Saturday, December 16, 2023

(१७) ऊ जुलुङ्गो

नतमस्तक स्थिर ,
अमुक तर जस्तै बाचाल ,
बसेको छ ठिङ्ग उभिएर ,
गहुँवारि बिचमा , अबिचलित ,
स्थिर , एक तमासाले हेरेर रमिता ,
ऊ जुलुङ्गो ।

सास नभएपनि सासानुभुति लिएर ,
कथ्थक नृत्याङ्गनाको स्वरुपमा उभिएर ,
आलुबारी बिचमा ,
उभिएको छ अबिच्छिन्न ,
स्थिर , एक तमासाले हेरेर रमिता ,
ऊ जुलुङ्गो ।
अर्कैले पहिर्‍याइ दिएको अर्काको जड्यौरीमा ,
मलमल पहिरानुभुतिमा ,
पिंडालु बारी बिचमा ,
उभिएको छ ,
अनवरत ,
स्थिर , एक तमासाले हेरेर रमिता ,
ऊ जुलुङ्गो ।

बिहानै बाँदरको झुंड पसेर खोज्छ जिस्क्याउन ,
तर सक्दैनन् बिचरा ती छुट्टाउन ,
सास भएको र नभएको ठम्याउन ,
त्यसै त्यसै भाग्छ्न ज्यान जोगाउन ,
उता गजधुम्म ठिङ्गृएर ,
मकैबारी बिचमा ,
मैले भगाए बाँदर भनि ,
आत्मलड्डु चपाउँदै उभिएको छ ,
मुर्ति स्वरुप ,
स्थिर , एक तमासाले हेरेर रमिता ,
ऊ जुलुङ्गो ।

टन्टलापुरमा , सुगा देखि कौवासम्म ,
बस्छन् आएर कुम देखि माथसम्म ,
छैन थाहा दुबैलाई हो ऊ के र किन ,
तर उड्छ्न भुरुरु मान्दै डर ,
उसको नभै आफ्नै ज्यानको ,
छोडेर खाँदा खाँदैको दुधे मकै ,
सोचेर उसलाई ,
सास फेर्ने जुलुङ्गो ,
ऊ भने खम्बा स्वरुपमा ,
मकैबारीमा ठिङ्गृङग ठडिएको छ ,
भन्दै खेदाएँ मालिकका मकै चोर ,
गदगदिंदै खितखित ,
ठडेउरो ,
स्थिर , एक तमासाले हेरेर रमिता ,
ऊ जुलुङ्गो ।

पहिलो प्रहर निशामा ,

बनाई निसानी सखरखण्डलाई ,
पसेका एक हुल दुम्सीले ,
झ्वास्सै देखेपछि निर्जीव बुख्याचा ,
सोचेर हो त्यो सजिव दुइखुट्टे ,
ठोक्छ्न सुइँकुच्चा जोगाउन प्राण ,
अनि सोच्छ जुलुङ्गो भगाएँ मैले ,
चोर दुम्सीलाई ,
म प्यारो मालिकको ,
आत्मरतिमा रम्दै निरन्तर ,
बसेको छ ऊ ओगटेर ठाउँ ,
स्थिर , एक तमासाले हेरेर रमिता ,
ऊ जुलुङ्गो ।

सकियो मौसम खेतीपातीको ,
पूर्ण भयो स्वार्थ एक किसानको ।
सोच्दछ जुलुङ्गो अब पालो मेरो ,
भित्रीने घरमा ठुलो मालिकको ।
तर ...
आयो ठुलो छोरो त्यो ठुलो घरको ,
निकाल्यो खुकुरी दापबाट झ्वाट्टै ,
भन्यो मनमनै ,
``अब के काम यसको ,
बस्या छ, शिरमा बारीको ,
अलच्छिनी मुर्कुटो स्वरुपमा´´
सोचेपछि यति , छप्कायो दुई छ्याम ,
सिरुपाते खुकुरीको भरमा ,
लड्यो जुलुङ्गो डंग्रङ्ग भुइँमा ।
ठुल्छोरोको चित्त बुझेन अझै ,
निकाल्यो चकमक ,
खोजी सेतो ढुङ्गा ,
ठोस्यो दुई-चार बार मिलाइ झुलो ,
सल्कियो झुलो ,
सल्काइदियो जुलुङ्गो ,
लाग्यो बाटो आफ्नो ,
दन्कियो जुलुङ्गो ,
टन्टलापुर घाममा ।
हरे शिव ! बफादारीता जुलुङ्गोको , दुई छप्को छप्काई ,
स्थिर , एक तमासाले हेरिरहने रमिता ,
ऊ जुलुङ्गो ।

- २०८० असोज १८, धरान ।

No comments:

Post a Comment

(१) मानिस उखान-टुक्के: संवाद बकम्फुसे

(आज विद्यालयको कक्षा १०, ´´कोशी´´ सेक्सनकी एक छात्राले एउटा कथा सुनाउन अनुरोध गरिन । कहिलेकाहीँ कुनैकुनै बिषय/प्रसंग अनुरुपमा कथा सुनाउने कट...