Saturday, August 12, 2023

(९) ऊ

ऊ ओछ्यानबाट कहिल्यै लड्दैन ,
किनकि ऊ पलङ नामधारी छ-सात फुटे काठको बाकसको सट्टा ,
सृष्टिद्वारा सृजित ,
मट्टीको तन्ना ओछ्याएर,
पाषाणको सिरानी लगाइएको,
धर्ती पदार्पण देखि चिर निन्द्रासम्म,
चाहिने ओछ्यानमा सुत्छ ।

उसलाई खानेकुराको कहिल्यै कमी हुन्न ,
किनकि उसको जिब्रोलाई ,
चौरासी व्यञ्जनको ,
स्वादिष्टतामा पौडिदा पनि पकाउने हातहरुलाई,
दोष दिनुको सट्टा ,
प्रकृतिले दिएको जल र वायु ग्रहण गरेर,
जलवायु संगसंगै खाद्यान्नभाव,
हटाउने बानी परेको छ ।

उसको घर कहिल्यै भत्किदैन ,
किनकि ऊ रड, सिमेन्ट,
इंटा मिसाएर बनाएका गगनचुम्बी, सिमेन्ट-जंगलको सट्टा ,
बर्षातका बाताले ,
बादलको खरलाई ,
उनेर छाएको छानो ,
भएको घरमा बस्छ ।

ऊ विद्यालयमा कहिल्यै अनुत्तीर्ण हुदैन ,
किनकि उसको विद्यालयमा ,
अर्काले लेखेको ,
अर्कोले अर्कै तरीकाले घोकाएको ,
र अर्कैले सेतो कागजमा ,
काला बुट्टाले कुदिएका ,
अक्षरहरुको तोकिएको ,
घण्टे परिक्षाको सट्टा ,
ठुला-ठुला घरमा बस्ने ,
साना-साना मन हुनेहरूका,
भान्साबाट निस्कने ,
बोतल र खाली बट्टा ,
आफैंले खोजेको ,
आफ्नै तरिकाले हिसाब गरेको ,
र दिनभरमा,
आफुले पाउने अंकगणित मात्र ,
परिक्षा हुन्छ ।

उसलाई भाडा तिर्ने समस्यै हुन्न ,
किनकि ऊ कालो बाटोमा कालै चक्काले ,
कालो सीसा लगाएर,
ज्यानमारा शैलीमा हुइंकिने ,
सेतो रंगका कालहृयी गाडीमा ,
यात्रा गर्नुको सट्टा ,
जन्मसिद्ध पाएका ,
मातृ-वातसल्यले सुमसुम्याइएका ,
प्राकृतिक तादम्यताले पिसोल्टिएर,
काला भएका आफ्नै पाउने ,
सयौं किलोमीटरको यात्रा ,
हिम्मतीलो शैलीमा गर्छ ।

- २०८० भदौ ०४, धरान ।

बिशेष धन्यवाद: Tr Mukesh Yadav Status: 2080/04/19

No comments:

Post a Comment

(१) मानिस उखान-टुक्के: संवाद बकम्फुसे

(आज विद्यालयको कक्षा १०, ´´कोशी´´ सेक्सनकी एक छात्राले एउटा कथा सुनाउन अनुरोध गरिन । कहिलेकाहीँ कुनैकुनै बिषय/प्रसंग अनुरुपमा कथा सुनाउने कट...