Monday, March 23, 2026

(३९) जून ! म आफैं भेट्न आउँछु

जून !
म आफैं भेट्न आउँछु ।

जब वसन्त हुन्छ ,
तिमीले टाकुरामा राताम्मे भएर,
अतृप्तिको उत्कर्शमा ,
सगरको गहिराई नापी रहेको थाहा पाउँदा ,
मेरो अन्तस्करणले अनायासै ,
हुटहुटीलाई चलाउँछ ।
तबसम्म जून !
तिमी त्यहीँ पर्खिरहनु ,
म आफैं भेट्न आउँछु ।


जब गृष्म हुन्छ ,
तिमीले बगैंचामा सिंदुरे भएर,
झुलाइको उत्कर्शमा ,
धराको गतिमान गणिती रहेको थाहा पाउँदा ,
मेरो अन्तस्करणले अनायासै ,
पदचाललाई बढाउँछ ।
तबसम्म जून !
तिमी त्यहीँ पर्खिरहनु ,
म आफैं भेट्न आउँछु ।


जब बर्षा हुन्छ ,
तिमीले गरामा खेतारी भएर,
छुपछुप्याइको उत्कर्शमा ,
दलदलेको स्थिरता ठम्याइ रहेको थाहा पाउँदा ,
मेरो अन्तस्करणले अनायासै ,
ढुकढुकीलाई फकाउँछ ।
तबसम्म जून !
तिमी त्यहीँ पर्खिरहनु ,
म आफैं भेट्न आउँछु ।


जब शरद हुन्छ ,
तिमीले फाँटमा बयेली खेलेर ,
लहल्याइको उत्कर्शमा ,
पुष्पवनको वायुस्नानी रहेको थाहा पाउँदा ,
मेरो अन्तस्करणले अनायासै ,
स्निग्धतालाई उजिल्याउँछ ।
तबसम्म जून !
तिमी त्यहीँ पर्खिरहनु ,
म आफैं भेट्न आउँछु ।


जब हेमन्त हुन्छ ,
तिमीले काँल्ला काँल्लामा पहेँलपुर भएर ,
झुकाइको उत्कर्शमा ,
क्षेत्रज्ञको नेत्रार्ज्जनी रहेको थाहा पाउँदा ,
मेरो अन्तस्करणले अनायासै ,
सुखानेत्रार्जललाई टिल्पील्याउँछ ।
तबसम्म जून !
तिमी त्यहीँ पर्खिरहनु ,
म आफैं भेट्न आउँछु ।


जब शिशिर हुन्छ ,
तिमीले हिमालमा सेताम्मे भएर,
अनिद्राको उत्कर्शमा,
सागरको बहाइ नियालीरहेको थापा पाउँदा ,
मेरो अन्तस्करणले अनायासै ,
छट्पटी बढाउँछ ।
तबसम्म जून !
तिमी त्यहीँ पर्खिरहनु ,
म आफैं भेट्न आउँछु ।

०८२ चैत्र ०७ , धरान ।

No comments:

Post a Comment

(१) मानिस उखान-टुक्के: संवाद बकम्फुसे

(आज विद्यालयको कक्षा १०, ´´कोशी´´ सेक्सनकी एक छात्राले एउटा कथा सुनाउन अनुरोध गरिन । कहिलेकाहीँ कुनैकुनै बिषय/प्रसंग अनुरुपमा कथा सुनाउने कट...