पानामा कोर्दा कोर्दै कोर्स नै परिवर्तन हुनेगर्छ ,
बहानामा लेख्दा लेख्दै स्रोत नै परिवर्तन हुनेगर्छ ,
कसैले कसैको किन्चित चासो नलिएपछी ,
जिन्दगी एक जिस्ता फुलिस्केप बन्दोरहेछ ।
जिस्तौंजिस्ता पानाको संख्याको भोटा फटाउंदा ,
घर-घरानाकैले घरायसी काममा खटाउंदा ,
उमेर बाहेक अरुले आफ्नो चासो नलिएपछी ,
जिन्दगी एक जिस्ता फुलिस्केप बन्दोरहेछ ।
रू ५/- को पानामा ,
रू १०/- को हुलाक टिकट टासी ,
रू ५००/- परिक्षा शुल्क तिरेर ,
रू ५००/- कै झोलामा बोकेर ,
रू ५,०००/- जागिर खोजीमा ,
रू ५०,०००/- सो-सरहको सपना ,
रू ५,००,०००/- बैंक बचत गरेर ,
रू ५०,००,०००/- को घर बनाउने दिवा सपना ,
र उक्त घरलाई ,
रू ५०,००,००,०००/- का सामानले सजाउने ,
काल्पनिक कागज किनेपछी ,
जिन्दगी एक जिस्ता फुलिस्केप बन्दोरहेछ ।
सन्ततिका सपनामा आफ्ना चाहनाको तिलाञ्जली,
बेलाबखत (कु)सन्तानको पीडाले अश्रुअञ्जलि ,
इमान्दारीताको बहानामा हरबखत पुष्पाञ्जली ,
एक-एक थपिइरहने दैनिकका श्रद्धाञ्जलि ,
अदृश्यत-सादृश्य लेख्न तर्कनाले बेसाएपछी ,
जिन्दगी एक जिस्ता फुलिस्केप बन्दोरहेछ ।
-२०८० भदौ २९, धरान ।
No comments:
Post a Comment