Monday, November 24, 2025
(११) स्वस्पर्श: भुइँमान्छेका आशाका कथा
` केवल डाक्टरले बिरामीलाई जीवन दिंदैन, केहि बिरामीको उपचारमा डाक्टरले पनि नयाँ जीवन प्राप्त गर्छ ।´ आमा अर्थतन्त्रलाई केन्द्रमा राखेर लेखिएको `शुन्यको मुल्य´बाटै मैले पढिइनुपर्ने लेखकको सूचीमा राखेका कर्णालीका कथा होईन कर्णालीका जीवनका लेखक , डा नवराज केसीको पछिल्लो पुस्तक , `स्वस्पर्श´को भुमिकामा उल्लेखित उक्त हरफले साँच्चै नै त्यतिबेला स्वस्पर्श गर्छ जतिबेला पुस्तकको पहिलो कथा जाजरकोटका जंगबहादुरको कथा पढिन्छ र त्यही हरफ पृष्ठ ७ मा सप्रसंङ भेटिन्छ यो वाक्यांश अनि पुस्तकमा बारम्बार यो वाक्यांश दोहोरीरहनु नै पुस्तकको सबैभन्दा सवल पक्ष हो ।
पृष्ठ २३ मा पुग्दा जब जंगबहादुरको बाबुले छोराको अपाङ्गता भत्ता काटिने डरले औषधि खुवाउन बन्द गराएको अन्त्य सहितको वाक्यांशमा पुगें, एकचोटी रोकिएँ , फेरि पढें कतै म गलत भावमा त पढिरहेको छैन । तर यो सत्य थियो । यो सत्य संगै देशको दुर्गम बस्तीमा रहेको वास्तविक चेतनाको स्तरको दर्पण थियो । सामाजिक सुरक्षा भत्ताको उपादेयतामाथि प्रश्न थोपारेको अनुभुति भएता पृष्ठ ३० मा पुग्दा जंगबहादुरको बाबुको वाध्यताको कथाको अनुभुति हुन्छ । सबैभन्दा मुख्य कुरा , अझैसम्म कर्णालीमा रहेको अशिक्षा र गरिबीको स्तरको स्पष्टता भेटिन्छ ।
अध्याय एकमा , कथा भित्रको असफल आत्महत्याकर्ताको श्रवण अनि डा केसीले देखाएको मानव दु:खयन्त्रको जैविक ब्याख्या , शरीरलाई जिमखानाको बिम्ब मार्फत मानव शरीरले सुख भन्दा दश गुणा बढी दु:ख महसुस गर्छ भन्ने सचित्र ब्याख्या मार्फत मनोरोगीलाई रोग निवारणतर्फ स्वबुद्दत्वको स्तरमा पुर्याउन मनोबैज्ञानिक बिष्लेशण गर्दै सिद्दार्थ गौतम बुद्ध मात्रै नभै विश्वका सबैभन्दा ठुला मनोबैज्ञानिक हुन भन्ने तर्कलाई नकार्न सकिन्न । `संसारका सबैभन्दा ठुला मनोबैज्ञानिक २५ सय बर्ष अधि नेपालमा जन्मिएका सिद्दार्थ गौतम नै हुन । आउने पुस्ताले बुद्दलाई शान्तिका दुत बुझ्नुअघि समस्या समाधानका दुत भनी चिनुन । उनका उपदेशमा पहिले समाधानका सुत्र भेटुन , अनि शान्तिको गन्तव्य (पृ. ३४)´
मनोबिज्ञान अध्ययनको कनेक्टिभ डिस्टोर्सन थिअरी लाई नेपाली मनोबैज्ञानिक कथाकार बीपी कोइरालाको दोषी चस्मा मार्फत सरलीकरण गरी गर्बे दाइको शिक्षक-माग्ने-दिने शृङ्खलाबद्ध जीवन कथाको सहाराले मानव व्यबहार र आफूलाई कमजोर ठान्ने (डाउन सिन्ड्रोम थिअरी) र त्यसबाट बच्ने उपायको गहिरो दार्शनिक चेतको संगालो हो -स्वस्पर्श ।
`एक हात काटलिया अब पैर भी काट रहे हो , क्या करोगे ? मीट खाओगे क्या मेरा ?´ (पृ. ८४) आफ्नो हात अचेतन अवस्था नै गुमाएपछि खुट्टा काट्न तम्तयार डाक्टरसंग मन्दिरेले गरेको उक्त संवादले जीवनप्रतिको दृष्टिकोण स्पष्ट पार्छ । हरेक समस्या समाधानको एकमात्र उपाए बाँच्नु हो । बुद्ध दर्शनको गहिरो चेतभित्र रहेर लेखिएको मन्दिरेको कथामा मानव जीवनको त्यो हदसम्मको मनोबैज्ञानिक ब्याख्या भेटिन्छ जुन जीवनको अन्तिम सत्य स्विकार गर्ने अर्धचेतनको अवस्थामा पनि जीवन जिउने कलामा निरन्तर लागिरहन्छ । `हात काट्यो, मैले बर्षौं त्यही हराएका हात त औंला खोजिरहें । बर्षौंपछि पो पत्तो भयो, मसँग अर्को हात रै´छ , दुइ खुट्टा नि रै´छन । जिब्रो , अनुहार , हाँसो -सप्पै बाँकी रै´छ । .. जिन्दगीमा जे पो होस , मुन्टो उतै फर्काउनु , जता उज्यालो हुन्छ , क्या । (पृ. १०७)´ एउटा आम समाजले सामान्य मानिस अथवा झन्डै-झन्डै अस्तित्व नै स्वीकार गर्न नसक्ने पात्रको मुखबाट यति गहकिला जीवन दर्शन ओकाल्न सक्नु डा नवराज केसीको उत्कृष्ट लेखन कलाको उदाहरण हो ।
ध्यार गाउँको कथाको सप्रसंग ब्याख्या गर्ने सिलसिलामा डा केसीले मनोबिज्ञान भित्रको एउटा जटिल अध्ययन , ``फेसियल मिररिङ´´ अर्थात् नवजात शिशु (१ बर्ष उमेर समुह)मा आमाको अनुहारको हाउभाउले उक्त शिशुको वयस्क जीवनको चरीत्र निर्माण गर्छ भन्ने कुरालाई सपाट रुपमा प्रष्ट्याएका छन । इन्फेन्ट मदर अट्याच्मेन्ट (कोख-काख-अनुहार) स्पर्शकै आधारमा मानिसको जीवन सुखी-खुशी , तनावग्रस्त र विध्वंसात्मक हुनेकुराको अध्ययन गर्ने मनोबैज्ञानिक डा बिएट्रिसको निश्कर्शमा आधारित उक्त विश्लेषण बर्तमान समाजको एउटा अत्यावश्यक क्षेत्रको दर्पण हो । यसले मातृशिशु स्याहार र त्यसको महत्वलाई उजागर गरेको छ ।
`पुरानो फोनको भुँडी फुटाएँ, सिम निकाले र आइफोनभित्र छिराएँ ।´ , `मरुभूमिमा प्राचिनकालदेखि निरन्तर बन्दै भत्कँदै गरेका बालुवाका ढिस्का झैं सास धकेल्ने उनका छातिका करङ ...´ , `ढुङ्गे पहाडको चिरा-चिरा चित्राङ्कित गालाका ...´ `आमाले घरलाई नङ्ग्राले उधिनिरहेकी थिइन् ।´ , `जंगबहादुरको भुइँ-छातीमा मैले सकारात्मकताको त्यो बगैचा देखें, जसमा रंङ्गीन फूल होइन , स्वयम् रङको जन्म हुन्थ्यो ।´ `मैले वाक्यको पहिलो शब्द ``हो र ...´´ `मानव क्रुरताको दस्तखत´ `यति लामो उचारण गरेको थिएँ कि , सायद पूर्ण वाक्यको करिब ५० प्रतिशत यसैले ओगटेको थियो होला ।´ लगभग वाक्यांशका हरेक कुनामा प्रयोग भएका यी र यस्ता सयौं-सयौं अलङ्कारले सुसोभित यस पुस्तकमा डा केसीमा केवल डा मात्र होइन , साहित्य चेतको त्यो तहसम्मको गहिराई छ जसमा डुबुल्की मार्न सबैजसो पृष्ठहरुमा बारंम्बर दोहोरी/तेहरी खेलौं-खेलौं लाग्छ ।
`आफ्नो कार्यलभित्र जागिर मात्र हुँदैन , धर्म पनि हुन्छ होला नि ! धर्म मारेर गरेको जागिरले के गर्ने ?´ पृ. १७९ मा नवराज भेडा पात्र मार्फत गरिएको यो बकपत्र सायद डा केसीका हजारौं वाक्यहरूको सार हुनसक्छ जसले मानिसको पेशागत मर्यादा र एक पेशेवरले अर्को पेशेवरलाई गनुपर्ने न्युनतम सम्मानको सुचक हो । नवराज एउटा यस्तो भेडा हुन, जसले स्वजीवन निर्माण गर्छन् , जसले बांच्नुको अर्थ ``बचाउनु हो´´ भन्ने गहन जीवन दर्शनको अर्थपूर्ण ब्याख्या गर्छन् र मृत्युलाई लत्याएर ``चराचर प्राणीका जीवनहरु´´ बचाउन सफल हुन्छन् । बुद्ध दर्शनका सम्यक् स्मृति र सम्यक् प्रयत्नको सम्मिलन्लाई मार्ग निर्देशक सिद्दान्त बनाई मानव जीवनमा यही चोलामा पटकपटक , धेरै पटक पुर्नजन्म हुन्छ । यसका लागि प्रयत्नमा हार होइन हारमा उर्जा आवश्यक हुन्छ भन्ने कठोर यथार्थलाई रीता बहिनीले आत्मसात् गरेको नवजीवनको विश्लेषण , र दुबै खुट्टा लुला भएका पोलियो रोगबाट पीडित भाइले समेत कसरी साइकल मात्र चलाएनन जीवन साइकललाई नै पुनर्जीवन दिए भन्ने कथामा हामी भिज्न सक्नुपर्छ । `मानिसलाई सबैभन्दा धेरै खुसी र निरोगीपन दिने - आफ्ना पृयजनसँगको सम्बन्ध पि रहेछ । (पृ. २४२)´ जीवन दर्शनको उत्कृष्ट हरफहरू मध्य एक उक्त हरफले समेटिएकी एक नारी यति समर्पित पात्र हुन जो आफ्नो कोखलाई काखमा राख्न पाउने स्त्री नैसर्गिकताले बन्चित त्यस्ती रिटायर्ड आमालाई प्रतिनिधित्व गर्छिन् , जसलाई अंकगणितीय उमेरले रिटायर्ड गरेता पनि जीवन दर्शनको सबैभन्दा ठुलो खुसी - आफन्तसँगको मायाले कहिल्यै रिटायर्ड हुन दिएन ।
डा केसीकै शब्द सापटी लिने हो भने पुस्तकको अन्तिम वाक्य लेख्न अत्यन्त गाह्रो हुन्छ - त्यसैले होला अन्तिम कथा लेखनमा समेत चुनौती लिएकै भेटिन्छ । अस्मिता वादीको कथा साच्चै नै क्लाइमेक्स कथा हो , जसलाई सामान्य रुपमा लेखिएको होइन । वादी समुदायको पिडालाई नजिकैबाट नचिहाएका आम पाठकले काल्पनिक कथाको रूपमा उभ्याउन सक्ने यो कथाले बाकी सबै कथाहरूलाई ओझेलमा पार्नसक्ने संभावनाको चुनौतीपूर्ण साहसमा लेखिएको कथा हो - अस्मिता । व्यक्तिगत रूपमा मलाई चाहि यो समस्या परेन किनकि सुदूर पुर्वमा हुर्किए पनि जीवनको एक कालखण्डमा झन्डै एक दशक तत्कालीन सुदूरपश्चिम र कर्णालीलाई चिहाउने मौका मैले पाइसकेकोले होला , सायद । दुइपाइला जमिन समेतको अधिकारबाट बन्चित समुदायलले भोगेका जीवनका अवरोहै अवरोहका बिचमा उभिएर पनि आरोहणमा सफल पात्रको कथा हो ।
एउटा यस्तो पुस्तक जो कागजका पानाले मात्र भरिएको हुन्न , जसमा जीवन जिउने कला होइन , स्वयं जीवन नै हुन्छ भने त्यो हो - स्वस्पर्श । कोमल हृदयबाहक पाठक पटकपटक ऐठनको तहमा पुग्छन् जब पात्रले आफ्नो कथाको उत्कर्शमा पुर्याउँछन । गैर-आख्यानलाई आख्यानको कलमले लेखिएको यो पुस्तक नेपाली साहित्य लेखनको नौलो प्रयोग हो । नव शब्द संयोजन , भावानुवादक वाक्य संरचना , हजारौं अलंकारको मिठाई बनेको छ । आफुले आफैंलाई आफ्नै लागि बाँच्ने जीवन नै जीवनशैली र जीवनशाला हो ।
फाइन पृन्टद्वारा २०८२ भदौमा बजारमा ल्याइएको यस पुस्तकको बजार मुल्य ६४० नेपाली रुपैयाँ तोकिएकोछ ।
Subscribe to:
Post Comments (Atom)
(१) मानिस उखान-टुक्के: संवाद बकम्फुसे
(आज विद्यालयको कक्षा १०, ´´कोशी´´ सेक्सनकी एक छात्राले एउटा कथा सुनाउन अनुरोध गरिन । कहिलेकाहीँ कुनैकुनै बिषय/प्रसंग अनुरुपमा कथा सुनाउने कट...

No comments:
Post a Comment