Monday, March 23, 2026

(१२) डाँफेको रंङ: किशोरको वय, पाकाको लय

एउटै कृतिलाई फरकफरक उमेर समुहका पाठकहरूले फरकफरक तारतम्यले पढ्न सक्छन् भन्ने गहिरो साहित्यिक चेतका धनी, डा. नवराज लम्सालको `डाँफेको रङ´ पनि उनको उक्त धनकै अर्को स्वरूपमा आएको अर्को `अग्नि´ हो । झट्ट सुन्दा कहाँको महाकाब्य , कहाँको किशोर उपन्यास , भन्ने लागेता पनि जसले अग्निलाई जुन दृष्टिकोणको पढेको छ, उसले डाँफेको रङलाई सोही दृष्टिकोणबाट अवश्य पढ्नेछ , अनि भेट्नेछ सप्तरङ्गी डाँफेको आत्मावृतान्त भित्र आफ्नै जीवनको सप्तरङ्गी इन्द्रेणी ।


मान्छेहरू रूखलाई रूख मात्र देख्छन् र च्वाट्ट काटिदिन्छन । तिनलाई के थाहा र ? एउटा रूखसँग चराको कति ठुलो संबन्ध , साइनो र जीवनको कथा छ (पृ. ३) । कथाराम्भमा नै पर्यावरणीय चेतको गहिराई दृष्टान्तमा पुर्‍याउने अभिप्रायले डा. लम्सालले सरलताको उत्कृष्टतामा दार्शनिकताको गहिराई नापेका छ्न, डाँफेको रङ्गमा । जीवन दर्शनको गहिरो चेतलाई बिना चेतावनी कलिला मस्तिष्कमा स्वस्फूर्त स्वस्तिक छापा लगाउन प्रयोग गरिएया यी र यस्ता अनेकन ब्यञ्जनाको खुराक हो , जब्बरेको कथा ।


आफ्नी बुढीलाई , आफ्ना बाआमालाई ढाँट्नेले संसारलाई कति ढाँट्ला (पृ. ६) ? अर्थात् , सामाजिक चेतको सकारात्मक चिन्तन बिना मानिसले अरुलाई मात्र होइन आफुले आफैंलाई पनि झुठो सावित गरिरहन्छ । यसबाट खासगरी किशोर मनहरूलाई टाढा राख्नु आजको अपरिहार्यता हो ।


श्रवणकुमारको कथाको लीला लेखनलाई गहिरो जीवन दर्शनको वकालत गराउने जब्बरे डाँफेको वक्तव्यमा रुमलिरहँदा , लाग्छ यो उपन्यास , वर्गमा किशोर उपन्यास भनिएपनि एउटा यस्तो उपन्यास हो जसले हरेक परिपक्व पाठकलाई आफ्नो विगतमा जोडेर वर्तमान वरिपरि भेट्ने र अकाट्य भविष्यको चिन्ताको शिखरमा पनि पुर्‍याउने भर्‍याङको काम गर्दछ ।


जब मनले सोचेजस्तो शरीर चल्दैन नि त्यही रहेछ बुढो हुने भनेको (पृ. २३) । सामाजिक प्राणीको हैसियतले मानिसको जीवन दर्शन र कार्य व्यबहार मेल खान हम्मेहम्मे पर्ने तितो यथार्थका वाक्यांशलाई समेटिएको जब्बरेको चकचके बानीबाट हामी को नै पो अछुतो होलाउँ र ! तर हाम्रो कल्पना र दृस्ठिकोणको सदाबहार खलपात्र , रावणले दिएको ज्ञानको भित्री पाटो उपन्यासको अर्को दर्विलो दर्शन हो ।


मलाई काफल चरी र बेपत्ता नागरिकका परिवार उस्तै लाग्छ । रून्छन , रून्छन , थाक्छन , निदाउँछन … फेरि बिहान हुन्छ (पृ. ४१) । लक्षणा र व्यञ्जनाले तिखारिएको कलम बोक्न खप्पिस डा. लम्साल, खरानी चराको कथा र `काफल पाक्यो´ आवाजलाई वर्तमान राजनीतिको सपाट बर्णन गर्नबाट पछि परेका छैनन् । एउटा एक्लो डाँफेको प्रथम पुरुष व्यक्तित्व मार्फत लाक्षणिकताको उच्चस्तरको प्रयोगमा भनिएको कथाले, वर्तमानमा शासन सत्ताको उत्कर्शमा रहेका सिमित वर्गले समेत प्राप्त उपलब्धिलाई दुरुपयोग गरेमा भविष्यमा `एक्लो डाँफे´ बन्ने निश्चितै छ भनी नम्र स्वरमा कडा चेतावनी समेत तेर्स्याएका छन । त्यसैले, सामान्य नागरिक सत्ताको भर्‍याङका खुड्किला मात्र भैरहेको परिदृश्यको चोटिलो कोसेली पनि पो हो त डाँफेको रङ ।


िशोरावस्थामा हुने बिपरित लिङ्गप्रतिको तिब्राकर्षण , पारिवारिक हठ र आत्मसमर्पणको संगालोलाई थाहै नपाई बुनेको कथा त क्या बा त , जब्बरे ! क्या बात ! मन पुलकीत गर्ने कयौं उपकथाहरुको मालामा चरा र मानिस बिचको पौराणिक कालदेखि रहिआएको अन्तरसम्बन्ध , पर्यावरणीय सहअस्तित्व र सांसारिक प्रेमको दर्पण पनि हो जब्बरेको आत्माकथा । त्यसैगरी कुनै अप्रत्याशित परिघटनाले कसरी संबन्धहरू टुङ्गिन्छन र त्यस्ता बिछोडले कसरी मानवीय जीवन भोगाइमा दुरगामी अमेट्य छाप छोड्छन भन्ने गहिरो दार्शनिक चेतको सरलीकृत कृति बनेर पाठकको हातमा परेको छ , यो आख्यान । सही मानिस सही ठाउँमा पुर्‍याउनुपर्छ भन्ने मान्यतालाई चराले समेत बुझ्नु मानिसको लागि कुरीकुरी नै त होईन ? परिवार भनेको प्रेम रहेछ । जीवन भनेको बिश्वास रहेछ । (पृ. ११४) भन्दै कथान्तमा आइपुग्दा दार्शनिक चेतको उत्कृष्ट उदाहरण प्रस्तुतिमा कुनै खोट भेटिन्न ।


गहकिला शब्द-सागरमा डुबुल्किँदै काब्य चेतमा लहलाउने लेखक बाट यती सरल र मिठो आख्यान एउटा पाठकले पढ्न पाउनु आफैंमा अनौठो होइन नभनी रहन सकिन्न । खासगरी १० देखि १६ बर्ष उमेर समुहलाई लक्षित भनिए पनि डाँफेको रङ एउटा यस्तो उपन्यास हो , जसलाई उल्लेखित उमेर समुह माथिका हरेक पाठकले आ-आफ्नै सुर , ताल र लयमा गाउन सक्ने गीतको रुपमा स्वीकार्छन् । किशोरहरूमा हराउँदै गएको पठन संकृतिलाई स्थापित गराउन हरेक विद्यालयका पुस्तकालयमा केहि थान मात्र भएपनि संग्रह गर्न सके किशोरावस्थाबाट नै नैतिकताका पाटामा विद्यार्थीहरूलाई साक्षात्कार गराउन र उनीहरुमा सामाजिक चेत तथा सकारात्मक जीवन दर्शनको बोध गराउन सकिन्छ । जीवन परिवर्तन संभावनाको खानी हो जसमा `स्व´को भुमिका गहन हुन्छ भन्ने यथार्थमा परिधिस्त यो उपन्यास, लोककथाहरूको लीला लेखनले समयानुकूल बनाएकोछ, पठनीय बनाएकोछ र सबैभन्दा महत्त्वपूर्ण कुरा त पौराणिक कथाहरुलाई नवीकरण गरेर किशोर केन्द्रित बनाइएकोछ । साथै सन्तति प्रतिको त्याग र मरणोप्रान्त समेतको निस्वार्थ स्नेहको प्रतीक हो पनि हो डाँफेको रङ । किशोरकिशोरीको कथा पनि यति सरल, सरस , सौम्य र शालीनक भाषामा उजागर गर्न सकिन्छ भन्ने कुरालाई चरितार्थ गर्नु लम्सालको अर्को परिचय बनेकोछ, डाँफेको रङ । आख्यानको अन्त्यमा सोधिएका १० वटा प्रासंगिक प्रश्नको उत्तर खोज्नु पाठकीय धर्म हुनेछ भने खाली ठाउँमा स्वउत्तरित प्रश्नावली बनाउनु जीवन दर्शनको शुरुआत हुनेछ । जदौ 🙏

No comments:

Post a Comment

(१) मानिस उखान-टुक्के: संवाद बकम्फुसे

(आज विद्यालयको कक्षा १०, ´´कोशी´´ सेक्सनकी एक छात्राले एउटा कथा सुनाउन अनुरोध गरिन । कहिलेकाहीँ कुनैकुनै बिषय/प्रसंग अनुरुपमा कथा सुनाउने कट...