Wednesday, September 6, 2023

(१२) ऐना

सानीलाई सानैदेखि सार्है मनपर्छ ऐना ,
दिनभर दैलोछेउको दराजको दर्पणमा ,
आमाको आगोको अगुल्टो अर्घेल्याई गर्दै ,
गजक्क परेर ,
चिटिक्क परेर ,
टपक्क बनेर ,
हेरिरहन्छे ऐना ,
बर्गाकार ऐना ।

सानी सोच्छे ,
हाम्री आमाले किन नहेर्या होला ऐना ,
यति राम्रो देखाउंछ ,
ठ्याक्कै आफु जस्तै ,
रिसाएकी आमालाई जिस्क्याउदै सोध्छे ,
हाम्रो घरको ऐना किन सानो ?
पुरै जीउ नै नदेखिने !
आमा रिसले चुर भएपनी ,
सानी हेरिरहन्छे ऐना ,
गजक्क परेर ,
चिटिक्क परेर ,
टपक्क बनेर ,
हेरिरहन्छे ऐना ,
बाटुलो ऐना ।

सानी साच्चै सानै छे ,
समयले शोषण गरेकै छैन ,
आफन्तले अफ्ट्यारो बनाएकै छैनन् ,
जीवनले जगत देखेकै छैन ,
त्यसैले , सानी ,
चिटिक्क परेर ,
टपक्क बनेर ,
हेरिरहन्छे ऐना ,
चारकुने ऐना ।

सानी अलि ठुली भैसकिछे ,
बिहान स्कुल जाने बेला ,
बेलुका घर फर्केपछि ,
मात्र हेर्छे ऐना ,
समयको सिर्कनाले सानीको ,
शरीरभरि सिर्जनात्मक र संक्रामक ,
कलात्मक र विकलाङ्ग,
कोमल र कठोर ,
छाप छोड्न थाल्यो ,
अनि अलि कम गर्न थाली ,
सानी , हेर्न ऐना ,
गजक्क परेर ,
चिटिक्क परेर ,
टपक्क बनेर ,
हेरिरहन ऐना ,
झुटो बोल्ने ऐना ।

आज सानी साच्चिकै ठुली भैसकिछे ,
उसको थर बदलियो ,
उसको घर बदलियो ,
उसको उपादी बदलियो ,
उसको आबादी बदलियो ,
उसको आजादी बदलियो ,
उसको आशा बदलियो ,
उसको निराशा बदलियो ,
उसको भाव बदलियो ,
उसको अभाव बदलियो ,
उसको प्रभाव बदलियो ,
उसको मनोभाव बदलियो ,

त्यसैले , सानीले
हेर्न छोडी ऐना ,
गजक्क परेर ,
चिटिक्क परेर ,
टपक्क बनेर ,
हेरिरहन ऐना ,
उल्टो बोल्ने ऐना ।

आज उसको घरमा ,
उसैको आमाले दिएको ,
उसको पुरै शरीर देखिने ,
ठुलो , धेरै ठुलो ऐना छ ,
तर ,
उसलाई उषा देखि निशासम्म ,
त्यो ऐना हेरिरहने फुर्सद छैन ,
फुर्सद भए मन छैन ,
अनि सम्झन्छे ,
ती दिन आमाका ,
जतिबेला उहाँ ऐना हेर्नुहुन्न थियो ,
ऐना हेर्दा हपार्नुहुन्थ्यो ।

आज आफैं आमा बनेपछि ,
सानीको मथिङ्गलमा ,
आमाले ऐना ,
नहेर्नुको प्राप्त भयो दिब्य ज्ञान ...
ऐनकानुनले ऐंचाउन नसकेको ,
ऐतिहासिकताको ऐंजेरुले ,
ऐठन गराउने , ऐसेलुका ,
कांडा हुन्छन् , ऐनामा ।

ठुली भएकी सानी ,
रीसको आबेगमा ,
आमाले दिएको ,
आफ्नै कोठाको ,
ऐना फुटाल्छे ,
झर्याम-झुरुम !
अनि पुग्छे अन्तिम निर्णयमा ,
कहिल्यै नहेर्ने ऐना ,
गजक्क परेर ,
चिटिक्क परेर ,
टपक्क बनेर ,
नहेर्न ऐना ,
फगत ऐना ।

-२०८० भदौ २०, धरान ।

No comments:

Post a Comment

(१) मानिस उखान-टुक्के: संवाद बकम्फुसे

(आज विद्यालयको कक्षा १०, ´´कोशी´´ सेक्सनकी एक छात्राले एउटा कथा सुनाउन अनुरोध गरिन । कहिलेकाहीँ कुनैकुनै बिषय/प्रसंग अनुरुपमा कथा सुनाउने कट...