personality who can act as an autocratic, a democratic, or a laissez-faire leader for the all-around development of the school. He has clearly stated that if the headteacher is deeply committed to the school’s development, he/she can get support from the community, and the school can make progress. Professional dedication, along with the team work and commitment, are the most essential factors of successful headship in schools. Moreover, a head teacher should not be rigid in decision-making procedures, he/she can be a democratic, semi-democratic, or even an autocratic leader depending on the context. Dr Shrestha further analysed his findings that school heads should have personal dedication, ownership and proactive organisational structural behaviour, which lead the institution in the path of progress. Likewise, short-term and long-term plans, concrete SIP and regular communication with the stakeholders are some of the other essentials of model schools’ assets. The voice of the students is equally important for success.

The research is limited to Kathmandu District; therefore, the findings may not be equally applicable to schools outside of Kathmandu District in Nepal. However, Dr Shrestha has tried his best to make research a wider range by including the sample population from cities and the village areas. Moreover, the research is limited to properly managed model schools, but this is not a bad idea, as the objective of the research is to gain an in-depth understanding of the strategies employed by headteachers in these schools. At the same time application of all the findings might not be possible to resource constrained schools, especially in those schools which are located in the remote districts of Nepal.

The PhD thesis article itself is an asset; therefore, it is a worthwhile reading article for headteachers of Nepal, both community and institutional schools. The future of a nation depends on the education being imparted. Therefore, better education is the foundation of a nation, and better schools are the essentials for better education.

(१) मानिस उखान-टुक्के: संवाद बकम्फुसे

(आज विद्यालयको कक्षा १०, ´´कोशी´´ सेक्सनकी एक छात्राले एउटा कथा सुनाउन अनुरोध गरिन । कहिलेकाहीँ कुनैकुनै बिषय/प्रसंग अनुरुपमा कथा सुनाउने कट...