नाम: जून
ठेगाना: जून फूलेको फूलको बस्ती
उमेर: पाँच दशक देखिने जस्ती
वर्ण: नेपाले चिल्लो भटमास जस्ती
हुलिया: मध्यम कदकी परिपक्क जस्ती
मिति: लाग्छ भर्खर हिजो अस्ति
स्वभाव: कहिँ कतै नचाहने मस्ती ।
थाहा छैन कहिलेबाट हराएकी ,
सैंतीस बर्षसम्म त थिई देखिएकी ,
गाउँघर मेलापातमा सधैं रमाएकी ,
तर ...
बिगत केही बर्षदेखि
छ जून हराएकी ।
थिएन उसलाई चिन्ता बाहेक परिवारको ,
जन्मिएकी भै जेष्ठ पुत्री मध्यम परिवारको ,
आनन्द साथ रमाउँथी भएपनि छानो खरको ,
तर ...
बिगत केही बर्षदेखि
छ जून हराएकी ।
थिई धनी एक भाइ तीन बहिनीकी ,
लिई जिम्मेवारी सबैलाई शिक्षा दिलाएकी ,
त्यही मेसोमा पढाई समेत आफ्नो बिर्सिएकी ,
तर ...
बिगत केही बर्षदेखि
छ जून हराएकी ।
लिंदालिंदै पारिवारिक जिम्मेवारी ,
बिर्सिइ क्यारे सायद आफ्नै बिहेवारी ,
थिइ बसिरहेकी परिवारकै भरपरी ,
तर ...
बिगत केही बर्षदेखि
छ जून हराएकी ।
नेटो उमेरले काटेपछि ,
आमाबाबु समेतको प्यारो नभएपछि ,
सम्झेकी हो बिर्सनेघरपरिवार धेरै पछि ,
अनि ...
बिगत केही बर्षदेखि
छ जून हराएकी ।
भई वैवाहिक उमेर सैंतीसमा ,
बोकी सपना प्रवेश नयाँ परिवारमा ,
होला थियो राम्रै नव संसारमा ,
तर ...
बिगत केही बर्षदेखि
छ जून हराएकी ।
भएनन् जय जन्म काट्याथ्यो नेटो उमेर ,
मानेनन् कसैले असल, भै अब ऊ धेर ,
चाहन्थी हुने सबको प्यारो पटक हरेक ,
तथापि ...
बिगत केही बर्षदेखि
छ जून हराएकी ।
खोजेनन नव परिवारले, ठाने पन्छियो लुतो ,
खोजेनन भाइ बहिनीले , माने गल्ती दिदीको ,
सम्झेनन बाबुआमाले , सोचे गल्ती छोरीको ।
भुले आफन्तले , भरेको गाग्री उसले ,
भुले गोठगाइले , सोरेको भकारो उसले ,
बिर्सिए सबैले , गरेको संघर्ष उसले ।
त्यसैले ...
बिगत केही बर्षदेखि
छ जून हराएकी ।
फेला पारेमा कसैले ,
बुझाइ दिनुस् तत्कालै ,
जून हराएको फूलको बस्ती ,
मानवता नहराउने कार्यलयमा ,
किनकि ...
बिगत केही बर्षदेखि
छ जून हराएकी ।
-२०८० मंसिर १५, दमक ।
No comments:
Post a Comment