(आज विद्यालयको कक्षा १०, ´´कोशी´´ सेक्सनकी एक छात्राले एउटा कथा सुनाउन अनुरोध गरिन । कहिलेकाहीँ कुनै-कुनै बिषय प्रसंग अनुरुपमा कथा सुनाउने कट्टेलसरलाई खासै कथा सुनाउने त इच्छा थिएन , तर आजकाल विद्यार्थीको जिद्दी अघि के नै गर्न सकिन्छ र ! अनि अल्छि-पाराले केहि न केहि त भन्नै पर्यो, त्यसपछि शुरु गरे , छेउ न टुप्पोको कथा ।)
ऊ कार्यलयबाट भर्खर घर आइपुगेको छ ।
के ट्वाल्ल परेर हेरेको ? उसले सोध्यो । हैन किन च्यांठिनु ? उनले थपक्कै फर्काइन । खायो ढिडो , हल्लियो हिड्यो , कति मजा है तिम्लाइ ! उनले वचन लगाइन । हो नि ! म त काम न काज , खाने बेलामा लाज भएको मान्छे ! उसले व्यंग्य कस्यो ! अल्छी तिघ्रो , स्वादे जिब्रोले बोल्ने यस्तै त हो , उनी झन चर्किइन । हो त नि ! अल्छीले जति कसैले जान्दैनन् भन्ने थाह छैन र ! ऊ अझै रौसिन थाल्यो । ईख बिनाको मान्छे र बिष बिनाको सर्प के काम , अब इलम गर , उनले आखा तरिन । भो भो , अजिङ्गरको आहरा दैवले पुर्याउछन , ऊ ठट्यौलीमा लाग्यो । घर चलाउन कस्तो हुन्छ , अचानोको पीर खुकुरीलाई के थाहा उनले रिस पोखिन ।त्यही त , तिमी नै हनुमान , तिम्रै पुच्छरमा घिउ दलेको टालो बांधेको, तिमीले नै लङ्का जलाको , उसले मौकामा चौका हान्यो । हो हो , तिम्रो त जिब्रो चिप्लो , मन भने कालो क्या, उनले आँखा कर्काइन । तिमी त बत्तीस लक्षण कि खोज्दा नि नपाइने , कसैलाई नि नचाहिने ऊ अझै जोसियो । आज तलब आउने दिन, मिठो-मसिनो केही ल्याए होला भन्यो , हात्ती आयो हात्ती आयो फुस्स, उनले दुखेसो पोखिन । एटीएम कार्ड तिमीलाई नै देको छु त , बादरको हातमा नरिबल बनाको छ, अहिले जिब्रो फट्कार्नु पर्ने ! उसले शब्द वाण तेर्स्यायो । तिमीसंग बोलेर के सक्नु , आलु खाइ पेडाको धाक लाउने बानी परेकै छ, उनको कन्पारो तातो । हो हो , अरुले घोडा चढेको देखेर आफू धुरी नचढ्नु , है भन्दा एक कानले सुनेर अर्कोले उढाउने को हो , उसले पनि दियो दनक !
ए साच्चि ! बा-आमा भेट्न गाउँ जाउं न, डाडामाथिको जुन भैसक्नु भो , उनले कुरा कोट्याइन । कसैलाई के धन्दा , घरज्वाइंलाइ खानकै धन्दा , ऊ झर्कियो । यही त होला नि आमाबाबुको मन छोराछोरी माथि , छोराछोरीको मन ढुङ्गा-मुडा माथी उनले ओठे जवाफ लाइन । पोहोर साल बाले बिना सित्ती धान खाने मुसो, चोट पाउने भ्यागुतो बनाएपछि मेरो मन भाच्चिएको छ, उसले वेदना पोख्यो । होइन नि ! बा ले छोरी कुटी बुहारी तर्साको पनि हुन सक्दैन र ? उनले कुरा मिलाउन खोजिन । खुबै ! आफ्नो दिउँ त मरिजाउं , अर्काको पाउं त चारमाना खाउं खालका आफन्त छन गाउँमा, तिमी धेरै पुराण नलगाई बस , ऊ त झनै तात्तियो । अर्ती र ओखती तितो हुन्छ क्या , उनले संम्हाल्न खोजिन । जो होचो , उसको मुखमा घोचो , किन गरे त बा ले ! ऊ त बर्बराउन पो थाल्यो । यसरी तिललाई पहाड नबनाउ, बा ले पनि मुखमा राम-राम , बगलीमा छुरा गर्या होइन होला त, उनले सुझबुझ देखाउंदै कुरा मोडिन , बिनाकारण लहरो तान्दा , पहरो गर्ज्यो ।
खाजा के छ ? उसले चर्को स्वरमा सोध्यो । पहिला लुगाफाटो धोऔं न , उनले काम तेर्स्याइन । अघाएको भन्छ डाडापारी खांउ , भोकाएको भन्छ डाडावारी खांउ , उसले आँखा राता पार्दै लुगा धुन सघाउन थाल्यो । एकैछिनमा ऊ च्यापुमा हात लाएर बस्यो । किन नुन खाको कुखुरा जस्तो झोक्राको, उनले सोधिन । जागीर पनि नखाउं भने दिनभरको शिकार , खाउं भने कान्छा बाउको अनुहार भा´छ , उसले वेदना पोख्यो । त्यसो भन्नू हुन्न, न मामा भन्दा , ... मामा बेस, उनले ढाडस दिन खोजिन । होइन हौ , यस्तै ताल हो भने त धोबिको कुकुर , घरको न घाटको भइने भो नि , ऊ अझै निरासिन थाल्यो । ह्या !! छोडिदेउ यी सब कुरा , उसैले कुरा मोड्यो ।
संगत गुनाको बुद्धि , बिउ गुनाको फल , भन्छन् , नानी खोइ त ? छोरीको बारेमा चासो राख्यो । त्यसलाई नि तातो पिँडालु , निल्नु न ओकल्नु भा छ , नयाँ स्कुल , होमवर्कको राश ! उनले नाक खुम्च्याइन । तरबार भन्दा कलम बलियो भन्छन् , पढोस न त , अलिकति सकारात्मक सास फेर्यो उसले ।
केहि क्षणमा सिङ्गार-पटार गरेर सानी नानी बाहिर निस्की, हे कली ! धपक्कै बली , बाउको नली छोराको मुरली ! उसले दाह्रा किट्यो । होमवर्क गर्न बसेकी छोरी यसरी बाहिर आउँदा कस्को पो टाउको तात्दैन र !आकाशमा थुकी, मुखमा छिटा, होला नि फेरि! झिल्के भएर हिडेनेकी छोरी न परी , खेल्न जाने रे क्या ! उनले व्यंग्यात्मक ठट्यौली पारामा चोसो फिजाइन । भो भो , धेर छोरीलाई टाउकोमा नटेकाउ, अनिकालमा बीउ र हुलमुलमा जीउ जोगाउनुपर्छ , उसले थप्यो । आफ्नो थैलीको मुख बलियो बाध्नु , साथीलाई चोर भन्नै पर्दैन भन्ने त कानमा पर्या होला नि ! उसले शंकाको घेरा लगायो । ह्या ! शंकाले लङ्का जलाको राम्रो होइन क्या , जंगली काडालाई तिखार्नु पर्दैन , हाम्री नानी हुने बिरुवाको चिल्लो पात हुन् , उनले आफ्नो छोरीमा भरोसा जताइन । कहिलेकाही नपत्याउने खोलाले बगाउँछ भन्ने मात्रै मेरो कुरो , ऊ सम्हालियो । बाह्रवर्ष ढुङ्ग्रामा हाल्यो , कुकुरको पुच्छर बाङ्गै , हाम्रो बाबा कहिल्यै चेन्ज नहुने , सानीले पनि एक दनक दिएर खेल्न हिडी । हाहाहाहा ! देख्नुभो , खुकुरी भन्दा कर्द लाग्ने , उनको हासोको फोहोरा छुट्यो । जस्तालाई तस्तै , ढिडालाई निस्तै पो दिएर गै त ! उसले पनि टाउको हल्लाउनै पर्यो ।
गफैगफमा लुगा नि धोइयो , उनले भित्रबाट अलिकति दहि-चिउरा ल्याइन, खाजको रुपमा । यो के ल्याएको , हात्तीको मुखमा जीरा , उसलाई खाजामा आँखा लागेन । पैसा न कौडी , बजार बजार दौडी , मनग्गे खान त हुनुपर्यो नि पोल्टामा , उनले भुइँमा वचन खस्न दिइनन । भोलि खेती तिर जाउं न , सागसब्वी नि ल्याउं , बा-आमालाई नि भेटौं , एक पन्थ , दुई काज उनले फेरि अघिको कुरा कोट्याइन । म गर्छु आग्राको कुरा, तिमी गर्छौ गाग्राको कुरा , ऊ झनक्क झन्कियो । यो पशुपतिको यात्रा , सिद्राको ब्यापार गर्न त तिमीलाई कस्ले पो सक्छ र ! भाइ फुटे , गंवार लुटे त थाहा होला नि ! यसरी अगुल्टोले हानेको कुकुर बिजुली चम्कदा तर्सिनु हुँदैन । अघिको तितो , पछिको मिठो बिर्सनु हुन्न, उनले कुरा सपार्न थालिन । आफन्त जति सबै उल्फाको धन , फुपूको श्राद्द गरेर बस्या छन , यो कामकुरो एकातिर , कुम्लो बोकी ठिमीतिर , मलाई चाहिँ चित्त बुझेन , उसले अझै आफ्नो जिद्दी छोड्ने छाट देखिन्न । कहिलेकाही दिसा पुछेर फालेको काठ पनि काम लाग्छ , यसरी हामीले लत्तो छोड्यो भने त उनीहरूलाई कुचोले बढार्नुपर्ने कसिङ्गर हावाले उडाइदिनु झै भैहाल्छ नि ! केहि पाउन , केहि गुमाउनु नि पर्छ ! अब ढिलो नगरौं , काम सांची आफुलाई , खान सांची अरुलाई भन्छन् । अब कानमा तेल हालेर नबसौं ,यसरी भदौमा आँखा फुटेको गोरुले सधैं हरियो देखेर बस्नु त भएन नि । अहिले गाउँमा चुनावमा गएको बहाना पनि हुन्छ , नत्र पोहोर मरिन सासू , अहिले आए आशु हुन के बेर ! उनको हतारमा आशंका देखिन्थ्यो !
सजीव देवता भेट्न जाने कुरामा के को आलटाल , यो त अल्प ज्ञान भयंकर सरह भै गो नि । धेरैबेरको मौनतापछि उसले मन बदल्यो । सुन त, अकबरी सुनलाई कसी लाउनु पर्दैन क्या , अघि त मैले तिम्रो मन पो चोर्या त , अब बेर नगरौं , जाउँ गाउँ । उसका कुराले उनको मन फुरुङ्ग भयो , हतार-हतार पोको पन्तुरो बाध्न थालीन । हतपतको काम लतपत होला है , उसले सम्झाउने प्रयास गर्यो । भो भो, नमच्चिने पिङको सय झट्का, कत्ति न आफु चाहिँ सधैं दुधले नुहाउने जस्तो । ठट्यौली पारामा उनले कामलाई निरन्तरता दिइन । गाउँ पुगेर फेरि बस्न पाँए भन्दैमा थ्याच्च नबस्नु, बोल्न पाँए भन्दैमा प्याच्च नबोल्नु , खान पाँए भन्दैमा क्वाप्प नखानु नि ! उनले सावधानी अपनाउने बाटो देखाइन । इन्द्रको अगाडि स्वर्गको बखान नगर न हौ , जन्मेर हुर्केको गाउँ हो त्यो मेरो , अतिको नतिजा खति हुन्छ भन्ने मलाई राम्रोसँग ज्ञान छ क्या ! उसले आफ्नै खुट्टामा बन्चरो नहान्ने बाचा गर्यो । कहिलेकाहीँ त तिमी आफ्नो आङको भैंसी नदेखी अरुको आङको जुम्रो देख्छौ , र पो सम्झाको त ! मलाई अर्काको घरको खीर भन्दा आफ्नै घरको ढिंडो मीठो लाग्छ । अब म गाउँमा कुनै उपद्रव मच्चाउने छैन , उसले आस्वस्त पार्यो । के थाहा , आँखा लोभी मन पापी भन्छन् , लागेको पुरानो आदत बल्झिने पो हो कि भन्ने पिर नि , उनको शंका कायमै थियो । छोड्देउ यी सब कुरा, अब मलाई आफुले खनेको खाल्डोमा आफैं पर्नु छैन , ऊ अझै आफुलाई साधु सावित गर्नमै ब्यस्त थियो ।
अधि खेल्न निस्किएकी छोरी हातमा बढेमानको बलुन, चिजबल , कुरकुरे ... लिएर फर्कि । हेर त, आम्दानी आठानी खर्छ रुपियाँ, खेल्न गको मान्छे पसलै उठाएर आउछन् त , उसले छोरीलाई अलि चर्को स्वरमा सम्झाउने प्रयत्न गर्यो । पसलको आन्टी मोबाईलमा बिजी हुनुहुन्थ्यो , जे जे चाहिन्छ लैजाउ भन्नुभो , आफ्नो हात जगन्नाथ , मैले पनि मनपर्ने सबै उठाएँ , उखानेकी छोरीले उखानमै जवाफ फर्काई ।
छोरी ! भित्र गएर अर्को कपडा लगाउ, आज हामी गाउँ जाने बुबा-आमा भेट्न । आमाको कुराले खुशी भएकी छोरीका भुइँमा खुट्टा थिएनन् । उमेरमा त्यति ठुली नभए नि छोरी नयाँ लुगा , यात्रा , श्रृङ्गार-पटार भनेपछि अलि बढी नै उत्ताउली बन्छे । एकैछिनमा सानी चिरिच्याट्ट परेर बाहिर निस्की , म कत्तिको राम्री भएँ ? , कसैले तपाईं भनोस नभनोस , आफैं मपाईं शैलीमा आमालाई प्रश्न गरी । कस्तुरीलाई सुंघिरहनु पर्दैन छोरी, उनले ट्वाक्कै उत्तर दिइन् । कच्चा वैद्यको मात्रा , यमपुरीको यात्रा होला है नानी ! उमृदैको तीनपाते बनेर आमाको मेकअपका सामान धेर नघस है , उसले सम्झाउने शैलीमा कुरा लग्यो । मामु पनि , बाबा पनि , खाली गाली मात्रै गर्ने ? ओरालो लागेको बाछालाई मृगले पनि लखेट्छ है , सानीले पनि लगाई ओठे जवाफ । आखिर छोरी कस्की ? उखानेकी ! हाहाहा !
कुरैकुरामा उनीहरूका पोकापन्तुरा तयार भए । अघिपछि स्याहार , चोर आउने दिन बिस्याहार होला है , उसले झ्याल-ढोका राम्रोसँग लागे नलागेको एकिन गर्न खोज्यो । भान्साकोठाको झ्यालको छिड्किनी बिग्रेको रैछ , मैले त डोरीले बाँधे , अडको पड्को तेलको धुप, उनले कुरा नलुकाइ बताइन् ।
हतार-हतारमा निस्कने सुरसारमा बस बिसौनी पुगे । परबाट एउटा चिटिक्क परेको गाडी आयो , हर्न बजाउँदै । यसो चढन खोजेको त पुरै भरिभराउ , आसलाग्दो केटो जेठाजु पर्यो , अब कसरी जाने होला , उसले कन्पारोमा हात राख्यो । एकछिन पर्खैं न , काठमाडौबाट आउने नाइट कहिलेकाहीँ त खाली नै आउँछ हौ गाउँतिरको , उनले आशा राखिन । मनको लड्डु घिउसँह खाउ , पर्खिंदा पर्खिंदा घामले टाउको फुटाउने भैसक्यो , कतिबेला आउँछ तिम्रो नाइट , लगन पछिको पोते । यत्तिकैमा एउटा माइक्रोबस आयो, दुइटा सीट खाली लिएर , मौका आउँछ पर्खदैन, बग्या खोला फर्कदैन , हत्तपत्त चढे , गाउँको यात्राको लागि ।
गाउँको घच्याकघुच्चुक बाटो , हुइँकियो माइक्रो । अलिबेरमा एउटा ब्यारियल तेर्सियो , पालिका कर रे , कहिँ नभएको जात्रा हाँडीगाउँमा , कति ठाउँमा , के-के कर हो , के-के कर । यातायात कार्यलयमा वार्षिक कर तिरेपछि त हुनुपर्ने होईन र ?! एउटाको जरा नउखेली अर्काको पात सपृन्न भन्थे हो रैछ , हामीले पाइलैपिच्छे कर नतिरे त नेताको मुखमा माड लाग्दैन क्यारे । उसले उनीसँग गरेको कुरा सुनिरहेको स्टकोट धारी नेता जस्तै देखिने अर्को सिटमा बसिरहेको मानिसलाई चित्त बुझेनछ , फ्याट्टै बोलिहाल्यो , ए भाइ ! यसरी सबैलाई एउटै टोकरीमा नहाल्नु है कान छाम्नु छैन कागको पछि दगुरेर केही हुन्न । हरे शिव ! एउटा कुहिएको आलुले सारा बोरा कुहाउछ भनेको यही होला , कसले कति गल्ती गर्यो दोसजति सबै नेता कार्यकर्तालाई ! नेताको कुराले उसलाई झन चुर्मुर्यायो , एक पटकको चोर सदा दिनको चोर , देश बनाउने कसम खाएकाले एक थुकी सुकी , सय थुकी नदी शैलीमा काम गर्नको साटो औंला दिंदा डुडुँलो निले झैं बजेट झ्वाम पार्नुपर्छ त ? नत्र यो बाटो यस्तै हुन्थ्यो , कुरा गर्यो कुरैको दु:ख । जनताको कुरा कसैले सुने पो । अरु देशका नेता आँखामा हाल्दा नबिझाउने हुन्छन् , हाम्रो देशका त हेर न , काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ , उसले भएभरको आक्रोश ओकल्न थाल्यो । पर अर्को सिटमा बसीरहेको अधबैंसेले पनि हो मा हो मिलाउँदै काटेको घाउमा नुन-चुक छर्कियो ।
लोग्नेको पारो अनायासै तातेको थाहा पाएपछि उनले कुरा मोढ्ने प्रयास गरिन , तीललाई पहाड नबनाउनु न । टाढाको देउता भन्दा नजिकैको भुत काम लाग्छ , उहाँ हाम्रै गाउँको समाजसेवी जस्तो देखिनुहुन्छ । उनको सान्त्वनायुक्त कुराले नेताजीको अलि सास आए जस्तो देखिन्थ्यो । हेर्नुस् सर , खाएको विष पो लाग्छ , तपाई त्यसै त्यसै पड्केको देख्दा लाग्छ , नबर्सिने मेघ गर्झिन्छ धेर । नेता जीको व्यंग्यले उसलाई झन जोस्यायो , जो चोर , उसकै ठुलो स्वर! हेर्नुस् , टल्किदैमा सबै चिज सुन हुँदैनन , राम्रो काम गर्ने नेता पाउनु भनेको स्यालको सिङ्ग समात्नु जस्तै हो , ऊ रोकिने छाँटकाँटमा थिएन । गाडीभित्रको माहोल बिग्रदै गएपछि भने उनले हस्तक्षेप गर्ने बिचार गरिन । लोग्नेको कान सुटुक्क फुकिन , दशा बाजा बजाएर आउँदैन, अब भो , धेर बहस नगरीकन बस्नुस, यी नेताले के-के गर्या छ्न / छैनन् त गाउँ पुगेर हेरेपछि दुधको दूध, पानीको पानी भैहाल्छ नि । तपाईंलाई यहाँ कसैले पाती लाइदिंदैन , चुप लाग्नुस, नबोल्नेले सधैं जित्छ । थाहा छ त तपाईंलाई , सबैजना धमिलो पानीमा माछा मार्न खप्पिस हुन्छन् । अहिले माहोल बिगारेर हात हालाहाल भयो भने ... रिसमा कसैले पनि वेद पडदैन ।
श्रीमतीका कुराले ऊ केही शान्त बन्यो , नेता जीले अर्कोतिर मुन्टो बटारे , तर गाडीको पछाडिको सिटमा बसेर कानमा तारको ठेडी कोचिरहेको नवयुवालाई यो सब बहस कानो गोरुलाई औंसी न पुर्णे जस्तो भैरहेको थियो । हुन त कुखुरा नबास्ने गाउँमा पनि उज्यालो त हुन्छ नै , त्यसैले कागलाई बेल पाक्यो , हर्ष न बिष्मात शैलीमा बसेको होला ऊ ।
(ट्यार्ररररर घण्टी बज्यो, कक्षा सकिएको जानकारीका लागि । कट्टेल सर कथानक, पात्र , समय सन्दर्भ , समस्या कथन , समाधान आदि इत्यादी केहि नभएको ‘भनाउँदो कथा’ सकिएको जानकारी दिएर कक्षाबाट निस्कन लागेका थिए, फेरि उनै छात्राले प्रश्न गरिन ``सर! यति धेरै उखान कहाँ सिक्नुभयो ?´´ नानी ! मैले यी सबै उखानहरु `हजुरआमा विश्वविद्यालय´मा सिकेको हुँ , हजुरआमा विश्वविद्यालयमा सिकेको शिक्षाको प्रमाणपत्र त हुन्न , तर जीवनोपयोगी दर्शन , ब्यबहारिक सीप , सामाजिक चेत , पारिवारिक संस्कार , मानवीय संबेदनशीलता र भावनात्मक एकताको सुत्र भने भेटिन्छ ।´´ कट्टेल सरका कुरा कति बुझिन कुन्नी , अर्को पिरियड शुरु हुँदा समेत उनी अघिल्लो पिरियडकै धङधङीमा रुमल्लिरहेकी देखिन्थिन । सायद कट्टेलसरले कथाका तत्वहरु समेटिएको मिठो कथाको सट्टा उखान टुक्कालाई वाक्यमा प्रयोग गर्ने प्रयास गरेको उनले बुझिन कि?!?!)
- २०८२ मंसिर ०३, धरान ।
No comments:
Post a Comment