मेरो पहिलो गल्ती तिमीलाई चिन्नु रहेछ ,
तिमी मानिस भनेर जान्दाजान्दै ,
अन्जानमै नजिकिने कुचेष्टा हुन पुगेछ ।
मेरो दोश्रो गल्ती तिम्रो संगत हुनपुगेछ ,
हरियो रंग पोतेको जान्दाजान्दै ,
सुख्खा रुखको जरामा पानी हाल्नपुगिएछ ।
मेरो तेस्रो गल्ती तिम्रो कुरा पत्याइएछ ,
भ्रष्टाचारको पहाड चडेको जान्दाजान्दै ,
मेरो रगतले चल्ने पजेरो पुज्नपुगिएछ ।
मेरो चौथो गल्ती भोजमा बोलाउनु भएछ ,
चणक र सेतो-सालिग्राम समेत नरुच्ने जान्दाजान्दै ,
ढिंडो-सिस्नु र मोहीको भाग लगाइएछ ।
पाँचौं गल्ती, गल्ती ढाकछोप गर्नुभएछ ,
सबै गल्ती भनेर जान्दाजान्दै ,
केहि दिन भरिएर रित्तो बनाइएछ ।
अर्को गल्तीको कोरा कल्पनाले ग्रसित बनिएछ ,
गलत सूचना भन्ने जान्दाजान्दै ,
सिद्धिविनायकको सिङ्गो फल अर्पिएछ ।
गल्ती मनलाई मिलाएर यहाँका घरहरू जोडिन्छ्न ,
मन जोडिएको राम्रो जान्दाजान्दै ,
घरै जोड्ने मुटु फलक्कै फुटाइन्छ्न ।
गल्ती नै गल्तीको महासागरमा शुन्य खोजिरहेछु,
नभेटिने खुला नहुने जान्दाजान्दै ,
आकाशको अस्तित्वमा अमुर्त प्रश्न तेर्स्याइरहेछु ।
- २०८० कार्तिक ११, दमक ।
No comments:
Post a Comment